बालिका होटलमा बोलाएर करणी गर्ने घिमिरेलाई १० वर्ष कैद
प्रकाशित २०७६ असार १० मंगलबार
281
Shares
भोजपुर । जिल्ला अदालतले जबर्जस्तीकरणीको अभियोगमा एक जनालाई दश वर्ष कैद र क्षतिपूर्तिको फैसला सुनाएको छ । अदालतले भोजपुर नगरपालिका–५ बोखिमका २४ वर्षीय कुमार घिमिरेलाई दश वर्ष कैद र रु ६० हजार पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
घिमिरेलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले कैद र जरिवानाको फैसला गरेको हो । घिमिरेले गत फागुन २६ गते रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी १५ वर्षीय बालिकालाई घरबाट बोलाएर होटलमा जबर्जस्तीकरणी गरेको पीडित बालिकाका परिवारले दिएको उजुरीमा उल्लेख छ । घिमिरेलाई प्रहरीले गत फागुन २८ गते पक्राउ गरेको थियो ।
त्यस्तै प्रहरीले जबर्जस्तीकरणी उद्योगमा रामप्रसाद राई–२ धोद्लेखानीका २२ वर्षीय सुजन राईलाई छ वर्ष कैद र रु ३५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । राईले गत फागुन १० गते साँझ सोही ठाउँको सेमिचुङ मन्दिरमा बत्ती बाल्न गएकी नातामा भतिजी पर्ने युवतीलाई जबर्जस्ती गर्न खोजेको भनी पीडितले दिएको उजुरीका आधारमा फागुन ११ गते पक्राउ गरिएको थियो ।