arrow

बुधबारको बाढी रोक्न प्रधानमन्त्री ओली संसदमा 

विपक्षीलाई यसअघि बोलेजस्तै एक शब्द पनि तुच्छ बोलिए बुधबार आँधीबेहरी आउन सक्छ

logo
प्रकाशित २०७६ असार ३ मंगलबार
oli-samsad1.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली गुठी विधेयकले सडकदेखि सदनसम्म तात्तिएपछि त्यसलाई मत्थर पार्ने प्रयासमा लागेका छन् । 

प्रायः विदेशबाट स्वदेश आउनासाथ ‘म नहुँदा केही न केही त भैहाल्छ’ भन्दै हरेक गम्भीर विषयलाई हल्का पाराले लिने बानी परेका प्रधानमन्त्री ओलीले यसपटकको गुठी विधेयकको विरोधलाई पार पाउन सक्ने अवस्था नदेखेपछि वाध्य भएर संसदमा पुगेर विशेष सम्वोधन गर्न लागेका छन् । 

उनले गत आइतबार युरोप भ्रमणबाट फर्केपछि गुठी विधेयकमा संशोधन गर्न सक्ने जनाएका थिए । 

त्यसैगरी उनले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका काठमाडौं उपत्यकामा सांसद, मेयर, वडाध्यक्ष लगायतसंग प्रधानमन्त्री निवास वालुवाटारमै परामर्श गरेका थिए । 

त्यो परामर्शले गुठी विधेयक फिर्ता लिन जोड गरेपछि वाध्य भएर ओली संसदमै गएर त्यो विधेयकको विरोधलाई मत्थर पार्ने प्रयास गर्नेछन् । 

विशेषगरी उनको योजना बुधबार माइतीघर मण्डलामा नेवार समूदाय नै उर्लेर आउने देखेपछि उनले त्यो दृष्य देखिसाध्य नहुने भन्दै रोक्ने प्रयास स्वरुप संसदमा संवोधन गर्न लागेका हुन् । 

संसद बैठक बिहान ११ बजे बस्दैछ ।

कुरेनन् मन्त्रीपरिषद बैठक
गुठीको गुदी नजानेर हो वा उनलाई सुझाव र सल्लाह दिनेले गलत ब्याख्या गरेर हो प्रधानमन्त्री स्वयंको कुर्सी नै धरापमा पर्ने गरी गुठी विधेयकको विरोध भइरहेको छ । 

उनले होलीवाइन खाएर क्रिष्टियानीको प्रचार गर्ने विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिए पनि नेपाली जनताले ओलीलाई केही भनेनन् । तर जनताको जन्मदेखि मृत्युसंस्कारसम्मको काममा चलेको गुठीलाई ‘मुठी’ मा लिनका लागि गरिएको खेल मान्य हुने कुनै भएन । 

त्यही चर्को विरोधलाई रोक्न उनले मन्त्रिपरिषद बैठकबाट निर्णय गराउने सोमबार बताएका थिए । तर बैठक बसेर निर्णय गर्दासम्म पनि ढिला हुने देखेर उनले सम्वोधन गर्न थालेका हुन् । 

काठमाडौं उपत्यकामा नेवार सडकमा ओर्लिए भने के हुन्छ भन्ने कुराको ज्ञान उनलाई राम्रैसंग हुनुपर्छ । २०६२–६३ को आन्दोलनमा ठेलागाडी चढेर अमेरिका पुगिँदैन भनेर भन्ने ओलीले आज त्यसकै नतिजा स्वरुप दुई पटक प्रधानमन्त्री हुँदासमेत जनताको मतको अवमुल्यन गरिरहे । 

तर गल्ती गरिरहनेलाई माफी हुन सक्दैन । त्यसको जवाफ जनताले दिँदैछन् । त्यो रोक्ने प्रयासमा ओलीले मंगलबार विशेष सम्वोधन गर्नेछन् । 

बुधबारको आँधीबेहरी रोक्नका लागि गरिएको यो प्रयास कत्तिको सफल होला । 

तुच्छ बोले रोकिँदैन आन्दोलन
नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले हाम्राकुरासंगको कुराकानीमा भने, ‘प्रधानमन्त्रीको सम्वोधन आउनु राम्रो हो । जिम्मेवारी लिनु राम्रो हो । तर विपक्षीलाई पेल्ने वा जनतालाई अपमान गर्ने किसिमका कुनै शब्द आए भने त्यो सहनयोग्य हुँदैन ।’

ओलीले प्रायः विपक्षीलाई हेप्ने नीति नै राख्छन् । पार्टी बैठकमा आफ्ना दलका नेता तथा कार्यकर्तालाई हेप्छन् । त्यही गति संसदमा दोहोर्याए भने त्यो उनकै लागि घातक हुनेछ । 

गत आइतबार युरोप भ्रमणबाट फर्के लगत्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भनेका थिए, ‘विधेयक संशोधन गर्न सकिन्छ आन्दोलनकारीलाई आन्दोलन गर्ने अवसर दिइँदैन ।’

उनको त्यो भनाईमा समेत घुमाउरो पाराको आक्रोश थियो । लोकतन्त्रमा विरोध गर्नै पाइँदैन भन्ने रणनीतिमा पुगेका ओलीले संसदमा कुनै पनि किसिमको अपमानयुक्त शब्द बोले भने त्यो बुधबारको आँधीबेहरीलाई थप मलजल हुनेछ । 

यसअघि संसदको कठघरामा उभिएर उनले विपक्षी काँग्रेस सांसदका प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो प्रश्नको जवाफ दिन्न’ भनेका थिए । अनि वाध्य भएर सभामुखले उनको त्यो भनाईलाई संसदको रेकर्डबाट हटाइएको थियो । 

थोरैमात्रै पनि शब्दमा तलमाथि गरे भने त्यसको जवाफ बुधबार देख्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ