arrow

कांग्रेसका पुराना राजनीतिज्ञ काशिनाथको निधन

logo
गोपाल पोखरेल,
प्रकाशित २०७६ साउन ९ बिहिबार
kasinath.jpg

उदयपुर । उदयपुरका मूर्धन्य समाजसेवी तथा नेपाली कांग्रेसका पुराना राजनीतिज्ञ काशिनाथ सेढाईको बुधवार निधन भएको छ । ७८ बर्षिय सेढाई तीन बर्ष अघिदेखि अल्जाइमर्स रोगका कारण थलिएका थिए ।

उदयपुर जिल्लाकै पुरानो बेल्टार बजार स्थापना गर्ने, विद्यालय, बसपार्क निर्माण गर्नेजस्ता काममा सेढाईको महत्वपूर्ण योगदान थियो । तराईबाट व्यापारी लगेर बेल्टार बजारलाई व्यापारीक केन्द्रको रुपमा विकास गर्ने कामको नेतृत्व उनैले गरेका थिए । उनी नेपाली कांग्रेस फुटेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा सो पार्टीको क्षेत्रीय सभापति बनेका थिए ।

“ बेल्टार बजार स्थापना गर्ने काममा उहाँको महत्वपूर्ण योगदान छ” चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले भने,“ बेल्टार बजारमा बसपार्क निर्माणका लागि मात्रै करिव ७ कठ्ठा जमिन उहाँले उपलब्ध गराउनु भएको थियो जसको मूल्य करोडौ पर्छ ।” यसका साथै ज्योति माध्यमिक विद्यालय स्थापना, बेल्टार बजार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सेढाइले गरेको प्रमुख राईले बताए ।

सेढाईको नेतृत्वमा २०२२ सालमा स्थापना भएको ज्योति प्राइमरी स्कूल अहिले त्यस क्षेत्रकै महत्वपूर्ण माध्यमिक विद्यालयको रुपमा संचालित छ । २०२८ साल देखि २ पटक बेल्टार गाउँ पन्चायतको प्रधानपन्च भएका उनले तत्कालीन समयमा खानेपानीको हाहाकार रहेको बेल्टार क्षेत्रमा आफ्नै निजी खर्चले दर्जनौं इनार खनाएका थिए ।

“हामीले एक इमान्दार र निस्ठावान समाजसेवी गुमाएका छौ” बेल्टार बजारका पुराना समाजसेवी तथा सेढाईका साथी भोजराज खतिवडाले भने,“ बेल्टार बजार क्षेत्रमा उहाँले गरेका योगदान सदा अविष्मरणीय रहनेछन् ।” सेढाईले दान गरेको सम्पत्ति अहिले हिसाव गर्ने हो भने १ अर्ब भन्दा माथिको रहेको खतिवडाले बताए ।

 सेढाईका ३ छोरा र ३ छोरी छन् । उनको विहीबार स्थानीय त्रियुगा खोलामा अन्तिम संस्कार गरिएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ