arrow

आलोचित बन्दै गएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द 

logo
प्रकाशित २०७६ साउन १ बुधबार
janata-sanga-pradhanmantri.JPG

काठमाडौं । ‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको छ । गत वर्ष साउन २ गतेबाट प्रशारण भएको उक्त कार्यक्रम ५० श्रृंखला प्रशारण भएसंगै बन्द भएको हो । 

बुधबार होटल सोल्टीमा कार्यक्रम आयोजना गरी कार्यक्रमका संचालक एवं कथा नेपालका प्रवन्ध निर्देशक मनोजराज पाण्डेले कार्यक्रमबाट बिदा लिएको घोषणा गरेसंगै यो कार्यक्रम बन्द भएको हो । 

उनी प्रधानमन्त्रीका अडियो भिडियो विज्ञसमेत रहेका थिए । उक्त पदबाट समेत राजीनामा दिएको घोषणा गरेका थिए । 

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी नेकपाकै नेताहरुसमेत सन्तुष्ट थिएनन् । यो कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको थियो । 

प्रधानमन्त्री ओलीले धेरै विकासका कार्यक्रमहरुको घोषणा गर्ने, प्रत्यक्षरुपमा विभिन्न विभागीय प्रमुखहरुलाई निर्देशन दिने तर त्यो कार्यान्वयन भने नहुने भइरहँदा कार्यक्रमप्रति रुष्ट हुनेहरु धेरै थिए ।

त्यसैगरी उक्त कार्यक्रम मार्फत नै पनि प्रधानमन्त्री ओलीले आफ्नो दम्भ देखाउन नछाडेको भन्दै आलोचना गर्नेहरु प्रतिपक्षी दलका नेताहरुमात्र होइन सत्तारुढ दलकै नेताहरु पनि रहेका थिए । 

काम नगर्ने अनि कुरामात्र गर्ने प्रधानमन्त्री भन्दै दर्शक पनि घटेको बुझिन्छ । यसैबीच उक्त कार्यक्रमका लागि विभिन्न सरकारी निकायबाट रकम उठाएको आरोप खेपेका संचालक पाण्डेले आफूले कसैबाट पनि रकम नउठाएको दावी गरेका छन् । 

अधिकभन्दा अधिक सार्वजनिक कार्यक्रममा गएर भाषण गरे पनि जनतासंग प्रधानमन्त्री कार्यक्रममा समेत आफ्ना कुराहरु राख्दै आएका प्रधानमन्त्री ओलीले प्रस्तोता पाण्डेलाई विशेष धन्यबादसमेत दिएका छन् । 

एक वर्षको कार्यक्रमको अवधिमा पाण्डेले प्रधानमन्त्री ओलीलाई पाँच सय प्रश्न सोधेका थिए । उक्त कार्यक्रमको पुस्तक नै तयार भएको छ । प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र संचालक पाण्डेले उक्त पुस्तकको विमोचन गरेका थिए । 

प्रधानमन्त्री ओलीले उक्त कार्यक्रममार्फत सरकारले गरेका काम जनतासमक्ष पुर्याउन सहज भएको बताएका थिए । उनले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताए ।     
     
“यस कार्यक्रम मार्फत देशको अवस्था, सरकारका उपलब्धि, सडक यातायातको चर्चा, राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दृष्टिकोण प्रस्तुत गरेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।     
     
 यो कार्यक्रम नेपाल टेलिभिजन र दुई निजी टेलिभिजनमा प्रशारण हुँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ