arrow

बाढीपहिरोका ४१४ घटनाबाट ११७ को मृत्यु, ३८ अझै बेपत्ता, ८० घाइते

२२ हजार ६७० परिवार विस्थापित

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
flood-nepal.jpg

काठमाडौँ । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आइतबारसम्म ११७ जनाले ज्यान गुमाएका छन् ।     
     
 दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । 

यस अवधिमा ४१४ विपद्का घटना भएका छन् । विपद्मा परी ८० जना घाइते भएका थिए । अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् । केन्द्रले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १३४, पहिरोको २२७ र भारी वर्षाको कारण ५३ घटना भएका छन् । 

बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताए ।      
     
 अहिलेसम्म रु एक अर्ब सात करोडभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ । पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ । 

डोल्पामा सात जना हराइरहेका छन् । गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए । विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ । 

खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ