arrow

चलायो कसले यो पशुबलि प्रथा रोक अब ता

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
rango-bali.jpg

काठमाडौँ ।  मानव अधिकार तथा शान्ति समाजद्वारा प्रत्येक महिनाको अन्तिम विहिवार आयोजना गरिने शान्ति काव्य प्रवाह शृङ्खलाको ८० औँ कार्यक्रम २०७६ जेठ ३० गते काठमाडौँमा सम्पन्न भएको छ । समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काव्य प्रवाहको सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गरेका थिए ।

 शान्ति काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, डा. जीवन अधिकारी, मदन कार्की, रत्ननीधि रेग्मी, मेनुका पोखरेल आचार्य, ऋचा, मञ्जुश्री प्रधान, कल्पना काफ्ले, शर्मिला कार्की, शान्ति रिसाल, दुर्गा वनवासी, सुमी लोहनी, कुशुम शर्मा, उर्मिला पन्त पाण्डेय, पुनम घिमिरे, रुद्र अधिकारी, प्रकाशमणी दाहाल, राजेन्द्रप्रसाद ढुंगाना, जसध्वज गुरुङ, जनार्दन अधिकारी, भुवन शिवाकोटी, बाबुराम लामिछाने, अच्युतप्रसाद पौडेल, गगनदीप सर्व, निर्मल पराजुली, रविन्द्र आशिष शैली, टि एन भट्ट, नमराज घिमिरे, मुकुन्द न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन, रविन्द्र ढुङ्गेल, बलराम सापकोटा, ओमप्रसाद कोइराला, कृष्ण पहाडीसहित ३४ जना कविहरुले कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पशुबलि प्रथा अन्त्य गर्न आह्वान गरिएको कवि राजेन्द्र ढुंगानाको कविता -

अहो कस्तो पिडा सहनु कसरी शान्त रहँदै
करायो म्याँ म्याँको करुण स्वरले चोट सहँदै
सुनी चित्कारेको थरथर भए जाउँ म कता
चलायो कसले यो पशुबलि प्रथा रोक अब ता

छ डोरी घाँटीमा नयन छ बगेको जिउभरी
खसाली मान्छेको पछि पछि हिड्यो त्यो भरपरी
दिँदै दाना पानी परपर लग्यो घाँस छ जता
चलायो कसले यो पशुवलि प्रथा रोक अब ता

जहाँ छन देवीका चरण प्रभुका मूर्ति थपना
घिसार्यो घिच्चायो बलिदिन गर्यो ध्यान जपना
दया माँया सेवा वरिपरी कतै देख्दिन म ता
चलायो कसले यो पशुवली प्रथा रोक अब ता

दियो घाँटी रेटी रगत पशुको भाकल गरी
भयो धर्मात्मारे अबुझ शठ भै दानव सरी
लियो ज्यानै खायो पयर मदिराको मदकता
चलायो कस्लो यो पशुवली प्रथा रोक अब ता

न देवीले खाइन लतपत भएको रगतमा
मुछ्यो टीका लायो पशुवलि चढायो फगतमा
अहिंसाले मान्छे प्रिय जन हुनेछन् सरलता
चलायो कसले यो पशुवलि प्रथा रोक अब ता
 
कतै बोका राँगा फुलछ कुखुराका सिउरमा
छिनाल्यो छुटयायो अवयव उनेको छ झिरमा
सबै प्राणी बाँचुन जगत सबको प्रेम समता
चलायो कसले यो पशुवलि प्रथा रोक अब ता

गिर्यो मान्छे आफैँ पशु ह्ृदयले हिंस्रक बनी
गर्यो हत्या हिंसा धरपकडले बर्बर बनी
बनौँ मान्छे मान्छे असल नभए मर्छ क्षमता
चलायो कसले यो पशुवलि प्रथा रोक अब ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ