arrow

'कांग्रेस हत्या, हिंसाको पक्षधर होइन, विप्लवसँगपनि सरकारले वार्ता तथा सम्वाद गरोस्'

सरकार समयमै सुध्रियोस्

logo
प्रकाशित २०७६ साउन १ बुधबार
ramesh_lekhak.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले आफ्नो पार्टी वार्ता तथा सम्वादको पक्षधर भएकोले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले कांग्रेसकै पहलकदमीका कारण माओवादीसँगको वार्ता सफल भएको र मुलुक अहिलेको अवस्थामा रुपान्तरण भएको सुनाए । उनले भने,‘हाम्रो पार्टी हरहमेशा वार्ता तथा सम्वादको पक्षमा छ । हामी कहिल्यैपनि हत्या, हिंसाको पक्षधर होईनौं । त्यसैले विप्लवसँगपनि सरकारले वार्ता तथा सम्वाद गरोस् ।’

उनले सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका पूर्व संयोजक तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको कुरा सुन्दा सरकारले अहिलेसम्म वार्ताको लागि विप्लवलाई पत्राचार नै नगरेको सुनाए । उनले भने,‘सरकारले अहिलेसम्म पत्राचार गरेको छैन भन्ने कुरा पाण्डेजीले भन्नुभयो, अहिलेसम्म मागका बारेमा पनि ठोस कुरा आएको छैन भन्नुभयो । सरकार संवेदनशील बन्नुपर्छ ।’

उनले वर्तमान सरकारसँग जनता सर्वथा निराश रहेको पनि गुनासो पोखे । उनले भने,‘यो सरकार कता जाँदैछ ? सरकारमा रहेका दलका नेताहरुनै अहिले सर्वथा असन्तुष्ट हुनुहुन्छ ।’ उनले सरकारले देश र जनतामा निराशाको विउ छर्ने काम गरेको आरोप लगाए ।
संसदमा प्रस्तुत गरिएका विद्येयकहरु एकपछि अर्कोगरि विवादमा मुछिएको पनि उनले सुनाए । उनले भने,‘त्यतिमात्रै होईन, सरकारका निर्णयहरु पनि विवादित बनेका छन् ।’ गुठी, मिडिया काउन्सिल, वन विद्येयकलगायतका सबै विद्येयकहरु विवादस्पद बनेकोमा उनले गुनासो पोखे ।

लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै नलिई जनतालाई गलत सुचना दिएको सुनाए । उनले भने,‘सरकारमा बसेका सबैभन्दा ठूला मान्छेले जनतालाई ढाँट्ने काम गर्नुभयो ।’ सरकारले आफूलाई सुधार नगरे अहिलेको व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्नसक्ने पनि उनले खतरा औंल्याए । उनले भने,‘सरकार समयमै सुध्रियोस्।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘सरकारको तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरेको छु । तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन् ।’

वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायित्व चाहेको सुनाउँदै पाण्डेले भने,‘सरकार द्वन्द्व चाहँदैन् । हामी हिंसा चाहँदैनौं । हामी त सुशासन र समृद्धि चाहन्छौं । त्यही भएर सरकारले मेरै नेतृत्वमा ०७५ साल भदौ ०८ गते उच्चस्तरीय वार्ता टोली बनाएको थियो । मैले धेरै सशस्त्र समूहसँग वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याएको छु । मेरो नेतृत्वको टोलीले विप्लवसँगमात्रै सहमति गर्न सकेको छैन् । अहिलेपनि म्याद सकिएपनि मैले वार्ताको पहल गरिरहेको छु ।’

उनले आफूले विप्लव समूहका गुणराज लोहनीसँग सम्पर्क बढाएर वार्ता तथा सम्वादको पहल गरेको स्मरण गराए । उनले भने,‘अहिलेसम्म अनौपचारिक छलफल मात्र भएका छन् । हामी धेरै पटक छलफल तथा वार्तामा बस्यौं । तर, अहिलेसम्म सार्थक हुन सकेको छैन् ।’ उनले सरकारले अहिलेपनि विप्लवसँग वार्ताको ढोका खोलेको सुनाए । पाण्डेले भने,‘वार्ताको विकल्प छैन् भन्ने कुरामा सरकार पुगेको छ । विप्लव समूहका नेताहरुपनि वार्ताको लागि तयार हुनुहुन्छ ।’ उनले अहिलेसम्म सरकारले लिखित रुपमा वार्ताको लागि पत्राचार नगरेको स्पष्ट पारे ।

सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि विप्लवका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘यो राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक रुपमै समाधान गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा छ । अहिले नेकपा र डबल नेकपाबीच एक आपसमा सौताकोजस्तो व्यवहार देखिएको छ । यो व्यवहार त्यागेर छिटोभन्दा छिटो समाधान खोज्नुपर्छ ।’

सांसदसमेत रहेका सह–अध्यक्ष श्रेष्ठले अहिले परिवर्तित अवस्था भएकोले यो परिवर्तनलाई आत्मसात गरिएको छ कि छैन ? भन्ने कुरा मूल प्रश्न भएको सुनाए । उनले भने,‘पार्टीका नेता त्यसमा पनि उपल्लो तहमा बस्नेहरुको रहनसहन सामन्तवादकोजस्तो छ । राष्ट्रपतिको आतेजाते राजा, महाराजा र महारानीजस्तो छ । गणतन्त्रको राष्ट्रपति सामन्तीयुगको जस्तो महारानी हुनुहँदैन् ।’

राष्ट्रपति आलंकारिक भएपनि उनको शैली भने राजर्षी रहेको उनको टिप्पणी छ । उनले भने,‘तर, अहिले उहाँको शैली सामन्तवादको जस्तो छ । यही कारणले जनविद्रोह जन्मन सक्दछ । अहिले सरकारमा भएकाहरुको शैलीपनि नवधनाढ्यजस्तो छ । कम्युनिष्टको नाममा यो गलत शैली हो ।’ आफ्नो पार्टीका अध्यक्ष अहिले उपेन्द्र यादव अहिले सरकारमा उपप्रधानमन्त्री रहेको र उनले पिछुवा गाडीको सुविधा नलिएको पनि उनले सुनाए । उनले भने,‘हामी त समाजवादी संस्कृतिको सुरुवात गरौं भनेर लागिपरेका छौं । मुख्य कुरा भनेको नै कल्चर बसाल्ने हो ।’

उनले नेताले नांगै हिँड्नुपर्छ र साईकल चढ्नुपर्छ भन्ने नभएको पनि सुनाए । श्रेष्ठले थपे,‘राष्ट्रतिको निवासमा हेलिप्याड राख्ने कुरा भएको छ । यस्ता कुरामा ध्यान दिनुपर्छ । यही अवस्था रहिरहे प्राप्त उपलब्धि नै गुम्ने खतरा हुन्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने धारणा राखेका छन् । उनले भने,‘विप्लवसँग वार्ता हुनुपर्छ भनेर हामीले आजभन्दा करिब २ महिना अघि प्रधानमन्त्रीलाई भेटेका थियौं । यसको लागि सुन्दरमणि दिक्षितले पहलकदमी लिनुभएको थियो ।’ तर, पछिल्लो समय वार्ताले औपचारिकता पाएको हल्ला चलाईएको भनेर स्वयम विप्लव समूहले गरेको पनि उनले सुनाए ।

उनले भने,‘अहिलेको समाचार हेर्दा वार्ता नभएको कुरा आएको छ । यो त प्रतिक्रियावादीहरुले चलाएको हल्ला हो भनेर उनीहरुले भन्न थालेका छन् । कुनै वार्ता भएको छैन भनेर विप्लव समूहले भनेको छ ।’ उनले आफूले चन्द समूहको कुरा गर्दा आफूलाई नै गोली ठोक्ने हुन कि भन्दै ठट्टा गरे । उनले भने,‘म विप्लवसँग टच छैन् ।’

सरकार र विप्लवबीच वार्ताको लागि तपाईले नै पहलकदमी लिनुहोस न त भनेर पत्रकार धमलाले गरेको आग्रमा केसीले भने,‘मेरो त पावर छैन् । म त निरीह मान्छे हुँ । वार्ताको लागि मध्यस्थता गर्नको लागि विश्वसयिनता हुनुपर्छ । अहिले त नागरिक समाजमा पनि बौद्धिकता स्खलित भएको छ । पार्टीको कार्यकर्ताले त्यो भूमिका निर्वाह गर्न सक्दैनन्।’ उनले देश सकिएपछिमात्रै नेपालका नेताहरुको आँखा खुल्ने सुनाए । उनले भने,‘एक घुड्को पानी पिउनपनि ऋषि धमलाको आउनुपर्छ । अहिले मेलम्चीको पानी धुस्न बाटोमा छ ।’

केसीले माओवादीले छोडेका एजेण्डा अहिले विप्लवले बोकेको सुनाए । उनले भने,‘यदि विप्लवले पनि यो एजेण्डा छोड्यो भने सिप्लव जन्मिन्छ ।’ मुलुक एकपछि अर्कोगरि बेथितीको चंगुलमा फसेको पनि उनले टिप्पणी गरे । उनले भने,‘अघिल्लो वर्ष प्रत्येक नेपालीको काँधमा ३३ हजार ऋण थियो । अहिले त्यो बढेर ३६ हजार भएको छ ।’ नेपालमा राजदुत हुन ज्वाँई हुनुपर्ने र मन्त्री बन्न सम्धी हुनुपर्ने भन्दै केसीले नेताहरुमाथि कडा व्यंग्य कसे ।

उनले अहिले देशमा भएका सबैखाले समस्या सिर्जित समस्या भएको पनि टिप्पणी गरे । अहिले त गणतन्त्र नभएर लुटतन्त्र आएको उनको आरोप छ । पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लवबीच साँठगाँठ छ त भनेर सोधिएको प्रश्नमा केसीले भने,‘त्यो त मलाई थाहा छैन । तर, अहिले म एउटा कार्यक्रमबाट आएको हुँ, त्यहाँ ५० प्रतिशत विप्लवका मान्छे थिए । अनि, अर्को ५० प्रतिशत ज्ञानेन्द्रका मान्छे थिए । त्यसैले यसबारेमा कन्फ्युजन छ ।’

कतिपय कांग्रेस नेताले समेत अहिलेको राजनीतिक अवस्था देखेर यो भन्दा त राजसंस्था नै ठिक थियो भनेर अभिव्यक्ति दिन थालेको सार्वजनिक रुपमै सुन्न पाएको पनि केसीले सुनाए । उनले भने,‘बाबुरामजीले पनि हिजो राजासँग साँठगाँठ थियो भनेर बोलेकै हो ।’ केसीले नेपालमा सबैभन्दा ठूलो राष्ट्रघात मेलम्चीमा भएको पनि सुनाए । उनले भने,‘अहिलेसम्म २३ अर्ब खर्च भैसक्यो ।’

आयोजनाको मुख्य ठेकेदार सिएमसीलाई योजनाबद्ध रुपमै भगाएको पनि उनको गम्भिर आरोप छ । उनले भने,‘एक अर्वको सामान कुहिएर गयो । पाईपहरु जुन बिछ्याईएको छ, यसमा समयमै पानी नल्याए सढेर जान्छ ।’ उनले ३६ करोडको भुक्तानी गरेको भए काठमाडौंवासीले पानी खान पाउने थिएन भन्ने उनको धारणा छ ।

केसीले समयमै सरकार र राजनीतिक दलहरु नसुध्रिए मुलुक र जनताको लागि अब नराम्रो दिन आउनसक्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘समय अब संगित र अन्तिम भैसकेको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ