arrow

एमालेको छुट्टै छलफल, निरीह देखिए प्रचण्ड 

बालुवाटारमा धुम्बाराही हेडक्वार्टरको बैठक, धङधङी बल्खुको, तरंग देशैभर 

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
ncp-sachibalaya.jpg

काठमाडौं । पार्टी एकीकरण भएको १४ महिनासम्म पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको बाँकी कामलाई पूर्णता दिन सकेको छैन । 

गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकता हुँदा ३ महिनाभित्रै पूर्ण एकता गर्ने भनिएको थियो । तर त्यो दावी अहिलेसम्म पूरा भएको छैन । 

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने दावी गरिएको छ । 

यसका लागि आइतबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्दैछ । यो बैठकबाटै विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

उनले कतिपय विषयमा सहमति जुटिसकेको र केही विषयमा सहमति जुट्न बाँकी रहेको भन्दै सम्भवतः सचिवालय बैठकले बाँकी कामको टुंगो लगाउने समेत बताएका छन् । 

तर पार्टी मुख्यालय धुम्बाराहीमा बस्नुपर्ने बैठक बालुवाटार बस्दै आएकामा बल्खु (तत्कालीन एमालेको मुख्यालय) कार्यालयकै धङधङी बढी भएको आरोप लाग्न थालेको छ । 

महत्वपूर्ण मानिएका विभागमा तत्कालीन एमालेका नेताहरुकै हालीमुहाली चलेपछि यतिबेला पेरिसडाँडा (तत्कालीन माओवादीको मुख्यालय) स्तव्ध भएको बुझ्नामा आएको छ । 

जुटेको सहमति अनुसार संगठन विभागको प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र रहने सहमति जुटेको बताइएको छ । 

स्कुल विभागमा भने तत्कालीन एमालेबाट ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठको दावी रहेको छ । फेरि पनि हावी भने पोखरेल नै रहेको बुझिन्छ । 

एमालेको छुट्टै छलफल
आइतबार सचिवालय बैठक बसेर सबै विभाग र आयोगको टुंगो लगाउने दावी भइरहँदा पूर्व एमालेको छुट्टै बैठक शनिबार पनि बसेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको नेतृत्वमा बसेको बैठकमा एमालेका तर्फका सबै सचिवालय सदस्यहरु सहभागी रहेका थिए । 

यसरी गोप्य बैठक गत मंगलबारदेखि धेरै पटक बस्दै आएको छ । पार्टीभित्र बलियो पकड बनाएर त्यसपछि सरकार मिलाउन लाग्ने भन्दै ओलीले विद्रोही बनेर निस्केका गौतम, नेपाल र खनाललाई फकाउन सफल भएको स्रोतको दावी छ । 

एमालेका तर्फबाट सचिवालय सबै सदस्यले संगठन पाउने भए पनि अहिलेसम्म महासचिव विष्णु पौडेललाई दिने कुनै संगठन वा विभाग फेला परेको छैन । 

स्रोतका अनुसार सचिवालयमा रहेका अध्यक्षद्धय र महासचिवले विभागको जिम्मेवारी नलिने विषयमा मोटामोटी सहमति भएको थियो । तर अहिले पौडेललाई पनि जिम्मेवारी दिन खोजिँदा प्रचण्डलाई कुन भूमिका दिने भन्नेबारे चर्चा चलिरहेको छ । 

निरीह देखिए प्रचण्ड 
प्रचण्ड निरीह देखिएका छन् । उनमा खासै उत्साह पाइँदैन । उनले ओलीको चर्को आलोचना गर्र्दै आए पनि पार्टीभित्र भागबण्डाको सबालमा पकड जमाउन नसकेको आरोप छ । 

ओली नेतृत्वको सरकारको विरोध गर्ने बेलामा तत्कालीन एमालेका नेताहरुलाई साथ दिएका प्रचण्डलाई अहिले भने एक्लो भएको महसुस भइरहेको तत्कालीन माओवादीका एक नेताले बताए । 

उनका अनुसार एमालेका नेताहरुलाई अगाडि सार्ने काम प्रचण्डले गरे पनि अहिले भने उनीहरु एक ढिक्का हुन खोजेको देखिएको छ । उनले असन्तुष्टी पोख्दै भने, ‘अप्रत्यासित रुपले लगातार बैठकमा बसेका छन्, यो त हाम्रो पनि अपमान भयो, अझै पनि गुटलाई मजबुद पार्ने खालको मनस्थिति देखियो ।’

पूर्व एमालेबाट विभाग र आयोगको प्रमुख बन्नेहरुको नामावली तयार भए पनि प्रचण्डले भने तत्कालीन माओवादी केन्द्रको भागमा परेको विभाग प्रमुखको नामावली टुंगो लगाउन सकेका छैनन् । 

विभाग र आयोगको प्रमुख बन्ने आकांक्षीको संख्या धेरै हुँदा नाम टुंगो लाग्न नसकेको बताइएको छ । त्यसो त एकीकरण भएको लामो समय बितिसक्दा समेत प्रचण्डले अध्यक्षको हैसियतमा निर्वाह गर्ने भूमिकाको बारेमा समेत स्पष्ट हुन सकेको छैन । ती माओवादी निकट सदस्यले भने, ‘आफूले पनि भूमिका लिन सक्नुभएन हामीलाई पनि जिम्मेवारी दिन सक्नु भएन ।’

एकीकरणपूर्व अध्यक्ष ओलीले सरकार र अध्यक्ष प्रचण्डले पार्टीको जिम्मेवारी लिने सहमति भएको थियो । तर एकीकरणको १४ महिना बितिसक्दा समेत प्रचण्डको भूमिका तोकिएको छैन । 

प्रचण्डले यसअघि सार्वजनिक कार्यक्रममा भने कि सत्ता कि पार्टी चलाउन पाउनु पर्ने बताउँदै आएका छन् । ओलीबाट पटक पटक धोका पाएपछि उनले एकता गर्दाको सहमति समेत सम्झाउँदै आएका छन् । 

अहिले सचिवालय बैठकको निर्णयको प्रतिक्षा भइरहँदा देशैभर तरंग उठेको छ । बालुवाटरमा धुम्बाराहीको बैठक बसे पनि पेरिसडाँडाँभन्दा बल्खुकै प्रभाव बढी रहेको स्पष्ट छ । 

त्यो धङधङीले संगठन विभाग खोजेका प्रचण्ड खेमाका रामबहादुर बादललाई कस्तो प्रभाव पर्ला ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ