arrow

अपाङ्गता भएका व्यक्तिहरु मानव अंग तस्करहरुको निशानामा, प्रहरी अधिकारी नै पक्राउ

logo
प्रकाशित २०७६ साउन १४ मंगलबार
arrest.jpg.jpeg

काठमाडौं । मानव तस्करहरुले मानव अंग तस्करीको लागि अपांगता भएका व्यक्तिहरुलाई निशानामा पार्न थालेका छन् । केही समय अघि काभ्रेका एक युवकलाई मानव तस्करहरुले ललाईफकाई भारत लगेपछि यस विषय बाहिर आएको हो । काभ्रेका एक स्पष्ट बोल्न नसक्ने व्यक्तिलाई ललाईफकाई भारत लगेर मृगौला निकाल्ने तयारी भईरहँदा परिवार र प्रहरीको सहयोगमा नेपाल ल्याईएको छ । 

मानव अंग प्रत्यारोपण गर्नको लागि केही समयसम्म अस्पतालको निगरानीमा राख्नुपर्ने भएकोले यसमा कम्तिमा पनि एक महिना समय लाग्ने गर्दछ । सोही समयमा आफ्नो पालो कुरेर बसेका काभ्रेका विष्णु खड्कालाई प्रहरीले अंग प्रत्यारोपण गर्नुभन्दा पहिले नै उद्दार गरेको हो । राम्रोसँग बोल्न नसक्ने खड्कालाई प्रलोभनमा पारेर भारत पुर्याईएको थियो । 

खड्कालाई मानव तस्करहरुले भारतको एक अस्पतालसम्म पुर्याएको काममा नेपाल प्रहरीका एक अधिकारी समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धान पछि ती प्रहरीलाई पक्राउ समेत गरिएको प्रहरी स्रोतले जनाएको छ । खड्कालाई मृगौला निकाल्नको लागि लगेको केही दिनमा नै उनको परिवार र आफन्तले बेपत्ता भएको भन्दै प्रहरीकहाँ उजुरी दिएका थिए । सो उजुरीको आधारमा प्र्रहरी र उनका आफन्तहरुले खोजी गर्दै जाँदा उनलाई मानव अंग तस्करीको लागि भारत लगिएको अवस्थामा भारतकै एक अस्पतालमा भेटेका थिए । 

प्रहरी र आफन्तको टोलीले आईतबार खड्कालाई नेपाल ल्याएको छ । प्रहरी स्रोतका अनुसार सो तस्करीमा प्रहरीका सई योगेन्द्र थपलिया समेत संलग्न रहेको पाईएको छ । उनीसँगै झण्डै आधा दर्जन तस्करहरु यसमा संलग्न भएको प्रहरीको आशंका छ । 

अनुसन्धानमा संलग्न नेपाल प्रहरीका डिएसपी फणिन्द्र प्रसाईंले यो विषयमा अनुसन्धान भईरहेकोले यस विषयमा थप जानकारी दिन नसक्ने बताए । उनले यो मामलामा अझै केही मानिस संलग्न रहेको बुझिएकोले त्यसमा थप अनुसन्धान चलिरहेको जानकारी पनि दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ