arrow

कांग्रेसको केन्द्रीय समिति बैठकमा के होला ? होला त महाधिवेशनको मिति तय ?

के छ विधानमा ? मरेतुल्य सुभेच्छुक तथा भ्रातृ संस्थाहरु पुनर्जागरण प्रयास​​​​​​​

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीर्य समिति बैठक आइतबार पार्टी मुख्यालय बिपीनगर सानेपामा सुरु हुँदैछ । यो बैठकबाट निस्कने निर्णयका लागि काँग्रेस नेता तथा कार्यकर्ता आतुर भएर पर्खिरहेका छन् । 

यो बैठकले लिने निर्णयबाटै काँग्रेसको आगामी दिशा तय हुने निश्चित छ । काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार बैठकमा नियमावली पारित गर्ने, संघीय संरचना अनुसार रोडम्याप तय गर्ने लगायतका विषयमा छलफल हुनेछ । 

त्यसैगरी भ्रातृ संघहरुको कार्यसमितिको समय सकिइसकेकाले त्यसलाई पुनर्जिवित पार्नेबारेमा विशेष निर्णय आउन सक्ने देखिन्छ । सहमहामन्त्री महतले काँग्रेसले जारी राखेको राष्ट्रिय जागरण अभियानका बारेमा पनि छलफल हुने बताएका छन् । 

काँग्रेस केन्द्रीय समितिको म्याद आगामी फागुनमा सकिँदै गर्दा आगामी महाधिवेशनका लागि मित तय गर्ने विषयमा पनि मुद्दा उठ्ने देखिएको छ । यसबारेमा भने संस्थापन पक्षका सहमहामन्त्री डा महतले विधानको व्यवस्था अनुसार नै महाधिवेशन हुने दावी गरेका छन् । 

काँग्रेसले महाधिवेशनको मिति तोक्छ त ? 
काँग्रेसले आइतबार बस्ने बैठकले महाधिवेशनको मिति तोक्ने सम्भावना छैन । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पहिले संघीय संरचना बनेपछिमात्र महाधिवेशनको कुरा आउँछ । अहिलेसम्म संघीय संरचना नै बन्न सकेको छैन । 

त्यसका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता शर्माले बताएका छन् । 

शर्माले पनि पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा हुने बताएका छन् । यसबाट स्पष्टै छ कि यसपटक राष्ट्रिय जागरण अभियानले निकै स्थान पाउने छ । 

कति समय चल्ला बैठक ? 
काँग्रेसमा गुट उपगुट हावी छ । यसले गर्दा पनि पार्टीभित्र आरोप प्रत्यारोप चल्ने गरेको छ । 

एकले बोलेको विषयलाई प्रतिवाद गर्ने र आफ्नो वादलाई अगाडि बढाउनका लागि पनि बैठक लम्बिने निश्चित छ । 

प्रवक्ता शर्मा भन्छन्, ‘केन्द्रीय सदस्य ज्यूहरुले बोल्ने इच्छा कत्तिको व्यक्त गर्नुहुन्छ त्यही अनुसार बैठक लम्बिने छ । मलाई लाग्छ कम्तीमा ४–५ दिन त बैठक बस्छ नै ।’

राष्ट्रिय जागरण अभियानका क्रममा कार्यकर्तालाई विधानका बारेमा जानकारी गराउने नीति थियो । 

तर विधानमै असन्तुष्टि देखिएपछि त्यही विषयलाई मुद्दा बनाएर लैजाने सभापति शेरबहादुर देउवा इतर पक्षले जनाएको थियो । 

त्यसैगरी संस्थापन पक्षले अहिले आपसमा अल्झिने बेला नभएकाले काँग्रेसलाई संगठित बनाएर जाने बेला भएको बताउँदै आएको थियो । 

सोही समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले जनतालाई दुःख दिइरहेका बेलामा एकाएक मुद्दा त्यतातिर पनि मोडियो । 

र, पनि गुटकै रुपमा अधिकांश राष्ट्रिय जागरण अभियान संचालन भयो । यसकारण त्यसकै समीक्षा गर्नका खातिर पनि केन्द्रीय सदस्यहरुले समय बढी लिने देखिन्छ । 

प्रवक्ता शर्माले भनेजस्तै कम्तीमा ४–५ दिन र बढीमा १० दिनसम्म यो बैठक चल्न सक्नेछ । 

संघीय संरचनामा लफडा
संघीय संरचनामा लफडा यद्यपि छ । पुसमा भएको महासमिति बैठकले पार्टी केन्द्रीय समितिलाई निर्वाचित संघीय संरचना निर्माणसंगै केन्द्रमा आउने सबै स्थानीय तहदेखि नै निर्वाचित भएर आउनु पर्ने गरी विधान बनाउने म्यान्डेट दिएका थिए । 

त्यो म्यान्डेट केन्द्रीय समितिले पूरा गरेन । संस्थापन पक्षले बहुमतले यो विषयलाई रोक्यो । तर संस्थापन इतर पक्ष अहिले पनि निर्वाचित भएरै आउनु पर्ने पक्षमा छ । 

संघीय संरचनामा पनि समस्या छ । तदर्थ समिति बनाएर अगाडि बढ्ने भन्दै देउवा पक्ष लागिरेका बेलामा त्यसलाई रोक्दै बिहीबार संवोधन हुने गरी विज्ञप्ति निकाली सभापति देउवा ब्याक भएका छन् । 

यो निर्णयले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका पक्षलाई केही राहत दिएको अनुभूति भइरहेको बुझ्न सकिन्छ । 

तर यो संगसंगै सभापति देउवाले आफ्नो कार्यकाल थप्ने देखिन्छ । महाधिवेशन गर्ने समय लम्ब्याउने बारेमा स्पष्ट कुरा नआए पनि यदि संघीय संरचनामा निर्वाचन हुने हो भने महाविधेशन केही समय लम्ब्याउन सहमत हुने लक्षण नेता सिटौलाले ल्याएका छन् । 

पछिल्लो समय वरिष्ठ नेता पौडेल पनि सुस्ताएका कारण देउवासंग ‘भद्र सहमति’ भएको हुन सक्ने शंका पनि व्याप्त छ । तर महाधिवेशनको समय किन बढाउने ? 

के भन्छ विधानले ? 
विधानको धारा ७२ ले संक्रमणकालीन व्यवस्था गरेको छ । त्यसलाई नै प्रयोग गर्दै सभापति देउवाले कार्यसमितिको समय लम्ब्याउने र महाधिवेशन पछि धकेल्ने योजना बनाएको पनि सुन्नमा आएको छ । 

काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतको भनाइलाई मान्ने हो भने विधान अनुसार नै महाधिवेशन हुन्छ । मतलव हो घुमाउरो पारामा यही संक्रमणकालीन व्यवस्थाको प्रयोग गरी समय बढाउन खोजिएको छ । 

यसो भन्छ संक्रमणकालीन व्यवस्थाले –
१, सदस्यता सम्बन्धमा– 
क, नेपाली काँग्रेसको हाल कायम रहेका नेपाली काँग्रेसका साधारण सदस्य र नपाली काँग्रेसका क्रियाशील सदस्य यथावत् कायम रहने छन् । 

ख, नेपाली काँग्रेसको सदस्यता र नेपाली काँग्रेसका क्रियाशील सदस्यता प्राप्तिका लागि आवेदन फारम, नवीकरण फारम, सदस्यताको प्रमाणपत्र लगायतको नमुना तोकिए बमोजिम हुनेछ । यो संशोधित विधान अनुसारको नियमावली नबनेसम्म केन्द्रीय कार्यसमितिले तोके बमोजिम हुनेछ । 

२, पार्टीको निकाय सम्बन्धमा–
क, पार्टीको केन्द्रीय कार्यसमिति, सिमाङ्कन हेरफेर नभएका जिल्ला कार्यसमिति र सिमाङ्कन परिवर्तन नभएका स्थानीय तहका कार्यसमितिहरु यथावत कायम रहने छन् । 

३, सबै अधिवेशन, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सम्बन्धमा–
यो विधान संशोधन पूर्व कायम रहेका पार्टीका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडा अधिवेशन, गाउँपालिका अधिवेशन, नगरपालिका, उपमहानगरपालिका अधिवेशन, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन, महाविधेशन प्रतिनिधि र महासमितिका सदस्य यस संशोधित विधानको प्रक्रिया बमोजिम आगामी महाधिवेशनका लागि नयाँ निर्वाचन नहुँदासम्म कायम रहने छन् । 

४, पार्टी संगठनको अन्तरिम व्यवस्था सम्बन्धमा–
क, नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमांकन हेरफेर नभई यथावत् कायम रहेका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कायम रहेको कार्यसमिति यथावत् कायम रहने छन् । 

ख, नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भए पश्चात सिमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका र प्रतिनिधिसभा निर्वाचन विधान बमोजिमको सम्बन्धित कार्यसमिति गठन गर्नेछ । 

ग, नेपालको संविधान बमोजिम नयाँ निर्धारण भएका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधन पूर्व कायम रहेका क्षेत्रीय अधिवेशन प्रतिनिधि प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन् । यसरी कायम हुन आएका प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनले यो विधान बमोजिमको प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्नेछ । 

घ, प्रदेशभित्रका यो विधान संशोधन पूर्व कायम रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रदेश अधिवेशन प्रतिनिधि हुनेछन् । यसरी कायम हुन आएको प्रदेश अधिवेशनले यो विधान बमोजिमको प्रदेश कार्यसमिति गठन गर्नेछ । 

५, यस सम्बन्धमा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । 
 
गच्छदारबारे के होला त निर्णय 
विजयकुमार गच्छदारको पार्टी एकता भएपछिको बाँकी कामबारे कुनै निर्णय भएको छैन । गच्छदारलाई मात्र उपसभापति बनाइएको छ । अनि उनलाई संसदीय दलको उपनेता पनि दिइएको छ । 

उनका झण्डै दुई हजार सक्रिय कार्यकर्ता भएको दावी गर्दै आएका छन् । उनको पार्टी नै काँग्रेसमा समाहित भएपछि उक्त पार्टीका अन्य कुनै पनि नेतालाई काँग्रेसले स्थान दिएको छैन । गच्छदारले त्यो भाग समेत खोजिरहेका छन् । 

मरेतुल्य सुभेच्छुक तथा भ्रातृ संस्थाहरु पुनर्जागरण प्रयास
जबसम्म भ्रातृ संस्थाहरु सक्रिय हुन सक्दैनन् तबसम्म माउ पार्टी बलियो बन्न सक्दैन । 

भ्रातृ संस्थाहरु पुनर्जागरण गराउनुको सट्टा तिनीहरुलाई निश्क्रिय पार्ने काम माउ पार्टीले गरेको छ । 

सबैजसोको निर्वाचन हुन नसक्दा कार्यसमितिहरु तदर्थवादमा चलेका छन् । 

नेविसंघमा तदर्थवाद चलिरहेको छ । तरुण दलमा चार जना मनोनित गरे पनि पूर्णता पाएको छैन । 

महिला संघमा आन्तरिक विवाद छ । दलित संघ र लोकतान्त्रिक अपांग संघमा पनि चुनाव भएको छैन । 

सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको गत वर्षको भदौमै समय सकिए पनि अहिलेसम्म चुनाव हुन सकेको छैन । विभिन्न जिल्ला र प्रतिष्ठानसंगै प्रवासमा समेत चुनाव भएको छ । तर केन्द्रमा हुन सकेको छैन । 

पार्टी संगठित पार्नका लागि यसपटकको केन्द्रीय समिति बैठकमा भ्रातृ संस्था र सुभेच्छुक संस्थाको चुनावमा नेताहरुले जोड दिने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ