arrow

ट्रेड युनियन अधिकार कटौती गर्न खोज्ने आफै समाप्त हुन्छ – बालकृष्ण खाँड  

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
balkrishna3.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दल प्रमुख सचेतक बालकृष्ण खाँडले ट्रेड युनियन अधिकार कटौती गर्न खोज्ने आफै समाप्त हुने बताएका छन् । 

दुई तिहाईको दम्भमा ट्रेड युनियन र नागरिक अधिकार कटाउन खोजे अरुलाई केहि नभए पनि कटौती गर्न खोज्नेको हालत राम्रो नहुने उनको दावी छ ।  

नेपाल टेलिकम वर्कर्स युनियनको २८ औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘विगतमा राणा, पञ्चायत र राजाले नागरिक अधिकार कटौती गर्दा आफै सकेको इतिहास हामीमाझ ताजै छ ।’

उनले नागरिक नै शक्तिको स्रोत भएकोले नागरिक र समाज कमजोर हुदा राज्य कमजोर हुने हुँदा नागरिकको अधिकार कुण्ठित गरी  कमजोर बनाउने कुरामा कांग्रेसको साथ नहुने बताउँदै ट्रेड युनियन लगायत नागरिक अधिकार कटौती गर्ने कुनै पनि ऎन, कानुन र विनियमहरु कांग्रेसले पास हुन नदिने बताए । 

यसैगरी नेपाल टेलिकमले प्रतिस्पर्धी बजार अनुरुप जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न सक्नु पर्ने उनले बताए । नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र प्रसाद यादवले श्रमिकको बलबाट लोकतन्त्र स्थापना भएकोले श्रमिकको अधिकार कटाउने कोही कसैले सपना देखेको छ भने त्यो दिवा सपना मात्र हुने बताए । 

उनले योगदानमा आधारित सामाजिक सुरक्षा संविधानमै व्यवस्था भई ऎन, कानुन बनिसकेकोले यो हक कै रुपमा स्थापित भैसकेकोले केही व्यवसायीले यसबारे जति नै नकारात्मक प्रचार गरे पनि केहि फरक नपर्ने बताए । 

नेपाल टेलिकमका एमडी डिल्लीराम अधिकारीले आउँदो दशैंसम्ममा ७१ स्थानमा फोरजी सेवा विस्तार र संघिय संरचना अनुसार कम्पनीको संरचनालाई लगि गुणस्तरीय सेवा दिन लागिरहेको बताउँदै यसकार्यमा सहयोग गर्न ट्रेड युनियनहरुलाई अनुरोध गरे । 

अपसिनकी उपाध्यक्ष प्रमिला ढुंगानाले अवकाश पछिको रकममा लाग्ने करमा निजामती र सार्वजनिक क्षेत्रमा विभेद रहेकोले तत्काल मिलाउन माग गरिन् । 

कार्यक्रममा युएनआई नेपालका अध्यक्ष शंकर लामिछाने, युनियनका निवर्तमान अध्यक्ष राजेन्द्र दाहाल, आधिकारिक ट्रेड युनियनका अध्यक्ष लगायतले सम्बोधन गरेका थिए । 

वार्षिकोत्सबको अवसरमा युनियनले केन्द्र लगायत विभिन्न छ क्षेत्रमा रक्तदान एवं  विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना गरेको युनियनका महासचिव महेश्वर खड्काले जानकारी दिए । 

उक्त कार्यक्रम युनियनका अध्यक्ष राजेन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ