arrow

राजपा र समाजवादी पार्टीमा चिनियाँ कनेक्सन

फ्रि तीब्बत कार्यक्रममा सहभागी प्रदीप निलम्बित, एकबालले माफि पाए

logo
प्रकाशित २०७६ असार ११ बुधबार
miaya-yadhav.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सांसद एकबाल मियाँ र समाजवादी पार्टी नेपालको सांसद प्रदीप यादव व्यक्तिगत भ्रमण देखाउँदै गत जेठ ३ गते गते युरोप गए । यी दुइ सांसदको यूरोप भ्रमणको उद्देश्य थियो, लाटभियाको राजधानी रिगामामा गरिएको इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तीब्बत कार्यक्रममा सहभागी हुनु ।

उक्त कार्यक्रमा उनीहरु सहभागी भए पनि । मियाँ बाराबाट र यादव पर्साबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । फ्रि तिब्बत कार्यक्रमा सहभगी भए वापत यादव पार्टीबाट निलम्बित भएका छन् भने मियाँले माफि पाएका छन् ।

स्रोतका अनुसार, लाटभियामा गरिएको सो कार्यक्रमपछि यादव र मियाँ फ्रि तिब्बत कार्यक्रमा सहभागी भएको जनाकारी चिनियाँ दुतावासलाई पुगेको थियो । यसपछि दुतावासले यसबारेमा गम्भिर चासो राखेको थियो । दुतावासका अधिकारीहरुले भेटेरै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा राजपाका नेताहरुलाई यसबारेमा ध्यानाकर्षण गराएका थिए ।

चिनियाँ राजदुतावासको चासोपछि राजपा र समाजवादी पार्टीले मियाँ र यादवलाई छुट्टाछुट्टै स्पष्टिकरण सोधेका थिए । दुवै नेताले आफू झुक्किएर उक्त कार्यक्रममा गएको स्पष्टिकरण बुझाएका थिए। स्रोतका अनुसार यादव र मियाँ दुवै सांसद भारतको राजधानी दिल्ली हुँदै युरोप पुगेका थिए। कार्यक्रमबाट फर्केपछि पनि उनीहरुले आफू फ्रि तिब्बत कार्यक्रममा पुगेको घटना निकै गोप्य राखेका थिए ।

कार्यक्रममा जाने बेलामा पनि उनीहरुले पार्टीका नेताहरुलाई यसबारेमा केही जानकारी गराएका थिएनन् । घटनालाई गुपचुप राखेरै थामथुम पार्ने उनीहरुको योजना थियो । तर दुतावासले चासो राखेपछि घटना थामथुम हुन सकेन,–स्रोतले भन्यो ।

मियाँको स्पष्टिकरणपछि राजपाले उनलाई कारबाही गरेन । स्पष्टिकरण चित्तबुझ्दो भएको भन्दै मियाँलाई गर्न लागिएको कारबाही फिर्ता गरिएको स्रोतको भनाइ छ ।

समाजवादी पार्टीका अध्यक्ष यादवमाथी यसरी दबाब बढ्यो कि, यादवलाई कारबाही गर्न उनी बाध्य भए । पछिल्लो समय प्रदीप पार्टी अध्यक्ष उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्ट हुँदै आएका छन् । जसबाट प्रदीप र उपेन्द्रवीच सम्बन्ध चिसिदै गएको छ । स्रोतका अनुसार उपेन्द्रले सम्हालेको स्वास्थ्य मन्त्रालयमा प्रदीप एक पटक पनि पुगेका छैनन् । जवकि, समाजवादी पार्टीका अन्य नेताहरु उप्रप्रधानमन्त्रीलाई भेट्न भन्दै दिनहुँजसो स्वास्थ्य मन्त्रालय जाने गर्छन् ।

समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले यादवलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा पार्टी नीति विपरित र पार्टीलाई जानकारी नगराइ लाटभियामा इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तीब्बत कार्यक्रममा सहभागी भएको भन्दै ६ महिनाकोलागि निलम्बन गर्ने निर्णय गरेको जानकारी गराइएको छ । यस विषयमा यादवले बुझाएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको पार्टीले जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

समाजवादी पार्टी र राजपामा चिनियाँ कनेक्सन
पछिल्लो समय तराइ मधेस केन्द्रित दुई दल राजपा र समाजवादी पार्टीमा चिनियाँ कनेक्सन बढ्दै गएको छ । केही समय अघि तत्कालिन संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रेणु यादवको नेतृत्वमा एकै पटक १७ जना सांसद तथा नेताले चीन सरकारको निमन्त्रणमा चीन भ्रमण गरेका थिए।

उक्त कार्यक्रममा हालै फ्रि तिब्बत कार्यक्रममा सहभागी भएका प्रदीप यादव पनि सहभागी भएका थिए । यसपछि तत्कालिन संघीय फोरमको अर्को टोली चीन भ्रमणमा पुगेका थियो । हाल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस वीच पटक पटक चीन भ्रमण गरेका छन् । चुनावको मुखमा पनि उनले चीन भ्रमण गरेका थिए ।

चीनसँगको यस्तै कनेक्सन राजपासँग पनि छ। जनकपुरका डा.राजिव झा मार्फत राजपा नेताहरु र चीनीया नेताहरुवीच कनेक्सन बढेको स्रोतको भनाइ छ । डा. झा चीनमा अध्ययन पूरा गरी भर्खरै मात्र नेपाल आएका हुन् । डा. झाको सक्रियता पछि राजपाका  राजेन्द्र महतो लगायतका नेताहरुले चीन भ्रमण गरेका छन् ।  

केही समय अघि मात्र राजपाका सांसदहको अर्को एक टोलीले चीन भ्रमण गरेको थियो । पछिल्लो समयमा चिनियाँ आएनजिओहरूले तराइ मधेसमा केन्द्रित गरी आफना कार्यक्रमहरु बढाउदै गएका छन् । गत वर्ष मात्र चिनियाँ आएनजिओहरूले ५ अर्व भन्दा बढी रुपैयाँ तराइ-मधेसमा खर्च गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ