arrow

कांग्रेस सदस्यताको लागि फोरम लोकतान्त्रिकका नाममा समाजवादीका कार्यकर्ताको नाम सिफारिस

पार्टी कब्जा गर्ने देखियो नियत

logo
सौरभ गिरी,
प्रकाशित २०७६ साउन १४ मंगलबार
nc-samjbadi-banke.jpg

नेपालगञ्ज। नेपाली कांग्रेससँग  फोरम लोकतान्त्रिकको पार्टी एकिकरणको बेलामा अन्य राजनीतिक दलका नेता कार्यकर्ताको नाम समेत सिफारिस गरेको खुलासा भएको छ। कांग्रेसको स्थानिय राजनीतिमा प्रभावित गर्नेगरि अन्य राजनीतिक दलका नेता कार्यकर्ताको नाम पार्टी एकिकरकणका क्रममा सिफारिस गरिएको खुलासा भएको हो।  

बाँके क्षेत्र नम्बर १ मा समाजवादी पार्टीका कार्यकर्ताको नाम कांग्रेसमा सिफारिस गरिएको पाइएको हो। आफ्ना कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकले पार्टी एकिकरणका क्रममा कांग्रेसलाई टिपाएकोमा समाजवादीले आपत्ती प्रकट गरेको छ। यहि आपत्ती पछि फोरम लोकतान्त्रिकको तत्कालिन नेतृत्वले कांग्रेसको स्थानिय राजनीतिलाई प्रभावित गर्न खोजेको खुलासा भएको हो।

बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका क्रियाशील सदस्य बढाउने नाममा समाजवादी पार्टीका नेता कार्यकर्तालाई क्रियाशील सदस्यका लागि सिफारिस गरिएको खुलेको छ।

नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच भएको एकिकरणपछि समायोजनका लागि नेपाली कांग्रेसमा पठाइएको नाममा समाजबादी फोरम, नेकपा र कांग्रेस स्वयंकै नेता कार्यकर्ताको नाम पठाइएको खुलेको हो।

समाजबादीका बाँके जिल्ला अध्यक्ष कमरुद्दीन राईले नरैनापुर गाउँपालिकाका आफ्ना एक सय जना नेता कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकबाट कांग्रेसमा पठाइएको भन्दै विज्ञप्ति निकालेर घोर आपत्ति जनाएपछि यो रहस्य खुलेको हो।

तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेश सभा र स्थानीय तहको चुनाव समेत लडेका लगायत नेपाली कांग्रेसकै कतिपय नेता कार्यकर्ताको नाम फोरम लोकतान्त्रिकबाट पठाइएको पाइएको छ जबकि फोरम लोकतान्त्रिकबाट चुनाव लडेका ब्यक्तिहरुको नाम पठाइएको छैन।

बाँके साबिक क्षेत्र न २ का क्षेत्रिय सभापति तथा नेपाली कांग्रेस नरैनापुरका नेता रामचन्द्र मौर्यले नरैनापुर गाउँपलिका मा ८०-९० जना मात्र कृयासिल सदस्यता रहेको र ति ब्यक्तिहरु उनीहरुको पक्षमा नरहेको हुनाले पार्टी कब्जा गर्ने रणनीति अनुरुप फोरम लोकतान्त्रिकका नाममा साबिक क्षेत्र न १ का क्षेत्रिय सभापति माधव राम खत्री लगायत पार्टीका केही नेताहरुले नेपाली कांग्रेस भित्रकै मान्छेहरु र संघिय समाजबादी फोरमका मान्छेहरुको नाम सक्रिय सदस्यताका लागि सिफारिस गरेको हुन सक्ने बताए।

क्षेत्र न १ का क्षेत्रिय सभापति माधब राम खत्रीले भने उपयुक्त समयमा उपयुक्त रिपोर्ट पाइने बताए। जनता कसैको पेवा नभएकाले हिजो को कहाँ थिए भन्दा पनि आज कोही कांग्रेसमा आउन खोज्छ भने किन आपत्ति गर्नुपर्ने भन्दै खत्रीले जनताको चित्त जसले बुझाउन सक्छ, जनता त्यतै लाग्ने बताए।

‘नरैनापुरमा कांग्रेसका ८०-९० जना क्रियाशील सदस्य छन् तर फोरम लोकतान्त्रिकबाट १ सय २७ जनाको नाम कांग्रेसमा समायोजनका लागि सिफारिस गरिएको छ, अन्य दलका नेता कार्यकर्तालाई फोरम लोकतान्त्रिकका भनेर पठाइएको छ, यो सबै संगठन कब्जा गर्ने मानसिकता हो,’ कांग्रेस स्रोतले भन्यो।

पार्टीको महाधिबेशन नजिकिँदै गर्दा पार्टी कब्जा गर्ने स्वार्थले केही नेताहरुले बदमासी गरेको चर्चा कांग्रेस बृत्तमा छ। यस्तै बदमासी जानकी गाउँपालिका र जिल्लाका अन्य स्थानीय तहका केही वडाहरुमा पनि भएको बताइएको छ ।

आफ्नो पक्ष कमजोर भएपछि संगठनमा कब्जा जमाउन बदमासी गरिएको खुलेको हो । फोरम लोकतान्त्रिकका कार्यकर्ता भन्दै जिल्ला भरबाट झण्डै १ हजारको नाम सिफारिस गरेर पठाइए पनि केन्द्रले ४ सय ७७ जनाको स्विकृत गरी पठाएकोमा त्यसको पनि ६० प्रतिशत जति स्वयम् कांग्रेस र अन्य दलका कार्यकर्ता रहेको बताइएको छ ।

आफ्नो निजी स्वार्थका लागि गरिएको यस खाले बदमासीले पार्टीको संगठन झन् कमजोर हुनुका साथै बद्नामी हुने भन्दै कांग्रेस नेता कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ