arrow

नेपाली कांग्रेसको जिम्मेवारी

logo
नवीन्द्रराज जोशी
प्रकाशित २०७६ साउन ७ मंगलबार
nabindra-raj-Joshi-congress.jpeg

बीपी स्मृति दिवसमा सर्वप्रथम नेपाली राजनीतिका जननायक तथा हाम्रा पथप्रदर्शक र प्रेरणाका स्रोत, जसको राजनीतिबाट र जसले अँगालेको सिद्धान्त र आदर्शबाट हामी सबै प्रेरित छौँ र लक्ष्यप्रति स्पष्ट छौँ, उहाँ प्रति श्रद्धासुमन व्यक्त गर्दछौं । 

बीपी र गणेशमानजीबाट प्रेरित भएर मैले बुझेको र सिकेको कुरा नागरिकलाई राजनीतिक, सामाजिक र आर्थिक दृष्टिबाट समग्रमा स्वतन्त्र र अधिकार सम्पन्न बनाउनु नै हो । साथै उदारताको विशाल वृक्ष मुनि प्रत्येक नागरिकको सुरक्षा र प्रतिस्पर्धी एवं क्षमतावान बनाउनु नै राजनीतिक दल र राजनीतिकर्मीको जिम्मेवारी हो । 

तसर्थ आज यसलाई नै मूलमन्त्र मानी राष्ट्रमा देखिएका चुनौतीहरूको सामना गर्नु काँग्रेसको जिम्मेवारी हो भन्ने मलाई लाग्दछ । काँग्रेसले आफ्नो सिद्धान्त र आदर्शलाई व्यावहारिक रूपमा मजबुत बनाउँदै लोकतान्त्रिक प्रक्रिया र अभ्यासलाई अझ परिष्कृत र बलियो बनाउँदै जानु आवश्यक छ । 
नेपाली कांग्रेस एक राजनीतिक दलमात्र नभएर जनताको जीवनको परिपाटी हो । लोकतन्त्रप्रतिको बलिदानी विश्वकै अनुपम उदाहरण हो । मानवमात्रको वैयक्तिक, राजनीतिक तथा आर्थिक स्वतन्त्रताको प्रत्याभूति कांग्रेसले निरन्तर गराउँदै आएको छ । यही नै स्थापनाकाल देखिको मूलमन्त्र भएको कारणले नै स्थापनाको सात दशक सम्म पनि नैसर्गिक स्वतन्त्रताको पक्षपाती कांग्रेसलाई हरेक पिंढीले विश्वास र सद्भाव देखाएका छन् । 

नेपाली कांग्रेस एक राजनीतिक दलको रूपमामात्र नभएर एक सिद्धान्तमा अडिग, आदर्शवादी, सबै वर्ग, तप्का र तहको प्रतिनिधित्व गर्ने र आमनागरिक प्रति समर्पित पार्टी भएका कारणले गर्दा नेता र कार्यकर्ताका साथै यो दलले शुभेच्छुक र समर्थकको व्यापक समर्थन प्राप्त गरेको छ । यसका कारणले काँग्रेस सशक्त राजनीतिक शक्तिको रूपमा जीवन्त छ र रहिरहने छ ।

नेपाली कांग्रेसको नेतृत्वमा आर्थिक समृद्धि तथा लोकतान्त्रिक मूल्य र मान्यताको अभिवृद्धि भएको तथ्य नेपाल कम्युनिष्ट पार्टीको सरकारको गत डेढवर्षको कार्यकालमा नेपाली जनताले अनुभूत गर्न थालेका छन् । जनताको बाँच्न पाउने अधिकार, काम गरेर खान पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रताको अधिकार, गुठी वा अन्य रूपमा संगठनको अधिकार जस्ता विषयमा अहिलेको सर्वसत्तावादी सरकारले जसरी धावा बोलेको छ त्यसले जनतालाई विगतको निर्वाचनमा कम्युनिष्टलाई गरिएको छनौट गलत भएको आभास दिलाएको छ । 

लोकतान्त्रिक सामाजिक पद्धतिमा मात्र छनौटका उच्चतम् अवसरको सिर्जना हुन सक्छ र छनौटका उच्चतम् अवसरले लोकतान्त्रिक परिपाटीलाई सुदृढ बनाउँछ भन्ने विषयमा मतैक्यता बढ्दै गएको छ । अहिले हामी विषम परिस्थितिमा बाँची रहेका छौं । एकातर्फ दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार लोकतन्त्रका आधारभूत मान्यतालाई तहस नहस पार्दैछ र एक आवधिक निर्वाचनको परिणामलाई देशको संविधान, लोकतान्त्रिक राजनीतिक प्रणाली र राज्य संयन्त्रलाई चुनौती दिँदै गलत मार्ग अवलम्बन गरी रहेको छ । 

आज देशको आर्थिक स्थिति डाँवाडोल छ । देश रेमिट्यान्सको भरमा चलेको छ, व्यापारघाटा मात्र होइन चालु खाता घाटा पनि आकासिँदो छ, भ्रष्टाचारी गतिविधिले सीमा नाघेको छ । कर्मचारी तन्त्रलाई भ्रष्टाचार, चाकडी र चाप्लुसीमा लिप्त बनाएर निकम्मा बनाइएको छ । असारे विकासमा जथाभावी खर्च गरिएको छ । 

यसरी लाज पचाएर खर्च गर्दा पनि पूँजीगत खर्चको लक्ष्य प्राप्त हुन सकेको छैन भने बजेटले राजस्व र खर्च दुबैमा लक्ष्य भेटाउन सकेको छैन । स्वदेशी तथा विदेशी लगानी कर्तालाई निरुत्साहित गरिएको छ, देशमा लगानीको वातावारण फिटिक्कै छैन, सेवा प्रवाहको स्थिति निराशाजनक छ, शान्ति सुरक्षाको स्थिति दयनीय छ । दैनिकप्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएर जनता निस्सासिएको अवस्था छ । यस्तो अवस्थामा पनि सरकार समृद्ध नेपालको नारा दिएर जनतालाई गुमराहमा राख्न उद्दत छ । जनता निराश छन् र विकल्पको खोजीमा छन् । 

जनताले खोजेको विकल्प नेपाली कांग्रेसको नेतृत्व हो । यस अवस्थामा मुख्यतः नेतृत्वले आफ्नो घरलाई पूर्ण व्यवस्थित गर्ने, विधानको पूर्ण परिपालना गर्ने र उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने काम गर्नु पर्दछ ।  हामीहरूको अहिलेको जिम्मेवारी भनेको त स्थापनाकाल देखि आज पर्यन्त सान्दर्भिक र गतिशील सिद्धान्त र आदर्श अनुरूप स्पष्टरूपले तयार पारिएका राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रका अल्पकालिन र दीर्घकालिन लक्ष्य र कार्यक्रमहरू लिएर जनताको माझमा जाने हो, यसलाई मजबुत बनाउने हो । यसका लागि एकातर्फ हाम्रा व्यवहार र पार्टी सञ्चालनका तौर तरिका पूर्णरूपमा लोकतान्त्रिक हुनु आवश्यक छ भने अर्को तर्फ हाम्रा समाजवादी आर्थिक नीतिहरू स्पष्ट हुनु आवश्यक छ । 

यदि हामीले अरु राजनैतिक संगठनका प्रभावमा परेर र उनीहरूकै लहलहैमा लागेर बीपी., गणेशमान र कृष्णप्रसाद जस्ता युगान्तकारी नेतृत्वले तयार पारेका सिद्धान्त तथा व्यवहारका प्रतिमानलाई विस्थापित गर्न खोज्याँै भने हामीलाई त्यो भन्दा बढी प्रत्युत्पादक अवस्था अरु कुनै हुने छैन ।
समृद्ध, आधुनिक र न्यायपूर्ण समाज निर्माण गर्ने नेपाली काँग्रेसको घोषित नीति हो । यसका लागि हामीले बृद्धि र समानतालाई संगसंगै लैजानु आवश्यक छ । एकातर्फ उच्च आर्थिक बृद्धिको लागि प्रशस्त मात्रामा निजी लगानी गर्नु पर्ने आवश्यकता छ भने समतामूलक र न्यायपूर्ण समाज निर्माणको पनि त्यति नै आवश्यक छ । अर्को अर्थमा भन्नु पर्दा सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएर जाने परिस्थितिको निर्माण नेपाली काँग्रेसले गर्नु पर्दछ ।

सन् १९९० पछि नेपाली काँग्रेसले लागू गरेका अर्थिक उदारीकरणका नीतिहरूले देशको आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान गरे । आर्थिक उदारीकरणका ती नीतिहरूका दीर्घकालिन प्रतिफलको श्रेय अन्य पार्टीहरूले पनि लिने गरेका छन् । 

मुलुकको सबैभन्दा प्रभावशाली र विशाल एवं सिद्धान्त, चरित्र र आदर्शका हिसाबले सबल पार्टी नेपाली कांग्रेस भित्र अहिले उदारवादी लोकतन्त्र वा नियन्त्रित लोकतन्त्रको बहस सिर्जना भएको छ । नेपाल र नेपालीले अत्यन्त रुचाएको जननेता विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नेपाली कांग्रेसको आदर्शलाई रूपान्तरण गर्दा मुलुक र मुलुकवासीलाई कति हितकारी हुन्छ र कांग्रेस र लोकतन्त्रप्रेमीहरूलाई कति सान्दर्भिक र उचित हुन्छ ? व्यापक चिन्ता र चिन्तनको विषय बन्न पुगेको छ । 

यसै सन्दर्भमा कांग्रेसलाई के र कस्तो बनाउने सम्बन्धमा यो अवधारणा पत्र प्रस्तुत गरिएको छ र छलफलमा सहभागी भई अहिले शुरु भएको बहसलाई एउटा निश्चित गन्तव्य निर्धारण गर्न यहाँहरूका सुझावहरू महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

किन आरम्भ भयो बहस ?
वि.सं. २००३ देखि कांग्रेसले अँगालेको लोकप्रिय आदर्श राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवाद वि.सं. २०१५ देखि सम्पन्न भएका प्रायशः निर्वाचनहरूमा नेपाली जनताले रुचाएको आदर्श हो । एकादुई निर्वाचन बाहेक कांग्रेसको सिद्धान्तले पराजय बेहोर्नु परेको थिएन । वि.सं. २०७४ को निर्वाचनमा पराजय भोगेपछि भने कुनै कोणबाट कांग्रेसको मान्यतामा अनि कुनै कोणबाट पार्टी सञ्चालनको तौरतरिकामा परिवर्तन गर्ने बहसहरू सतहमा देखिएका छन् । पराजयका अन्य महत्वपूर्ण सूचकहरूमा अध्ययन, मनन र विश्लेषण नगरी पार्टीको मूलभूत मान्यतामै केन्द्रित हुँदा त्यसबाट उत्पन्न हुने नकारात्मक परिणामहरूका बारेमा सजग हुन जरुरी देखिन्छ ।

बहसका दुई धार
कार्यकर्तामा आधारित (क्याडर बेस्ड) संगठन निर्माण र लेबीका आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्ने पद्धतिका कारण नेपालका कम्युनिष्टहरू बलियो हुँदै गएको एक पक्षको बुझाइ छ । नेतृत्वको निर्देशनमा चल्ने संगठन (डिक्टेटरसिप) नै अनुशासित हुन्छ र नेतृत्वप्रतिको बफादारी (लोयल्टी) ले मात्र संगठनमा क्रियाशीलता आउँछ भन्ने सोचाइ नेपाल कम्युनिष्ट पार्टीको हालैको विजयका कारण कतिपयमा विकसित हुन पुगेको देखिन्छ । ठूलो बन्न पुगेको कम्युनिष्ट पार्टीसंग प्रतिस्पर्धा गर्न कम्युनिष्टकै शैलीबाट मात्र सम्भव छ भन्ने धारणा केही साथीहरूमा रहेको छ ।

अर्कोतर्फ कांग्रेसको मूल्य र मान्यता परिवर्तन होइन कि आदर्श सबलीकरण गर्नु पर्दछ भन्ने सोच रहेको पाइन्छ । सात दशकभन्दा अघिदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा ख्याति कमाएको नेपाली राजनीतिज्ञ विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नु भएको नेपालका लागि सबैभन्दा उपयुक्त र हालको परिवेशमा समेत उत्तिकै सान्दर्भिक नेपाली कांग्रेसको आदर्श आजका निमित्त मात्र होइन भोलिका लागि समेत सान्दर्भिक नै रहने छ । 

समय, परिवेश र जनताका चाहना बमोजिम यसमा केही संशोधनमात्र आवश्यक छ । निर्वाचनमा हारको कारण नेपाली कांग्रेसको आदर्श उपयुक्त नभएर होइन कि कांग्रेसको नीति, सिद्धान्त र आदर्शको परिपालना कमजोर हुँदै जानु हो ।

नेपाली कांग्रेसमा वैचारिक बहसको जीवन्तता हराउँदै जानु, विचारमा चाहिने चिन्तन–मनन र तदनुरूपको कार्य हुन नसक्नु नै नेपाली कांग्रेसको कमजोरी बन्न पुगेको हो । विचारको राजनीति सबल हुनु पर्नेमा विचार भन्दा अन्य अराजनीतिक विषयहरूले कांग्रेसको राजनीतिलाई प्रभावित पार्दै लगेकाले नै अहिलेको अवस्था उत्पन्न भएको हो । तसर्थ, कांग्रेसको विचार र आदर्शलाई नै प्रबल बनाएमा भोलिका दिनमा सशक्त कांग्रेस निर्माण गर्न सकिन्छ ।

कांग्रेसले ध्यान दिनु पर्ने क्षेत्र
कांग्रेसले आफ्ना समर्थक, मतदाता र शुभचिन्तक को को हुन्, आफ्नो मूल्यमान्यता के हो, देश र जनताको भविष्यका लागि कांग्रेसले के गर्छ भन्ने जस्ता कुराहरूमा विशेष ध्यान दिई नीति निर्माण गर्दै कार्यान्वयनमा उत्रनु पर्दछ । आफ्नो कार्यदिशा र कार्यक्षेत्र प्रष्ट नहुँदासम्म अपेक्षित सफलता हासिल गर्न कठिन पर्दछ ।

कांग्रेसका शुभचिन्तकहरू
नेपाली कांग्रेसलाई स्थापनाकाल देखि नै विभिन्न तह र तप्काका नेपाली जनताको साथ, समर्थन र सहयोग मिल्दै आएको छ । सरसर्ती हेर्दा निम्नानुसारका नागरिकहरूमा केन्द्रिकृत हुन आवश्यक छ ।
क) नेपाली कांग्रेसको सदस्यता लिई गाउँ गाउँमा नेपाली कांग्रेसको प्रभावलाई विस्तार गर्न सक्रिय क्रियाशील तथा साधारण सदस्यहरू ।
ख) लोकतन्त्रलाई आफ्नो आदर्श मान्ने सबै नागरिक ।
ग) उदारवादी समाजवादीहरू ।
घ) सबै नागरिकको समान व्यक्तिगत अधिकार हुनु पर्दछ भन्ने मान्यता राख्नेहरू ।
ङ) अति विपन्न तथा अति पिछडिएका नागरिक, जसको समृद्धिबाट मात्र देशको उज्वल भविष्यको कामना गर्न सकिन्छ ।
च) आफ्नो शारीरिक एवं बौद्धिक क्षमताको अधिकतम उपयोग गरी व्यक्तिगत एवं सामूहिक विकासको चाहना राख्नेहरू ।
छ) समाजका अन्य वर्ग जसले व्यक्तिगत र समाजको प्रगति चाहन्छ ।

उपर्युक्त नागरिकहरू संग निरन्तर सम्वाद गर्ने, कांग्रेसका नीति तथा कार्यक्रमहरू यिनै वर्गका लागि केन्द्रित गर्ने र कांग्रेस देश र जनताका निमित्त सक्रिय रहने पार्टी हो भन्ने प्रत्याभूति दिलाउने तर्फ सक्रियता बढाउनु पर्दछ ।

यसका लागि प्रथमतः कांग्रेसका सबै सदस्यहरूलाई क्षमता अनुसारको कुनै न कुनै भूमिका प्रदान गर्नु पर्दछ । सबैलाई समान अवसर प्रदान गर्दै देश र जनताले भरोसा गर्न सक्ने सक्रिय एवं क्षमतावान नेतृत्वले पार्टी हाँक्नु पर्दछ । भरोसायोग्य पार्टी हुनका लागि कांग्रेसलाई सुसंगठित र द्वन्द्वरहित बनाउँदै आन्तरिक र बाह्य दुवै रूपमा लोकतान्त्रिक नमूनाको पार्टीका रूपमा विकसित गराउनै पर्दछ । पार्टीका सबै अवयवहरूलाई उचित सम्बोधन गर्न सक्ने नीति निर्माण गरी कार्यान्वयन गर्नै पर्दछ । नीति उदारवादी मूल्यमान्यता र ढाँचा (लिबरल भ्यालुज् एण्ड एटिच्यूड) को हुनु पर्दछ । उदारवादी सोचले नै सँधै लोकतन्त्रलाई समर्थन गर्दछ भन्ने हामीले ख्याल राख्नु पर्दछ ।

कांग्रेसको मूल्यमान्यता
कांग्रेसको आत्मा भनेकै लोकतान्त्रिक संस्कृति, व्यवहार र पद्धति हो । नियन्त्रणमा होइन, आफै जिम्मेवार एवं अनुशासित हुने र आफ्नो संस्थाका साथै देशलाई नै सुव्यवस्थित बनाउने लक्ष्य कांग्रेसीको हो । अव्यवस्थाको अन्त्य गर्दै हरेक दृष्टिले सुव्यवस्थाको पक्षमा लड्दै देश र जनतालाई समृद्ध तुल्याउने अभियान कांग्रेसको हो । हामी जात, धर्म, वर्ण आदिका आधारमा भेद देख्दैनौँ, गर्दैनौँ र सबै नेपाली एक ठाउँमा उभिएर नेपाल र नेपालीको हित चिताउने सबैलाई एकबद्ध गराई नेपाली माटोलाई माया गर्ने नागरिक उत्पादन हाम्रो ध्येय हो । नीतिगत र आर्थिक दुबै प्रकृतिका भ्रष्टाचार निर्मूल गर्ने हाम्रो प्रयास हो । यिनै मूल्यमान्यतामा उभिएर चाँडोभन्दा चाँडो समुन्नत नागरिक, समृद्ध देश हाम्रो परिकल्पना हुनु पर्दछ ।

देश र जनताको भविष्य निर्माण कसरी ? 
मान्छेका इच्छा र आवश्यकताहरूलाई बढी भन्दा बढी सम्बोधन गर्ने प्रयास गर्दै प्रत्येक जनताका सुख–दुःखमा साथ दिन कांग्रेस हरदम तयार रहनु पर्दछ । जनताको हृदय छुने काम गरेर तिनका समस्याहरू समाधान गर्दै जाने र लोकतन्त्रको संरक्षण गर्दै जनताको पक्षमा काम गर्ने सरकार निर्माण गरी देश र जनताको भविष्य सुनिश्चित गर्न तर्फ कांग्रेस अग्रसर हुनु पर्दछ ।

कांग्रेसबाट जनताले गरेका अपेक्षा
कांग्रेसले जनतालाई के दिन सक्छ त्यो अझ प्रष्ट हुनु पर्दछ । हिजो देखेका कमी कमजोरीलाई अनुभूत गरेका छौँ र जनताको भावनालाई सही प्रतिनिधित्व निरन्तर रूपमा गर्दै विश्वास बढाउँदै जान आवश्यक छ । कांग्रेसको नेतृत्व कस्तो हुने, पार्टीको गुटबन्दी अन्त्यका लागि कस्तो प्रयास गर्ने आदिका बारेमा कार्यरूपमा खुल्नै पर्दछ । देश र जनताको हृदयमा बस्न रणनीतिक योजना तयार गरी कार्यान्वयन गर्ने र समय समयमा मूल्याङ्कन गर्ने अनि समयको गतिसंगै त्यसलाई अगाडि बढाउने, परिमार्जन गर्ने कार्यमा कांग्रेस सजग रहेको हेर्न जनताले चाहेका छन् । देशका प्राथमिकता के के हुन् र कांग्रेसका प्राथमिकता के के मा छ भन्ने प्रष्टिनु पर्दछ । समग्रमा भन्दा जनताले विश्वास गर्न सक्ने पार्टी कांग्रेस बनोस् भन्ने आम लोकतन्त्रवादीको चाहना छ । भोलिको भरोसाका मूल केन्द्र कांग्रेस बनोस् भन्ने जनताको अपेक्षा छ, त्यसलाई हामीले पूर्ति गर्नु छ । 

अन्त्यमा,
नेपाली कांग्रेसलाई देश र जनताको ढुकढुकीमा रहने पार्टी हामी सबै मिलेर बनाउनु छ । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अरु कसैले होइन, नेपाली कांग्रेसले मात्र संरक्षण–सम्बद्र्धन गर्दछ भन्ने प्रमाणित गर्नु पर्दछ । बहुमत पाए कम्युनिष्टहरू देश र जनता माथि कस्ता कस्ता अपराध गर्न अग्रसर हुँदा रहेछन् भन्ने जनतालाई प्रष्ट्याउँदै नेपाल र नेपालीको मुहार बदल्न कांग्रेस मात्रै सक्षम छ भन्ने छाप छोड्दै आगामी निर्वाचनमा बहुमत सहितको ठूलो पार्टी बनाउन हामी सबैले हातेमालो गर्नै पर्दछ । यसका लागि पार्टीको समयमै महाधिवेशन र भ्रातृ एवं शुभेच्छुक संघ संस्थाहरूको नियमित अधिवेशनको सुनिश्चितता गर्नै पर्दछ ।

जननेता विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवाद हाम्रा आदर्श हुन् । उदारवाद, लोकतन्त्र तथा स्वतन्त्रताका समर्थकहरू सबैलाई लोकतान्त्रिक मूलधारमा समाहित गर्ने गरी कांग्रेसले नीतिगत रूपमा अल्पकालिन र दीर्घकालिन नीति तर्जुमा गर्नु आवश्यक छ ।
(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ