arrow

नेकपामा हेडमास्टर तोक्न सकस, व्यवस्थापनले जिम्मा लिने संकेत

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
ncp-sachibalaya1.jpg

काठमाडौं । गत वर्षको जेठ ३ गते जुन जोश र उत्साहका साथ बाँकी रहेका नेपालका दलहरुलाई लोप्पा खुवाउने गरी जसरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण भएको थियो त्यसरी नै अहिले पूर्ण एकता गर्न सकस भएको छ । 

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भएको एकतामा कुर्सीको होडका कारण दिनानुदिन किचलो बढ्दै गएको छ । 

विभिन्न शीर्ष विभागमा सहमति नबन्दा पूर्णएकता टाउको दुखाइ बन्दै गइरहेको छ । सचिवालय बैठकले स्कुल विभागको प्रमुख (हेडमास्टर) तोक्न नसकेपछि बैठक सर्दै र स्थगित हुँदै आएको छ । 

आइतबार दिउँसो पनि सचिवालय बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर सहमतिमा जान नसकेका कारण फेरि पनि बैठक सरेको छ । बैठक सोमबारका लागि सारिएको छ । 

सचिवालयले स्कुल विभाग प्रमुख तोक्न नसकेपछि अन्य प्रक्रिया अलमलमा परेको छ । ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ टसको मस नभएपछि वाध्य भएर नेतृत्वले हस्तक्षेप गर्न सक्ने पनि देखिएको छ । 

तत्काल समस्या समाधान गर्नका लागि व्यवस्थापन अर्थात् दुई अध्यक्षमध्ये एकले यो विभागको नेतृत्व राख्न सक्ने बुझिएको छ । 

नेकपाका नेता देवेन्द्र पौड्याल तत्काल विकल्प खोज्ने क्रममा अध्यक्षले नै यो विभाग राख्न सक्ने स्थिति देख्छन् । 

केही दिनभित्रमा एकताका कुनै पनि प्रक्रिया बाँकी नराखी आगामी महिनादेखि देशब्यापी भ्रमणमा निस्कन लागेको नेकपाले जसरी पनि समस्याको समाधान निकाल्ने पौड्याल बताउँछन् । 

नारायणकाजी र ईश्वरबीच कडा टक्कर परेपछि भुषालद्धय यदूराम र घनश्यामले पनि स्कुल सम्हाल्ने दावी पेश गरेका थिए । तर सचिवालय सदस्यहरु छँदाछँदै स्थायी कमिटिमा जाने सम्भावना रहँदैन । 

भुषालद्धयलाई दिने सम्भावना नहुने एक नेताले बताएका छन् । उनले भने, ‘त्यो अनुभवको दावेदारी आफ्नो ठाउँमा छ तर सचिवालय सदस्यहरुले लिने भनी पहिले नै सहमति भएकाले त्यो अवस्था नआउला ।’

स्कुल कसले लिने भन्ने विवादले गर्दा नेकपाभित्र विभिन्न तरंग पैदा भएको छ । 

एकताको तीन महिनाभित्र सम्पूर्ण एकताप्रक्रिया टुंगिने दावी गरे पनि अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई यसको कुनै अनुभूति नभएको देखिन्छ । 
त्यतिबेला प्रतिपक्षीहरुलाई लोप्पा खुवाउने नेकपाका नेताहरुले अब तिनै प्रतिपक्षीबाट लोप्पा खुवाउने सम्भावना बढी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ