प्रजिअलाई प्रतिवादी बनाएर अदालतमा रिट दायर गर्ने प्रवृत्ति बढ्दै
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार १० मंगलबार
315
Shares
जनकपुरधाम । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रदीपराज कणेलमाथि २ सय मुद्दा परेको छ ।
प्रमुख जिल्ला अधिकारी कणेलले धनुषामा आएको ८ महिनामा दुई सय बढि मुद्दा खेपिरहेका छन् । अर्ध न्यायिक निकाय रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले राजनीतिक दवाव र सेटिंगमा काम गर्न थालेकाले सर्वसधारण अदालतको शरण लिन बाध्यता भएका बताए ।
यस अघिका प्रमुख जिल्ला अधिकारीहरुमाथि मुद्दाको चांग लाग्ने गरेको थिएन् । उनी राजनीतिक दवाव र सेटिंगको अधारमा हुने कामलाई प्राथमिकता दिएको मुद्दा दर्ता गर्नेहरुले आरोप लगाएका छन् ।
'जिल्लामा शान्तिसुरक्षाको व्यवस्था मिलाउने जिम्मेवारी पाएका सीडीओमाथि नै शान्तिसुरक्षा खल्बलाउने, बलपूर्बक थुनामा राख्ने, लेनदेनको मुद्दामा हस्तक्षेप गर्ने लगायतका आरोपहरु लगाउँदै अदालतमा मुद्दा पर्न थालेका छन । सीडीओको भूमिका असमान्य र गैरकानुनी भएको छ ’ अदालतमा मुद्दा गरेका एकजना वादीले भने, 'अपराध नै नगरेको अभियोगमा थुनामा राख्ने धम्की दिन थालेपछि बाध्य भै मुद्दा गरेको छु ।'
२०७५ कात्तिक १९ गते धनुषामा हाजिर भएका कणेलमाथि परेको मुद्दा हालसम्मकै सर्वाधिक छ । थुप्रै मुद्दा परेको स्वीकारदै प्रमुख जिल्ला अधिकारी कणेलले त्यसबाट कामकाजमा समेत बाधा आएको बताए ।
‘सडक विवाद, शान्ति सुरक्षा कायम गराउने सम्बन्धि, जग्गा विवाद लगायतको प्रकृतिको रिट परेका छन् ’कणेलले भने, 'यस्ता विवाद मिलाई दिनका लागि निवेदन दिन आउनेहरुको विपक्षीले नै अदालतमा रिट दायर गर्छन् ।'
निवेदनकर्ताको पक्षमा कुनै निर्णय भएपछि प्रजिअलाई नै प्रतिवादी बनाएर अदालतमा रिट दायर गर्ने प्रवृत्ति धनुषा जिल्लामा बढ्दै गईरहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।