arrow

जम्मा यत्ति हो हेडमास्टर चुन्न हलो अड्किनुको कारण

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । कुरा खासै समस्याग्रस्त थिएन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागको हेडमास्टर तोक्न । 

पार्टीका ३२ वटा विभागको टुंगो लागिसकेको छ । पूर्व एमालेले १८ र पूर्व माओवादीले १४ विभागको टुंगो लगाइसकेका छन् । तर, सबैभन्दा पेचिलो बनेको छः स्कूल विभाग प्रमुख अर्थात् हेडमास्टर तोक्न । 

यसको दावी गरिरहेका ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले अडान नछाडेपछि यो विषय नेकपामा जटिल बन्दै गएको छ । यही विषय टुंगो लगाउने भन्दै बैठक डाक्दै, भाखा सार्दै, बिलम्ब गर्दै जाने क्रम पछिल्लो दिनमा रुटिन बन्न थालेको छ । 

स्कुल विभाग प्रमुख चयन गर्ने लगायतका विषय छिनोफानो लगाउने भन्दै आइतबारका लागि डाकिएको बैठक सोमबारका लागि सारियो । सोमबारका लागि बैठक सार्नु अघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकसरो छलफल भएको थियो । कुरा मिलेन । 

सोमबारका लागि सारियो । तर सोमबारको सचिवालय बैठक शुरु हुनासाथ एकजना अध्यक्ष ओलीले स्कूल विभागको कुरा नगरौं भनेर शुरुमै प्रस्ताव तेस्र्याए । अरुले लौ न त हुन्छ भने । कुरा सकियो । विषयमै प्रवेश भएन । 

दिन घर्किँदै जाँदा, रात छिप्पिँदै जाँदा, स्कुल विभाग प्रमुखको विषय पूर्व एमाले र पूर्वमाओवादी दुवैका लागि प्रतिष्ठाको विषय बन्दै गएको छ । 
जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाइएपछि, साउन ७ का लागि सविचालय बैठक डाकियो । त्यसपछि, साउन ९ । त्यसपछि १२ र १३ साउन । 

अध्यक्षद्वय ओली र प्रचण्डबीच पटक–पटक छलफल पनि भयो । गाँठो फुस्किनु भन्दा कस्सिँदै जाँदा अब अर्को भाखा तोकिएको छः साउन २८ । 

कुरा यस्तो होः 
नेकपाभित्र नीति अध्ययन प्रतिष्ठान र स्कूल विभागलाई बराबरीकै हैसियतमा लिने गरिन्छ । नीति अध्ययनको को जिम्मा झलनाथ खनालले पाइसकेका छन् । त्यसकारण स्कूल विभागको पाटो आफुले पाउनुपर्ने पूर्व माओवादीको जिकिर छ । जुन स्वभाविक पनि लाग्छ । 

तर प्रचार तथा प्रकाशनको जिम्मा पूर्वमाओवादीले पाएपछि, स्कूल विभागको जिम्मा आफुहरुले पाउनुपर्ने पूर्व एमालेको ढिपी छ । यही मेसो पारेर दुुबै खेमाले आफ्नो दाबी गर्दै आए । 

आआफ्नो भेला गरेर अडान नछाड्ने निधो गरे । प्रधानमन्त्री केपी ओलीले नेताहरु माधवकुमार नेपाल, झलानाथ खनाल, ईश्वर पोखरेल र बामदेव गौतमलाई २ पटकसम्म बालुवाटार डाकेर अडान नछाडौं भने । 

तर ओलीको प्रस्ताव, गौतमसँगै नेपाल र खनालले खाएनन् । एकोहोर भएर नजान सतर्क गराए । त्यसपछि ओलीले पटक पटक स्कूल विभागको कुरा टार्दै आएको, नेकपाका एकजना प्रभावशाली नेताले बताए । 

श्रेष्ठलाई नै स्कूल विभाग प्रमुख बनाउने विषयमा पूर्वमाओवादी एकमत देखिन्छ । तर पोखरेललाई दिने विषयमा भने पूर्वएमालेभित्रै विवाद छ । उनी सर्वस्वीकार्य छैनन् । यसको उदाहरण हो खनालसहित भुषाल दाजुभाइको दाबी । 

रुखो मिजास, कार्यकर्तासँग भिज्न नसक्ने, ठालु प्रवित्ति देखाउने लगायतका कारण ईश्वर पोखरेललाई स्कूल विभागबाट अलिक परै राख्नुपर्ने पूर्व एमालेभित्रएको एउटा खेमाको तर्क छ । 

बेला बखत पार्टीको लाइन जबजबाट पर जान नसक्ने तथा ओलीलाई नै अध्यक्ष र प्रधानमन्त्रीको जिम्मबारी निरन्तर दिइरहनु पर्ने भनेर सार्वजनिक रुपमै बोल्दै हिँड्न थालेपछि, पूर्वमाओवादी झस्किएको छ । 

पूर्व माओवादीका एकजना नेताको भनाइ अनुसार पोखरेल पछि हट्ने हो भने पूर्व एमालेकै अर्को कुनै नेतालाई स्कूल विभागको जिम्मेबारी दिन सकिनेसम्मको कुरा भएको छ । तर श्रेष्ठलाई नै स्कूल विभागको जिम्मा दिनका लागि अन्तिमसम्म कसरत जारी राखिने भने उनले सुनाए । 

अर्को कुरा नारायणकाजीलाई दिने कि त भन्ने विषयमा पूर्व एमालेभित्र पनि कुरा चलेको चाहिँ छ । तर स्कूल विभागको प्रभाव पार्टीको तल्लो कमिटिसम्म पुग्ने र त्यसको असर प्रभाव भावी महाधिवेशनमा ठाडै असर पार्न सक्ने भन्दै सकेसम्म आफ्नो पोल्टामै राख्नुपर्ने देखिएको पूर्व एमाले नेताको जिकिर छ । 

नेकपामा संगठन विभाग, स्कूल विभाग, विदेश विभाग, अर्थ र प्रचार विभागलाई शक्तिशाली मान्ने चलन छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ