एसईई परीक्षा गैरकानुनी तरिकाले लिइएको हो – मनप्रसाद वाग्ले
शिक्षकलाई पढाउन पनि पर्दैन र विद्यार्थीलाई पास हुन पढ्न पनि पर्दैन भन्ने मानसिकता आयो
प्रकाशित २०७६ असार १३ शुक्रबार
841
Shares
काठमाडौं । शिक्षाविद् डा मनप्रसाद वाग्लेले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा गैरकानुनी रुपले लिइएको भन्दै यस्तो गैरकानुनी खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले प्रादेशिक प्रणालीमा गइसकेको अवस्थामा केन्द्रले नै परीक्षा लिनु गैरकानुनी भएको बताएका हुन् ।
शिक्षालाई केन्द्रले अधिनमा लिन पनि यसो गरेको हुन सक्ने उनको बुझाइ छ । शिक्षाविद् डा वाग्लेले एसईईलाई ग्रेडिङ्गमा लगेर फेरि अलमलमा पुर्याइएको समेत दावी गरेका छन् ।
उनले भने, ‘सामुदायिक विद्यालयलाई कमजोर बनाउनकै लागि यो ग्रेडिङ्ग ल्याइएको हो । शिक्षकलाई पढाउन पनि पर्दैन र विद्यार्थीलाई पास हुन पढ्न पनि पर्दैन भन्ने मानसिकता आयो । यही सिस्टमका कारण शैक्षिक स्तर खस्कियो ।’
उनी भन्छन्, ‘म कुन रेन्जमा परें र त्यो रेन्जले के भन्छ भनेर विद्यार्थीले केही बुझेकै छैन । ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी आउटस्टयाण्डिङ्ग हो भने त्यसले के के गर्न पाउँछ भनेर बुझाउनु पर्यो ।’
यही जीपीएका कारण धेरै भन्दा धेरै विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वंचित भएको भन्दै उनले भने, ‘त्यसले त विद्यार्थीलाई धेरै नै कमजोर बनायो । उच्च शिक्षा हासिल गर्न रोकेको छ ।’
वाग्लेले अगाडि थपे, ‘यो प्रणालीले शिक्षकले पनि नपढाए हुने र विद्यार्थीले पनि नपढे हुनेजस्तो भएको छ । विद्यार्थी पढेर पास भएकै हैन । प्राक्टिकलले गर्दा पास भएको हो । यो गलत भयो ।’