arrow

जनता लज्जित भए प्रधानमन्त्री ज्यू अब राजीनामा दिनुस्

logo
बाबु नेपाली
प्रकाशित २०७६ साउन १ बुधबार
pm-oli-article.jpg

काठमाडौं । नेपाली भाषाकोषका अनुसार लज्जा (संस्कृत, स्त्री) भनेको लाज हो । सरम हो । आफूले नचाहिँदो काम गर्नाले अरुका अगाडि मुख देखाउन नसकिने मनोभाव वा स्थिति । असजिलोपना । संकोच । धक । 

मान्छेले त्यतिन्जेलसम्म अरुको सामना गर्न सक्छ जतिबेलासम्म उसलाई लाज लाग्दैन । शिर त्यतिञ्जेल ठाडो हुन्छ जतिञ्जेल उसले लाज लाग्ने काम गर्दैन । तर लाजलाई जित्ने मान्छेलाई भने यसले कुनै फरक पार्दैन । 

प्रधानमन्त्री केपी शर्मा ओली । राष्ट्रको कार्यकारी । उनले २०७६ सालको असार २६ गते यही शब्द बोले । भने, ‘मलाई लाज भइरहेको छ माफी चाहन्छु ।’

उनले त्यस्तो के गरे जसले गर्दा उनलाई लज्जावोध भइरहेको छ । कुनैबेलाका राष्ट्रवादी कहलिएर जनताको मनमनमा राज गरेका ओलीको ढोङ्गी चरित्र दिनानुदित उदाङ्गिदै गर्दा उनलाई मनमा राख्नेहरु अहिले विरक्त मान्न थालेका छन् । आखिर उनी किन यस्ता भए भनेर अलमलमा परेका छन् । 

माफी दिन लायक छन् कि छैनन् त्यो तपाईं कै मूल्यांकन तर उनले अति नै दुःख दिएपछि नेपाली जनतासंग माफी भने मागेका छन् । ओलीले भारतबाट आयात गरिने तरकारी र फलफूलमा विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई पनि झुक्याइएको भन्दै क्षमायाचन गरेका हुन् । 

विषादी प्रकरणमा आफू लज्जित हुनु परेको उनले बताए । भारतबाट आएको पत्रको सम्बन्धमा आफूलाई पनि झुक्याएको उनले दाबी गरेका छन् । सुरुवातमा आफूलाई दूतावासबाट पत्र आएको छ भन्ने जानकारी नै नभएकोसमेत उनले बताए । 

यो विषयलाई गम्भीर रुपमा लिएको भन्दै प्रधानमन्त्रीले अनुसन्धान गर्ने पनि बताए । उनले ‘नियतवश हो वा सामान्य लापरवाही हो त्यसमा म बुझ्दैछु’ पनि भनेका थिए । वास्तवमा उनीसंग ढाट्ने डिग्री नै रहेछ । राम्रो काम जति जुन मन्त्रालयले गरे पनि मेरै मातहतमा भएको भन्ने अनि नराम्रो र जनताले विरोध गरेका कुराहरु चाहिँ कहिले कर्मचारीले गुमराहमा राख्यो भन्ने, कहिले कसले ढाँट्यो भन्ने ?

विषादी परीक्षणको विषयमा ओलीको मन्त्रीपरिषदमै द्वन्द्व सिर्जना हुने आशंका बढ्दै गएको छ । एकले अर्कोलाई दोष देखाउने क्रममा बिहीबार ओलीले कृषि, आपूर्ति र परराष्ट्र मन्त्रालयलाई दोष देखाउँदै माफी मागे । तर यस विषयमा आरोपित मन्त्रालयहरुको कुनै आधिकारिक भनाइ भने सार्वजनिक भएको छैन ।

फेरि प्रधानमन्त्रीले कसैलाई नछाड्ने भनेका छन् । तर अहिलेसम्म कसैलाई कारबाही पनि गरिएको छैन । मन्त्रीहरुले आरोप प्रत्यारोप गर्न भने छाडेका छैनन् । विषादी परीक्षणको विषयमा सरकारका तर्फबाट शुक्रबार फेरि कृषिमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्रीले संसदीय दलको बैठकमा कुनै पत्र नआएको दाबी गरेपछि उत्पन्न विवादकाबीच आफूले मन्त्रालयमा बुझ्दा पत्र आएको थाहा पाएको बताए ।

यसअघि भने तिनै खनालले संसदमा दोष आफ्नो नभइ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भएको बताएका थिए । अनि संसदमै आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले गल्ती भएको भन्दै सचिवको विश्वासमा परेर फसिएको बताएका थिए । 

एकले अर्कालाई दोष लगाए पनि खास दोषी को भन्नेबारे अहिलेसम्म न खुलाइएको छ न कार्वाही भएको छ । खासमा यो खुल्ने प्रश्न पनि आउँदैन । किनकि आरोप लगाउने र आरोप खाने एकै दलका मन्त्री हुन् । 

भारतीय दूतावासले सीमामा भारतबाट आउने विषादी फलफूल र तरकारी परीक्षण रोक्न भनेसंगै सरकारले रोकेको दावी गरिरहँदा प्रधानमन्त्रीले तयारी नपुगेकाले रोकेको तर भारतबाट कुनै पत्र पाएर नभएको बताएका थिए । त्यो पत्र भने लुकाइएको थियो । 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले केही बोलेका छैनन् । तर बाहिरबाट आउने हरेक पत्र परराष्ट्रबाट नै आउने गर्छ । मन्त्री ज्ञवाली प्रधानमन्त्री ओलीका खास सदस्य हुन् । अहिलेसम्म उनले केही बोलेका छैनन् । तर मन्त्री खनाल र यादव भने तत्कालीन माओवादीबाट नेकपामा मिसिएका भएकाले ओली भरोसा गर्दैनन् । 

यहाँनेर गल्ती सीधै मन्त्री ज्ञवालीतिर साँधिन्छ । कुनै कर्मचारीले बदमासी गरेको भए पनि पत्रबारे परराष्ट्र मन्त्रालयका कर्मचारी दोषी हुन सक्छन् । यसलाई लुकाइएको छ । मन्त्रालयले कसैलाई कारबाहीको कुरा भने अहिलेसम्म गरेको छैन ।

तर बिहीबार नियमित्र पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कारबाहीको ठीक विपरीत गलत सूचना प्रवाह गर्ने कर्मचारीलाई ‘झुन्ड्याउन नसकिने’ भन्दै लाचारी प्रकट गरेका थिए । एकातिर प्रवक्ताले लाचारी प्रकट गरिरहने र अर्कातिर प्रधानमन्त्री ओली लज्जित भएर माफी माग्ने । 

प्रधानमन्त्री ओली सम्बन्धित मन्त्री, मन्त्रालय र कर्मचारीबाट झुक्किएको यो पहिलोपटक भने होइन । उनले यसअघि पनि चिनी प्रकरण, मेलम्ची खानेपानी, निर्मला पन्त बलात्कारपछि हत्याकाण्ड लगायतमा आफूलाई झुक्याइएको अभिव्यक्ति दिइसकेका छन् ।

३३ किलो सुनकाण्डमा कसैलाई दोषी देखाएनन् । सुनकाण्डलाई आफैले रोके । अनि वाइडबडी खरीदमा संसदीय समितिले दोषी ठह-याएकालाई कार्वाही गर्नुको सट्टा आफैले छानबिन समिति बनाएर कार्वाही गर्ने भन्दै समिति बनाए । तर त्यो समितिलाई पूर्णता नदिई समय गुजारे । 

देशको कार्यकारी मलाई केही पनि जानकारी दिइएन भन्छ । देशको कार्यकारी मलाई मेरा साथीहरुले गलत अफबाहमा राखे भन्छ । देशको कार्यकारी गल्तीमाथि गल्ती भइरहँदा विपक्षीको चाल हो काम गर्न नदिने भन्छ । अनि अरुको सुझाव र सल्लाहलाई मान्दैन । त्यसो भए कुर्सीमा बस्नुको के अर्थ ? माफ गर्नुस् प्रधानमन्त्री ज्यू तपाईलाई भरोसा गर्ने आधार अब केही रहेन । माफी त मागिसक्नु भयो पदबाट राजीनामा दिएर पीडाबाट मुक्त हुनुस् ।
..................
गत आइतबार (असार २९ गते) । उनले बाढीपहिरोका कारण धेरै नेपालीले ज्यान गुमाएका कारण आफू विगतका वर्षको जस्तो प्रसन्न हुन नसकेको बताए । भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले ‘यहाँ आउनुअघि पनि राहत र उद्धारमा के गर्न सकिन्छ भन्ने काममै थिएँ, यहाँबाट फर्केपछि पनि त्यसमै लाग्छु’ भने । 

तर सरकारको भनाइ र गराइमा फरक देखिएको छ । अघिल्लो दिन यति गम्भीर देखिएका ओलीको नेकपालाई बाढी, उद्धार र राहतबारे संसदमा छलफल चलाएर कसरी अगाडि बढ्ने भनेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले संसदमा छलफल चलाउन गरेको आग्रह मानिएन ।  

संसदको नियमित कार्यसूचीलाई थाती राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा त्यसमा भइरहेका प्रयासबारे छलफल गर्न माग गरेपछि नेकपा उक्त प्रस्तावमा छलफल गर्न सहमत भएन । सभामुख कृष्णबहादुर महराले त हदै पार गरे । 

सरकार जे चाहन्छ त्यही गर्ने बानी परेका सभामुखले प्रतिपक्षीको मागमा अनिच्छामात्र देखाएनन् । आगामी साउन ८ गतेसम्मका लागि संसदको बैठक नै स्थगित गरिदिए । 

सभामुखको यो अर्को गल्तीले उनीमाथि लागेको कालो दाग त अझै गाढा भयो नै यसले प्रधानमन्त्री ओलीको ढोङ्गीपन झनै बढायो । यतिबेलाको समय प्रतिपक्षीहरुलाई समेत लिएर अगाडि बढ्ने बेलाको थियो । 

विपद्का बेला सबै एक हुनुपर्ने बेलामा त्यसका लागि ओलीको दल इच्छित नहुनुले उनी के चाहेका छन् भन्ने स्पष्टै भएको छ । विपक्षीले सरकारले बाढी पहिरो पीडितको उद्धारको काम राम्रोसंग नगरेको आरोप लगाइरहेका छन् । सरकार भने सहयोग लिन समेत डराइरहेको छ । 

अपारदर्शीको गन्ध आइरहेको आरोप विपक्षी दलहरुको छ । उनीहरुले केन्द्रीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकाले पनि उद्धार र राहतमा सक्दो सहयोग गर्न नसकेको बताइरहेका छन् । 

जबकि प्रदेश सरकार पनि सातमध्ये ६ वटा नेकपाकै बहुमतमा चलिरहेका छन् । तर उनीहरु पनि सहयोग पाइरहेका छन् । संघीयता फ्लप पार्न ओली लागेको आरोप पहिले पनि नलागेको हैन । विपद्को बेलामा समेत राजनीति गरेपछि अब ओलीको जयजयकारभन्दा तिरस्कार बढी भइरहेको छ । 

विपद्मा त शत्रुको पनि मद्धत गरिन्छ । तर तपाई देशको कार्यकारी । तपाई त सबै नेपालीको अभिभावक । यसरी पिँठ फर्काएर बस्न मिल्छ र ? एक जनताले अर्को जनतालाई सहयोग समेत गर्न नपाउने गरी तपाईले लगाएको बन्देजले जनता लज्जित भए प्रधानमन्त्री ज्यू अब त राजीनामा दिनुस् !

आफ्नै दलकाले पत्याएनन् ओलीलाई  
ओलीका लागि अब आफ्नै दलका नेतासमेत बैरी भइसकेका छन् । यसको मतलब उनीहरुले गलत भनिरहेको भन्ने बुझाई किंचित हैन । उनीहरुले आफ्नो अध्यक्षलाई झक्झक्याएका छन् । तर ओली सुन्दैनन् । 

नेकपाका नेता भीम रावल ट्वीटरमा लेख्छन्, ‘कसले कस्को सेवा गरेको थियो, गरिरहेछ भन्ने कुरा भ्रमले होइन व्यक्तिले विगत र वर्तमानमा गरेका र भनेका तथ्यले स्वयं स्पष्ट गर्छन् । आफ्ना कृत्यहरूको औचित्य साबित गर्न असमर्थ भएपछि अरूमाथि हिलो छ्यापेर सुकिलो देखिने चेष्टाले कुनै सकारात्मक परिणाम निस्किन्न ।’

नेता रावलले विषादी परीक्षणमा सरकार चुकेको पनि स्पष्ट पारेका छन् । उनले विषादी परीक्षण सार्वभौम मलुकको अधिकार हो भनेका छन् । 

नेकपाकी सांसद रामकुमारी झाँक्री ट्वीटरमा लेख्छिन्, ‘रोजगारी भनेको पहेलो जकेट र हेल्मेट लगाएर सार्वजनिक ठाउँमा सामेल हुने । विकास भनेको चुचुरोमा टावर, खाल्टोमा टावर, प्रतिक्षालय, सिमेन्टको गेट र पोखरी, मन्दिर, एउटा ठाउँ–गाउँमा समूह पिच्छे सामुदायिक भवनका योजना देख्छु देशैभरी । मित्र राज्यको श्रोत यो भन्दा राम्रो काममा लगाउन सकिन्छ नि हैन ?’

झाँक्रीले ओली सरकारको वेथितिलाई एकै झवाँकमा भनिसक्न भ्याएकी छिन् । सरकारको यो नाङ्गो नाचलाई उनले बाहिर ल्याएकी मात्र हुन् । तर आफ्नै दलले सुन्दैन । यो भन्दा दुर्भाग्य के हुन्छ ?  

वाम राजनीतिक विष्लेषक खगेन्द्र संग्रौलाले यो सरकारप्रति निकै नै चित्त दुखाउँदै त्यसै लेखेका हैनन् –‘चिया पसलमा सर्वज्ञानीले भन्यो –तरकारी, फलफूल, हावा, पानी, भाषा, संस्कृति, मान्छे केही पनि सद्दे र शुध्द रहेन । उसले जोशिँदै गणतन्त्र र धर्मनिरपेक्षतालाई पनि त्यही विषाक्त डालोमा हाल्यो । मैले भनेँ – अब सद्दे र शुध्द एउटै चीज बाँकी छ । सबले ठाडा कान लगाए –त्यो के हो ? मैले भनेँ – राजा !

हो । यो सबै प्रधानमन्त्री ओली ज्यूले गर्दा नै भएको हो । आखिर कार्यकारी उहाँ । भैगो । कति ओलोचना सुन्नुहुन्छ प्रधानमन्त्री ज्यू । कामै नगरी बस्न त पक्कै मिल्दैन होला । राजीनामा नै दिनुस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ