arrow

नेकपामा प्रचण्ड पक्षको लिगलिगे दौड

बिहीबारको सचिवालय बैठक पनि स्थगित

logo
प्रकाशित २०७६ साउन ९ बिहिबार
ncp-sachibalaya1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताका बेलामा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा जस्तो किसिमको जोश देखिन्थ्यो अहिले त्यस्तो देख्न पाइँदैन । त्यतिबेला तत्कालीन एमालेसंग मिलेर प्रचण्डले चुनावमा पार्टीलाई खराब हारबाट बचाएनन् मात्र सरकारमै पुर्याउन सफल भए । 

प्रचण्डको त्यतिबेला खुवै प्रशंसा भयो । किनकि सशस्त्र द्धन्द्धबाट आएपछि पहिलो पटक २०७४ मा चुनाव लड्दा सबैभन्दा ठूलो दल बने पनि दोस्रो पटक २०७० मा तेस्रो दलमा धकेलिएको थियो । २०७४ को तेस्रो चुनावमा तेस्रो दल नै बने पनि एमालेसंग मिल्दा फाइदा भएको थियो । त्यतिमात्र होइन एमालेसंग मिल्नुअघि नेपाली काँग्रेससंग पनि मिलेर छोरी रेनु दाहाललाई जिताएका थिए स्थानीय तहको निर्वाचनमा । 

तर अहिले आएर पार्टी एकताको एक वर्ष तीन महिनामा कुदिरहँदा पूर्ण एकता नहुँदै जुन स्थिति माओवादीका नेताहरुको भएको छ त्यसले प्रचण्डलाई भनिरहेको छ – लिगलिगेहरु झिँगाजस्तै मह देखेर खुवै मुख मिठाउँदै बोतलमा पस्छन् तर त्यसमै लट्पटिएर उड्न नसक्ने भएपछि आफू बल्ल फसेको महसुस गर्छन् । अहिले प्रचण्ड कम्पनी त्यस्तै भएको छ । 

एमालेका नेताहरुले भएभरका मुख्य पदमा आफैले कब्जा गरेपछि प्रचण्ड पक्ष घर न घाटको जस्तो भएको हो । पूर्व एमालेतर्फका तीन वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनालको जिम्मेवारी टुंगिएको छ । 

नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने गौतमलाई संगठन विभाग प्रमुख तोकिएको छ । खनालले नीति अध्ययन प्रतिष्ठानको नेतृत्व पाएका छन् । 

तर गत हप्ता र यो हप्ताका दिनहरु निकै उतारचढावमा बितेका छन् प्रचण्डका । मुख्य मुख्य विभाग सबै एमालेलाई बुझाइसकेका छन् । अनि आफ्नो भागमा परेका विभागमा आफ्ना प्रमुखहरु तोकेका छैनन् । 

उनले निरन्तर अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भए पनि सहमति भएन । नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ । त्यतिमात्र होइन स्कुल विभागमा पनि एमालेकै पूर्व महासचिव ईश्वर पोखरेललाई दिने गरी सहमति गर्न खोजिएको छ । तर त्यसलाई माओवादी पक्षले स्वीकारेन । 

स्कुलिङ विभागमा पोखरेलसंगै पूर्वमाओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठको दाबी छ  । पोखरेलले सुरुदेखि संगठन विभागमा दाबी गरेका थिए । तर अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको दबाबमा वामदेव गौतमलाई जिम्मा दिएपछि पोखरेलले अहिले स्कुल विभाग रोजेका हुन् । 

पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठले भने सुरुदेखि नै स्कुल विभागको नेतृत्व माग गर्दै आएका थिए । ‘स्कुल विभाग पूर्वएमालेले पाउने कि माओवादीले भन्ने टुंगो नभएकाले सचिवालयले नै टुङ्गो लगाउने दावी श्रेष्ठको छ । तर श्रेष्ठले आफ्नो श्रेष्ठता देखाउनु पूर्व एमालेबाटै नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले पनि आँखा लगाए । त्यतिमात्र होइन पूर्व एमालेबाटै नेकपाका स्थायी कमिटि सदस्य बेदूराम भुषालले पनि दावेदारी दिएका छन् । 

बेदूरामले एमाले स्कुल विभागको प्रमुखको भूमिका सम्हालिसकेका छन् । बेदूराम प्रमुख हुँदा घनश्याम उपप्रमुख थिए । अनुभवका आधारमा पनि यी दुईलाई दिनुको विकल्प छैन । 

तर पछि आएका उनीहरुले मौका नपाउने निश्चित जस्तै छ । सचिवालयमै नेतृत्व लिनेहरु भएकाले स्थायी कमिटिसम्म नपुग्ने स्रोतको दावी छ । तर नारायणकाजीलाई दिने आधार भने हराउँदै गएको एक पूर्व एमालेका पुराना नेता बताउँछन् । 
जिल्ला इन्चार्जदेखि लिएर अन्य विभागहरुको स्थिति हेर्दा एमाले हावी छ । यतिबेला भने प्रचण्ड केवल लिगलिगे दौडमा लागिरहेको अवस्था त छैन भन्न थालिएको छ । 

यो समीकरण हेर्दा मुख्यमुख्य पदमा हालीमुहाली पूर्वएमालेको भएसंगै पूर्वमाओवादी नेकपाभित्र लिगलिगेदौडमा रहेको विश्लेषण एक पूर्वएमालेका नेताले गरेका छन् । यसलाई पूर्वमाओवादीका एक उच्च नेता पनि स्वीकार्छन् ।  ‘के के गरौंला भन्ने सोच थियो अहिले त्यही लिगलिगे दौडमा अल्झन पुगियो । सशस्त्र युद्ध झल्झली याद आइरहेछ’, उनले भने । 

स्कुल विभागलाई पार्टीको मूल जरा मानिन्छ । यही विभागले नै पार्टीको वैचारिक नेतृत्व गर्छ । आफ्नो सशक्त द्धन्द्धको उद्धेश्यलाई अहिलेसम्म प्रचण्डले सरकारको सत्ताचास्नीमा डुबेर भुल्दै आएका छन् । 

यही विभाग लिएर भए पनि आफ्नो विचारलाई राख्ने उनको प्रयत्न छ । अब हेर्नुछ फेरि पनि प्रचण्ड लिगलिगे दौडमा लाग्छन् कि बाजी जित्छन् । किनकि एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले सत्ताको नेतृत्व सम्हालिसकेका छन् । प्रचण्ड माओवादी पक्षबाट एक्ला हुन् । जुन अहिले असन्तुलित एकताको छनक देखिएको छ । 

प्रचण्डले आफ्नै भागमा  परेको विभागमा समेत सदस्यहरु छान्न नसक्नुको मतलव हो अताल्लिनु । जसरी सशस्त्र द्धन्द्धको घुर्की लगाउँदै उनी यहाँसम्म आए अब उनको एमालेसंगको विलयले त्यो अस्तित्व सकाइदिएको छ । 

अर्कातिर काँग्रेससंग साँठगाँठ गर्दा २०६७ सालपछि निरन्तर ‘गिरिजाबाबुले मलाई जिम्मा दिएर जानुभएको छ मैले पूरा गर्नुछ’ भनेरै फसाउने गर्दथे । अब काँग्रेसलाई भनेर उनका माग पूरा हुने पनि भएनन् । तसर्थ उनी आफैले खनेको खाल्डोमा परिरहेका त छैनन् भन्ने विश्लेषणसमेत हुन थालेको छ । 

बिहीबार पनि स्कुल विभागको विवाद टुंगाउन सचिवालय बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर त्यो बैठक स्थगित भएको छ ।

यसअघि आइतबार र मंगलबारको बैठक पनि स्थगित नै भएको थियो । निरन्तर बैठक स्थगित हुँदा सन्देश नराम्रो गएको छ । यो लिगलिगे दौडमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ