arrow

सीमानामा भारतले बनाएको बाँध भत्काउन प्रेम सुवालको प्रस्तावमा गगनको समर्थन

गगनको झटारो गृहमन्त्रीलाई, सुवालको परराष्ट्रमन्त्रीलाई, सत्तारुढ सांसदहरु पानीमाथिको ओभानो 

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
gagan-prem.JPG

काठमाडौं । भारतले सीमा क्षेत्रमा बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेको भन्दै प्रतिपक्षका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

विशेष गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापा तथा नेमकिपाबाट निर्वाचित सांसद प्रेम सुवालले भारतीय बाँधको विषयमा कुरा उठाए । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा दर्ता गराएको ‘बाढी पहिरो र विपद्सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा यो विषयले बढी चर्चा पाएको हो । सत्तारुढ दलका सांसदहरुले अहिलेको डुबानको दोष पूूर्ववर्ती सरकारहरुमाथि थोपर्दै पानीमाथिको ओभानो देखिने प्रयास गरे । 

भारतीय बाँध भत्काउनु पर्छ – सुवाल 
नेमकिपा सांसद प्रेम सुवालले त भारतले अन्तर्राष्ट्रिय नियम मिचेरै सीमाक्षेत्रमा बाँध बनाएको भन्दै भत्काउनु पर्ने माग गरे । 

भारतले अन्तर्राष्ट्रिय कानुन र अभ्यास विपरित नेपालको सीमानामा ५ दर्जनभन्दा बढी बाँध र तटबन्ध बनाएका कारण बर्सेनि नेपालको तराई भुभाग डुबानमा पर्ने र जनधनको क्षति हुने भइरहेको उनको दाबी थियो । 

‘इन्टरनेशनल बाउण्डी वाल्स ट्रटि एक्ट १९९० अनुसार सीमानाको अर्कोतर्फ पानीको सतह थप्ने गरी छिमेकी देशले संरचना बनाउन पाइँदैन’ उनले भने, ‘सन् १९९९ को इण्डिया नेपाल जोइन्ट स्टेण्डिङ अन इण्डिेनटेन्शन प्रोम्बल स्कीमको दशौं बैठकमा सीमारेखा देखि ८ किलोमिटर तल्लो तटिय क्षेत्र र ८ किलोमिटर माथिल्लो तटिय क्षेत्रमा एकतर्फी संरचना बनाउन मिल्दैन’ । 

तर अहिले भारतले नेपालको सीमावर्ती क्षेत्रदेखि ३ चार सय मिटरमा भारतले सडक बाँध र तटबन्ध बनाएको भन्दै सांसद सुवालले, अन्तर्राष्ट्रिय कानुन विपरित भारतले बनाएको बाँध र तटबन्ध भत्काउनु पर्ने माग गरे ।  

दुई तिहाइको वर्तमान सरकारले समेत नेपाली भुमी डुबान रोक्न कुनै कुटनीतिक पहल गर्न नसकेको भन्दै उनले, सरकार भित्री वा काहिरी शक्तिसँग झुक्ने गरेर सार्वभौमिकता गुमाएको आरोप समेत लगाए । 

प्रधानमन्त्री र मन्त्रीहरुले सार्वभौमिकता गुमाएको प्रसंग जोड्नै उनले भने, ‘नेपालका परराष्ट्रमन्त्री गत वर्षको डिसेम्बरमा अमेरिका जानुभो । त्यहाँका समकक्षी सँगको भेटघाटमा नेपालका परारष्ट्रमन्त्री डराउनुभएको तस्वीर प्रकाशित भयो । अग्लो र मोटो अमेरिकी विदेशमन्त्रीसँग डराउनुपर्ने किन ? शरीर देखेर डराउने कुस्ती खेल्ने त होइन नि’। 

पहाडमा हचुवाको भरमा डोजर आतंक, काठमाडौंमा नदी मिचेर बस्ती विस्तार र चुरे पहाडको श्रोत दोहनले तराई मरुभूमीकरण हुन थालेको भन्दै उनले, सन्तुलित विकासका लागि सरकारको ध्यानाकर्षण गराए । 

रुने तालिका फेरौं, भारतलाई भन्न संकल्प गरौं – गगन 
काँग्रेस सांसद गगन थापाले सीमापारीको बाँधले निम्याउने डुबानको समस्या सधैंका लागि अन्त्य गर्न सरकारले पहलकदमी लिनु पर्ने बताए । 

उनले भने, ‘सीमा पारी बाँध बाँधियो त्यो बाँधका कारणले डुबानमा परियो, प्रत्येक वर्ष भन्छौं, यो पटक भने संकल्प गरौं । सरकारले यसमा पहलकदमी गरोस्, सिंगो संसद यो कुरामा एक ठाउँमा उभिन पर्छ, यो विषयको हल यो पटक हामीले खोज्नै पर्छ’ । 

थापाले रुने क्यालेण्डर फेर्नका लागि विकासको मोडलै परिवर्तन गर्नुपर्ने धारणा पनि राखे । ‘प्रत्येक नयाँ वर्ष, पुरा नहुने सपना र शंकल्पका साथ शुरु गछौं र हामीसँग रुने क्यालेण्डर छ’, उनले भने, ‘जेठ असारमा विकास खर्च विकास खर्च भएन वा छोटो समयमा भयो भनेर रुन्छौं । श्रावणमा सार्वजनिक शिक्षाको विषयमा रुन्छौं । दशैंमा महंगी भयो भनेर रुन्छौं । प्रत्येक वर्षको श्रावण भदौ वर्खा हामीले बाढी र पहिरो पिडितहरुको निम्त रुनका लागि छुट्याएका छौं । यो तालिका बदल्ने हो भने काम गर्ने तरीका नबदलीकन हुँदैन ।’ 

प्रकृतिको ख्याल नगरिकन विकासको नाममा गएिको दोहनले विपत्ति निम्त्याएको पनि उनले बताए । उनले भने, ‘प्रकृतिसँगको सहअस्तित्वलाई नजरअन्दा गरेर पहडा मधेश उपत्यामा जे विकास भनेर ग¥यौं त्यो विकास होइन, त्यो विनाश हो । रोकिने बेला आएको छ, विकासको यो ढाँचालाई बदल्नै पर्छ । केही पूर्वाधारलाई बनाउन पर्नेछ, भत्काउन पर्नेछ। केही पूर्वाधार तत्काल बनाउन पर्नेछ ’। 

आफ्नो भनाइ बिट मार्दै गर्दा गगनले, निर्मला बलात्कार र हत्याको विषयमा पनि कुरा निकाले । गृहमन्त्रीमाथि व्यंग्य कस्दै उनले भने, ‘माननीय गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, हिजो एउटा सन्दर्भमा भन्नुभएको रहेछ, बलात्कार हिजो पनि भयो, आज भयो, भोलिपनि रहन्छ, बाढी पहिरोको विषयमा त्यसो नभन्दिनुहोला ।’
 
काँग्रेस सभापति शेरबहादुर देउवाले भने बाढी र डुवान समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । बाढी र डुवानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उनले डुवान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिक स्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्ने बताए । 

सत्तारुढ सांसद ओभाने बन्न खोजे 
सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावलले भने विगतमा भारतसँगका गरिएका राष्ट्रघाती सन्धीले नेपालमा डुबान भएको आरोप लगाए । उनले भने, ’हिजोका पुस्ताले भारतसँग गरेका असमान, राष्ट्रघाती सन्धीले गर्दा हामी डुबानमा परेका छौँ।’ भारतको हेपाहा प्रवृत्तिका कारण, दशगजाभित्र बनाएका संरचनाले नेपाल डुबानमा परेको उनको भनाइ थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ