arrow

घुस खाएरै दिइयो सगरमाथा चढेको प्रमाण पत्र

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
sagarmathas.jpg

काठमाडौं । घुस खुवाए पछि के हुँदैन ? सायद अचम्म लाग्ला, सगरमाथा आरोहण गरेको प्रमाणपत्र पनि घुस खुवाएर लिन पाइन्छ । घुस खुवाएर सगरमाथा आरोहण गरेको आसंकामा केही पर्वतारोहीमाथि पर्यटन मन्त्रालयले छानविन सुरु गरेको छ । पर्यटन विभागको छानविन पछि मन्त्रालयले छानविन सुरु गरेको हो । नक्कली सगरमाथा आरोहणबारेमा छानविन  प्रक्रिया मन्त्रालयमा पुगेको विभागले जनाएको छ ।

सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत(लियोजन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका एक आरोहीलाई सगरमाथा आरोहण गरेको प्रमाणित गरिदिएका हुन् ।  चुचुरोमै नपुगेका आरोहीलाई चुचुरामा पुगेको भनी प्रमाणित गर्ने लियोजन अफिसर सामान्य कर्मचारी मात्र होइनन, नेपाल प्रहरीका इन्सपेक्टर डिल्लीबहादुर थापा हुन् ।

चुचुरोमै नपुगे पनि सगरमाथा आरोहण गरेको प्रमाण पत्र लिन सफल भएका भारतीय पर्वतारोही नाहिता मञ्जुर हुन । लियोजन अफिसर थापाको सिफारिशमा पर्यटन विभागले  मञ्जुरलाई सगरमाथा आरोहण गरेको प्रमाण पत्र समेत दिएको छ । प्रमाण पत्र दिइसके पछि छानिवन प्रक्रिया अघि बढेको हो ।

विभाग अहिले उक्त प्रमाण पत्र रद्द गर्ने तयारीमा छ । छानविन पछि प्रमाण पत्र रद्द गरिने विभागका महानिर्देशक डण्डुराज घिमिरिको भनाइ छ । चुचुरोमै नपुगे पनि मञ्जुरले चुचुरोमा पुगेको प्रमाण पत्र लिन सफल भएका हुन् ।

सम्पर्क अधिकृतले प्रमाणित गरेपछि उनले सगरमाथाको चुचुरोमा पुगेको प्रमाण पत्र लिन पर्यटन विभागमा निबेदन पेश गरेका थिए ।  विभागले प्रमाण पत्र दिए पछि उनको आरोहणकोबारेमा आरोहण टोलीमा गएका अन्य सदस्यहरूले प्रश्न उठाएका थिए ।  यसपछि विभागले मञ्जुरले सगरमाथाको चुचुरोमा पुगेको-नपुगेको विषयमा अनुसन्धान सुरु गरेको हो ।

मञ्जुरलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्ने सम्पर्क अधिकारी थापा भने वेस क्याम्पसम्म मात्र पुगे । अधिकांश सम्पर्क अधिकृतहरू वेस क्याम्पसम्म नै पुग्दैनन् । थापा भने वेस क्याम्पसम्म पुगे ।  थापा हाल काभ्रे जिल्लामा कार्यरत छन् । मञ्जुरलाई सगरमाथामा लैजाने एजेन्सी स्नो होराइजन हो । मञ्जुरको टोलीमा ११ जना सदस्य थिए । युएइका एक आरोहीले पनि यस्तै नक्कली दावी गरेका विभाग स्रोतको भनाइ छ । तर उनलाई विभागले प्रमाण पत्र दिएको छैन ।  मञ्जुरले विभागमा पेश गरेको फोटो र अन्य प्रमाणको बारेमा छानविन भइरहेको विभागको भनाइ छ । विभागका एक कर्मचारी भन्छन,‘मञ्जुरको सगरमाथा आरोहण नक्कली हो भन्ने करिब करिब पुष्टि भइसकेको छ । अब यस घटनामा कस कसलाई जिम्मेवार देखाउने भन्ने प्रश्न ठूलो हो ।’

 ६ हजार ५सय मिटरभन्दा अग्ला हिमाल आरोहणमा जान आरोहण टोलीले एक जना सम्पर्क अधिृकत लैजानु पर्ने कानुनी व्यवस्था छ । सम्पर्क अधिकृत सरकारी कर्मचारी हुनु पर्छ । सम्पर्क अधिृकतले सम्बन्धित आरोही चुचुरोमा पुगेको-नपुगेको प्रमाणित गर्ने गर्छन् । सम्पर्क अधिकृतले प्रमाणित गरे पछि मात्र उसले आरोहण पूरा गरेको प्रमाण पत्र पाउछ । चुचुरोमा पुगेको प्रमाणित गर्न सम्बन्धित आरोहीले फोटो पेश गर्नु पर्ने कानुनमा व्यवस्था छ ।
विभागले यस वर्षको वसन्तकालीन मौसममा ३सय ८१ जनालाई सगरमाथा आरोहण गर्न अनुमति दिएको थियो । ती मध्ये २सय १३ आरोहीले सगरमाथा आरोहणमा गएको रेकर्ड विभागसँग छ । आरोहणमा पुगेका आरोहीलाई विभागले प्रमाण पत्र दिन सुरु गरेको छ ।

विभागका अनुसार चुचुरोमा पुगेको प्रमाण पेश गरेपछि विभागले प्रमाण पत्र दिन सुरु गर्छ । यस वर्ष सम्पर्क अधिकारीको भुमिकाको विषयमा प्रश्न उठे पछि सरकारले एक महिना अघि पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । सो समितिले अहिले काम सुरु गरीरहेको बताइएको छ ।

एक जना लियोजन अफिसरले  एक पटक  ३ देखि साढे ३लाख सम्म रुपैयाँ पाउछन् । चुचुरामै नपुगेका आरोहीलाई चुचुरामा पुगेको प्रमाणित गर्ने लियोजन अफिसले पाउने रुपैयाँको सम्बन्धमा भने सहमतिबाटै टुंगो लगाइन्छ ।–स्रोतले भन्यो । तर बेस क्याप्म पुगेका  एक जना लियोजन अफिसर भन्छन, ‘यसमा लियोजन अफिर निर्दोष पनि हुन सक्छन् । आरोही चुचुरामो पुगेको प्रमाणित गर्ने वैज्ञानिक विधि हामीसँग छैन । आरोहीले खिचेको फोटो र उनिसँग गएका अन्य साथीहरुको विश्वास गरेर प्रमाणित गर्नु पर्ने हुन्छ ।’ यतिसम्म कि, आरोहीले आफूले सगरमाथा आरोहण गरेको देखाउन चुचुरोमा गएको फोटो खिचे मात्र पुग्छ । कानुन अनुसार चुचुरोमा पुगेको भिडियो खिच्नु पर्ने बाध्यता आरोहीलाई छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ