arrow

'ओलीराज'मा औषधिको पराश्रय : उपकरणभन्दा तयारी औषधिको आयात आकाशियो

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
madician-industry.jpg

काठमाडौं । मानिसको लागि सबैभन्दा अत्यावश्यकीय औषधि हामी देशी विदेशी कस्ता प्रयोग गर्दैछौं ? व्यापारघाटाले आकाश छोएको अहिलेको परिस्थितिमा हाम्रो औषधिको अवस्था पनि चिन्ताजनक स्थितिमा पुगेको छ । दुई तिहाई मत प्राप्त केपी ओली नेतृत्वको सरकारले व्यापारघाटालाई नियन्त्रण गर्न नसक्दा औषधिमा समेत दिनप्रतिदिन पराश्रय बढ्दै गएको छ ।  

औषधि व्यवस्था विभागका अनुसार अहिले १२३ वटा संस्थाहरु औषधि आयातको लागि सूचीकृत भएका छन् । यसमध्ये केही संस्थाहरुले औषधि आयात गर्ने गरेका छैनन् । त्यस्तै, ७८ वटा संस्थाहरु औषधि उत्पादन गर्नको लागि दर्ता भएका छन् । यसमा पनि सबै कम्पनीहरुले उत्पादन गर्ने गरेका छैनन् । उत्पादन भन्दा आयात धेरै भएजस्तै यहाँ खपत हुने औषधिहरुमा पनि स्वदेशी भन्दा विदेशी उत्पादनहरु नै धेरै रहेको मान्न सकिन्छ । 

नेपाललाई काहिँकतै जडिबुटीहरुको देश भनेर पनि चिन्ने गरिएको छ । एक वर्ष अघि यही समयको औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा वार्षिक रूपमा ३६ अर्बबराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।

यो सरकारी तथ्यांक हो । तर, व्यवसायीहरुले भने यसभन्दा माथि उठेर नेपालमा ७० अर्ब बराबरको औषधिको बजार रहेको बताउने गरेका छन् । यो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालभित्र कूल ३० अर्ब ११ करोड रुपैयाँको औषधि आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विभागले ३६ अर्बको औषधि खपत हुन्छ भनेको समयमा राष्ट्र बैंकको तथ्यांक हेर्दा २७ अर्ब ४ करोड रुपैयाँ आयात भएको थियो । यसको अर्थ कूल खपतको ७५ प्रतिशत औषधि आयात भएको देखिन्छ । 

नेपालमा अधिकांश औषधिहरु भारतबाट आयात हुन्छ भने भारत र चीन बाहेकको तेस्रो मुलुकहरुबाट आयात हुने औषधिहरुको हिस्सा तेस्रो स्थानमा रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो ११ महिनाको विवरण अनुसार भारतबाट मात्रै २३ अर्ब रुपैयाँको औषधि आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यो ६ प्रतिशतले बढी हो । चीनबाट तयारी औषधिहरु १ अर्ब रुपैयाँ बराबरको आयात भएको राष्ट्र बैैंकले जनाएको छ । त्यसबाहेक तेस्रो मुलुकबाट ६ अर्ब १ करोड रुपैयाँको औषधि आयात भएको छ । 

यसरी औषधि आयातको अवस्थालाई विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा तेस्रो मुलुकबाट आउने औषधिको हिस्सा ३० प्रतिशतले बृद्धि भएको छ भने चीनबाट आयात हुने औषधिको हिस्सा ३६ प्रतिशतले बृद्धि भएको छ । 

औषधि बनाउने उपकरणमा भारी गिरावट
कुनैपनि देशले आफैं औषधि बनाउनको लागि औषधि बनाउने उपकरणहरु आयात भएको भए नेपालकै उत्पादनले केही समयमा आत्मनिर्भरताको बाटो अँगाल्ने अनुमान गर्न सकिन्थ्यो । तर, अवस्था त्यो भन्दा धेरै बदलिएको छ । चीन र तेस्रो मुलुकबाट भारी मात्रामा तयारी औषधिहरु आयात गरेको सरकारले तेस्रो मुलुकबाट ल्याउने गरेको औषधि तयार पार्ने उपकरणहरुको आयात ऋणात्मक अवस्थामा छ । 

राष्ट्र बैंककै तथ्यांक अनुसार यो ११ महिनामा चीनबाट मात्रै १ अर्ब ४१ करोड रुपैयाँको सामान आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा जम्मा ०.६ प्रतिशतले बढी हो । तर, तेस्रो मुलुकबाट ल्याउने औषधिका उपकरणहरुको आँकडा २६ प्रतिशतले खस्किएको छ । अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिकै समयमा ७ अर्ब रुपैयाँको सामान खरिद गरेकोमा यो आर्थिक वर्षको ११ महिनामा ५ अर्ब ९१ करोडको मात्रै सामान आयात भएको छ । यसले पनि नेपालमा औषधि उत्पादनको भन्दा पनि आयातबाट नै बजारको माग धान्ने गरेको पाईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ