arrow

कांग्रेसको नियमावलीप्रती ट्रेड युनियन कांग्रेस असन्तुष्ट, नियन्त्रणमुखी प्रावधानप्रति असहमति

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
trade-union-congress1.jpg

काठमाडौ। नेपाली कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाहरुकालागी ल्याएको विनियमावली-२०७६ को केहि प्रावधानमाथी ट्रेड युनियन कांग्रेसले असहमति जनाउँदै संशोधन गर्न दबाब दिएको छ। विहिबार ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिले विनियमावली संशोधन समितिका संयोजक रमेश लेखक, सदस्यहरु प्रदिप पौडेल, मिन विश्वकर्मा, जीवन परियार, इश्वरी न्यौपाने लगायतलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा भेटी संशोधन गर्न दबाब दिएको हो। 

कार्यवाहक अध्यक्ष यादवले ट्रेड युनियन कांग्रेस अन्य शुभेच्छुक संस्थाहरु जस्तो नभई विशिष्ट प्रकृतिको संस्था भएकोले पार्टीले ल्याएको विनियमावलीले प्राविधिक कठिनाई हुने बताए। कुनै कुनै भातृ तथा शुभेच्छुक संस्थाहरु पार्टी नेतृत्वको हस्तक्षेपकै कारण समयमा अधिवेशन हुन नसकेको उल्लेख गर्दै घुमाउरो तरिकाले ट्रेड युनियन कांग्रेसलाई पार्टीको कुनै प्रकारको नियन्त्रण स्वीकार्य नहुने बताए।

उपाध्यक्ष अजय कुमार राईले नियमावली भातृ तथा शुभेच्छुक संस्थाहरुलाई सकृय, परिचालन र नियमन गर्ने उदेश्यले ल्याउन खोजेको भए पनि प्राविधिक समस्या हुने हुँदा संशोधन गर्नु पर्ने विचार राखे।

महासचिव योगेन्द्र कुवरले संशोधन गर्नु पर्ने दफा र सुझाव प्रस्तुत गरे। सुझावमा वैदेशिक रोजगारीमा रहेका आप्रवासी मजदुरहरुलाई ट्रेड युनियन कांग्रेस मार्फत संगठित गरि उनीहरुको पेशागत हक अधिकार र सुरक्षा एवं मर्यादित रोजगारीकालागी कार्य गर्नु पर्ने, शुभेच्छुक संस्थाहरुको नविकरण १/१ वर्षमा व्यवहारिक नहुने भएकोले ४/४ वर्ष बनाउनु पर्ने, ट्रेड युनियन कांग्रेसमा आबद्ध शिक्षक, बैंक, संस्थान, स्वास्थ्य, निजामती लगायत क्षेत्रमा कार्यरत कर्मचारीलाई कर्मचारी विनियमका कारण सिधै पार्टीको सदस्य बन्न नपाउने प्रावधानले गर्दा शुभेच्छुक संस्थाका सदस्यले पालना गर्नु पर्ने आचारसंहिता पार्टी सदस्य सरह हुने प्रावधानलाई हटाउनु पर्ने, कुनै सदस्य लाई पार्टीले कारबाही गर्दा शुभेच्छुक संस्थाको पदबाट पनि स्वत निलम्बित हुने व्यवस्थालाई हटाउनु पर्ने र शुभेच्छुक संस्थाको अधिवेशन वा अन्य कुनै कार्य सम्पादन गर्ने प्रायोजनकालागी पार्टी प्रतिनिधि पठाउने र प्रतिनिधिकै सल्लाह अनुसार कार्य सम्पादन गर्नु पर्ने व्यवस्था लोकतान्त्रिक संस्थामा धेरै नै नियन्त्रणमुखी देखिएको, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, ट्रेड युनियनको मुल्य र मान्यता विपरीत हुन गई प्राविधिक समस्या देखिएकोले यो प्रावधान हटाउनु पर्ने लगायत उल्लेख गरिएको छ।

उपमहासचिव गणेश के.सि.ले ट्रेड युनियन कांग्रेस नेपाली कांग्रेसको शुभेच्छुक संस्था भए पनि अन्य शुभेच्छुक संस्थाहरुसंग मेल नखाने र विशुद्ध पेशागत संस्था भएकोले त्यही अनुरुप व्यवहार गर्नु पर्ने बताए। ट्रेड युनियन कांग्रेसको टोलिको सुझाव सुनेपछी विनियमावली संशोधन समितिका संयोजक रमेश लेखकले सुझावलाई सकारात्मक रुपमै लिएको तर पार्टीको शुभेच्छुक बन्ने, सबै कुराको आश पनि गर्ने अनि पार्टीको आचारसंहिता चाहि मान्दिन भन्नु कतिको न्यायोचित हुन्छ ? प्रश्न गरे। 

केन्द्रीय सदस्य प्रदिप पौडेलले ट्रेड युनियन कांग्रेस अन्य भातृ तथा शुभेच्छुक संस्था भन्दा फरक प्रकृतिको संस्था भएकोले,आएको सुझावलाई सकारात्मक रुपले लिएको र अझै पुनर्विचार गर्ने आश्वासन दिए। 

यसैगरी यस विषयमा पेशागत शुभेच्छुक संस्थाहरुबिच  समान धारणा  बनाई अगाडि बढ्ने उदेश्यले ट्रेड युनियन कांग्रेसले अन्य पेशागत शुभेच्छुक संस्थाहरुलाई समेत शुक्रबार बैठकमा डाकिएको केन्द्रीय सदस्य एवं प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ