काठमाडौं । गुल्मी जिल्लाका पूर्व महासमिति सदस्य ७९ वर्षीय खड्गबहादुर खत्रीको काठमाडौँको हात्तिगौडा स्थित छोरीको निवासमा निधन भएको छ । गुल्मीको धुर्कोट किमुखर्कमा १९९७ मा जन्मिएका खत्री २०१७ मा प्रजातन्त्रको बलात् अपहरण भएपश्चात त्यसको विरोधमा संघर्षमा उत्रिएका थिए । सशस्त्र संघर्ष, २०२७ मा नेपाल विद्यार्थी संघको स्थापना तथा तत्पश्चात लोकतान्त्रिक आन्दोलनहरुमा उनि सक्रिय रुपले सहभागी भएका थिए ।
स्वर्गीय खत्रीले बीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरुको नजिकमा रहेर कार्य गरेका थिए । नेपाली कांग्रेसद्वारा संचालित आन्दोलनहरु र लोकतन्त्र स्थापनाका लागि संघर्षरत रहँदा उनले करीब ७ वर्ष जेलजीवन र करीब ७ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए । वि.सं. २०२७ मा गठित नेपाल विद्यार्थी संघको दोस्रो कार्यसमितिमा सदस्य तथा पार्टीको एघारौँ महाधिवेशनमा उनि महासमिति सदस्य थिए ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । देउवाले उनका सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँले पार्टी संगठन र लोकतन्त्रको पक्षमा पुर्याउनु भएको योगदान सदा स्मरणीय रहिरहनेछ । नेपाली कांग्रेस उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, उनको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।'