arrow

 देशैभर वर्षा, यसो भन्छ मौसम पूर्वानुमान महाशाखा 

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
weather.jpg

काठमाडौँ । मनसुन सक्रिय रहेकाले देशभर वर्षा भइरहेको छ । यो क्रम बुधबार र बिहीबार पनि रहने छ । देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     

हाल देशभर मनसुनी वर्षा गराउने बादल विकसित भैरहेको तथा अधिकांश स्थानहरुमा वर्षा भैरहेको छ । विशेषगरी तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएको हुनाले सतर्क रहन आग्रह गरिएको छ । 
     
 मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।     
     
 महाशाखाले बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। यस्तै देशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।     
     
 यस्तै बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।     
     
 वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।     

काठमाडौं उपत्यकामा पनि वर्षाले असर पारेको छ । मंगलबार राति पनि वर्षा भएको थियो ।

मंगलबार धरानमा सबैभन्दा बढी ८६.१ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो भने सिमरामा ७१.४ मिलिमिटर वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ