arrow

ठीक छैन मौसम, दर्जनौ मुख्य सडक अवरुद्ध, कहाँको अवस्था कस्तो ? 

सरकारी तथ्यांकअनुसार असार अन्तिमदेखि बाढी पहिरोले १०८ जनाको मृत्यु, ३३ बेपत्ता, ४६ घाइते 

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
flood4.jpg

काठमाडौँ । मनसुनले देशभरकै मौसम अस्तव्यस्त पारेको छ । देशका अधिकांश भागमा वर्षा हुने भएकाले मौसमविद्हरुले सतर्क रहन आग्रह गरेका छन् । 

भारी वर्षा भइरहेका स्थानमा पुनः थोरैमात्र वर्षा हुँदा पनि खतरा बढी हुने भएकाले त्यस्ता क्षेत्रमा सतर्क रहन उनीहरुले आग्रह गरेका छन् । त्यस्ता क्षेत्रमा बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका हुन् । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले बिहीबार बेलुकीसम्मै देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । विशेषगरी तराई र चुरेको अधिकांश भूभाग तथा पहाडका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
     
अहिले देशैभरि नै मौसममा बदली रहेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै छ । जसका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ । मनसुनको न्यूनचापीय रेखा अझ दक्षिणतिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुनेछ ।     

मौसमविद् मीनकुमार अर्यालका अनुसार पूर्वी तराई र थोरै मध्य पहाडी तथा पश्चिमका केही भूभागमा बिहीबार बिहान पनि बर्षा भइरहेको छ । अन्य क्षेत्रमा मौसममा बदली रहेको छ । 

उनले अब मौसममा सुधार आउन थालेको बताए । तराईको बोर्डरलाइनमा बिहीबार राति बढी वर्षा हुनेछ । अबका दिनमा थोरै वर्षा परे पनि नदी किनारतिर असर गर्ने र अन्य ठाउँमा खासै समस्या नहुने बताए । 

     
 बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुनेछ भने पश्चिम तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । 

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारीको सम्भावना रहेको जनाइएको छ ।     

बुधबार विरेन्द्रनगरमा १५२.५ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै सिमरामा १४५ मिलिमिटर वर्षा भएको थियो । 

दर्जनौं मुख्य सडक अवरुद्ध 
लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका दर्जनौं मुख्य सडक अवरुद्ध भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन भन्दा बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।

 ग्रामीण इलाकामा जथाभावी खनिएका सडकमा बाढी र पहिरोले बढी क्षति पुर्याएको छ । यी सडकहरु पुनः चालु हुन समय लाग्नेछ । 

हालसम्म १०८ जनाको मृत्यु 
गृहमन्त्री रामबहादुर थापा बादलले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उनले बताए ।      
     
प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको बुधबार साँझ जवाफ दिँदै उहाँले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट सङ्कलन गर्ने कार्य भइरहे पनि प्रारम्भिक सूचनाअनुसार हजारौँ घरमा क्षति पुगेको बताए । 
     
 मनसुनी वर्षा मुलुकभर नै भए पनि बाढी, पहिरो र डुबानबाट गुल्मी, रौतहटलगायत ३५ जिल्ला प्रभावित भएको उनले जानकारी दिए । गृहमन्त्री थापाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ