arrow

नेता सिध्याएर व्यवस्था पनि सिध्याउन प्रतिक्रियावादीहरु लागे : प्रचण्ड

logo
प्रकाशित २०७६ साउन १३ सोमबार
prachanda-chitwan-2019.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागिपरेको बताएका छन् । नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै उनले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्ट्याउन केही तत्व लागिपरेको बताए ।

अध्यक्ष दाहालले भने, “अझै पनि प्रतिक्रियावादीहरु वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाएहुन्थ्यो भन्नेमा छन् ।” जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, “यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।” उनले जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै नेता तथा कार्यकर्ता एक ठाउँमा एकताबद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने बताए । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाइ थियो । “हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो”, अध्यक्षले भने । क्रान्ति दुई-चार जनाको रहले नहुने उल्लेख गर्दै उनले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिइने उनले बताए ।

नवप्रवेशी सो समूहका ब्यूरो सदस्य रमण घिमिरेले क्रान्तिका नाममा आफूहरुले बाटो बिराएको महशुस भएपछि चन्द समूह परित्याग गरी नेकपामा प्रवेश गरेको बताए । नेकपा प्रवेश गर्नेमा ब्यूरो सदस्य घिमिरे, आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मालगायत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ