arrow

देश बिरामी भइसक्यो प्रधानमन्त्री ज्यू छिटो निको हुनुस् !

भ्रमण वर्ष २०२० लाई नोक्सान पुर्याउने गरी ओलीको सिंगापुरमा आराम, नेपालको कुनै रमणीय स्थल रोजेको भए नयाँ गन्तव्य स्थल बन्थ्यो 

logo
बाबु नेपाली
प्रकाशित २०७६ साउन १५ बुधबार
kp-oli-pm-ncp.jpg

काठमाडौं । नेताहरु भाषण गर्ने बेलामा भन्छन् – नेपालजस्तो स्वर्ग अन्त कतै छैन । अझ कम्युनिष्ट नेताहरु त स्वर्गको बखान खुवै गर्छन् । जो धर्म मान्दैनन् उनीहरु स्वर्ग र नर्कको बारेमा चर्का बहस गर्छन् । 

यस्तो लाग्छ उनीहरु पहिले स्वर्गबाटै झरेका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भाषणमा नेपालको खुवै बयान गरेका छन् । विदेश सयर गर्न खुवै रुचाउने ओली नेतृत्वको सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेसंगै विदेशमा प्रचारप्रसार गर्दा पनि नेपालको खुवै बयान गरिरहेको छ । 

ओली आफै पनि नेपालको बयान गरेर थाक्दैनन् । स्वभावैले कुनै पनि नेपालीले मेरो देश राम्रो छैन भन्दैन । मातृभूमि सबैलाई प्यारो लाग्छ । हो, राजनीतिक अस्थिरताले गर्दा वातावरण भने बिग्रिएको छ । 

तर प्रधानमन्त्री ओलीले भ्रमण वर्षलाई सघाउनु त कता हो कता उनी शनिबार (साउन १८ गते) सिंगापुर जाने प्रसंगले भने तरंग ल्याइदिएको छ । यो तरंग अरु केही नभएर सोचका कारण आएको हो । 

उनी निकटकाहरुले ओली आराम गर्न सिंगापुर जाने बताइरहेका छन् । ओली निकटका र चिकित्सको सल्लाह अनुसार सिंगापुर जान लागेका हुन् । 

हुनत प्रधानमन्त्री निवास बालुवाटारमा सजिलै निद्रा कसैलाई लाग्दैन । किनकि राजनीतिक हर्कत नगरी कुनै पनि प्रधानमन्त्री सजिलै बालुवाटार पुग्दैन । त्यही हर्कत सम्झदै निद्रा भाग्नु स्वभाविकै हो । शरीर बेचैन हुनु स्वभाविकै हो । 

तर उनी निकटकाहरुले आराम गर्न प्रधानमन्त्री सिंगापुर जान लागेको भनेर दिएको अभिव्यक्ति ओलीको हतोत्साही मनस्थितिबाट उब्जिएको उपज हो भनेर भन्न सकिन्छ । 

हालैको बाढीपहिरोले गर्दा सय भन्दा बढीको मृत्यु, तीन दर्जनको संख्यामा बेपत्ता अनि सात दर्जन बढी घाइते र सयौं घरबारबिहीन बनिरहेको अवस्थामा ओलीलाई नेपालमा आराम नहुनु स्वभाविकै बन्न गएछ । 

मुलुकको कार्यकारी भएर जिम्मेवार बन्नुपर्ने हुन्छ । जनताका साना साना कुरामा ख्याल गर्नुपर्ने हुन्छ । बोलीभन्दा काममा अग्रसर हुनुपर्ने हुन्छ । तर ओलीलाई भाषण गरेरै समय कटाउन मज्जा लाग्छ । त्यसैले त कुनै कार्यक्रममा गए भने चाहिने नचाहिने कुरा गरेर घण्टौं बिताइदिन्छन् । 

अनि उनलाई आराम नचाहिएर कसलाई चाहिन्छ त ? तर आरामका नाममा सिंगापुर ? 

गरिब देशका प्रधानमन्त्रीले सिंगापुरमा आरामका लागि जानु किंचित सुहाएन । कम्युनिष्ट प्रधानमन्त्रीलाई सौखिन बन्न कतै पनि सुहाएन । महंगीले देश थलिएको छ । ओली गरीव जनताको टाउकोमा थप ऋणको भार उठाएर सिंगापुरमा आराम गर्न जाँदैछन् । 

अनि भ्रमण वर्षको पनि ओली सरकारले धज्जी उडाउँदै छ । जुन देशमा आराम मिल्दैन त्यो देशमा कोही किन भ्रमण गर्न आओस् । देशमा अमन चयन ल्याउने काम सरकारको हो । 

तर सरकार स्वयं बेचैनमा छ भने उसले कसलाई आराम देओस् भन्ने प्रमाण हो यो । कम्युनिष्ट सरकारका मन्त्रीहरु प्रायः विदेशमै रमाइरहेका छन् । तर देश खोक्रो भइरहेको र विकासको उल्टो गतिमा रहेको उनीहरुले देखिरहेका छैनन् । 

हो, ओलीले आराम गर्न पाउने अधिकार छ । उनी नेपालका कुनै रमणीय स्थलमा आराम गरेर बस्न सक्छन् । कर्णालीमा गएर उनले २०७५ सालको बिहानीको बिगुल फुकेका थिए । त्यसपछि उनले सायदै फर्केर हेरे । 

उनले एक हप्ता नेपालको जुनसुकै चर्चामा नआएको ठाउँमा गएर आराम गरुन् त्यो पक्कै पनि नयाँ गन्तव्य स्थल बन्नेछ । पर्यटकीय स्थल बन्नेछ । यसले भ्रमण वर्षलाई पनि साथ दिनेछ । 

दुर्भाग्य प्रधानमन्त्रीलाई मनपर्ने त सिंगापुर पो त !

भन्नुपर्दथ्यो उपचारका लागि 
ओली बिमार छन् । उनी जीवनका लागि संघर्षरत छन् । यसैले पनि उनले पटकपटक उपचारमा जानुपर्दछ । उनले पहिलेदेखि सिंगापुरमा उपचार गराइरहेका छन् । 

उनले उपचारका लागि सिंगापुर जान लागेको भन्नुपर्दथ्यो । जनतालाई अहिलेसम्म सयौं कुराहरु ढाँटिसकेका ओलीलाई एउटा यत्ति कुरो ढाँट्दा केही फरक पर्ने थिएन । तर यहाँ उनको आराम पहिलो प्राथमिकतामा  र स्वास्थ्य परीक्षण दोस्रो प्राथमिकतामा परेको छ । 

उनकी निजी चिकित्सक डा. दिव्या सिंहले पनि स्वास्थ्य परीक्षण हुने बताएकी छिन् । तर उनको भनाइले पनि प्रधानमन्त्रीको दैनिक कार्यसम्पादनका कारण धपेडी बढेकाले आरामको जरुरी रहेको बताइरहेको छ । 

तर आराम गर्न विदेशमा ? यो गरीव देशका प्रधानमन्त्रीका लागि नसुहाउने नै हो । प्रधानमन्त्रीको यो निर्णय स्वीकार्य नहुने नै विषय हो । यत्ति हो प्रधानमन्त्रीको स्वास्थ्य जटिल भएको हो र पराशर्म लिनुपर्ने हो भने त्यसमा टिप्पणी गर्नु मुख्र्याई हुनेछ । देश बिरामी भइसक्यो प्रधानमन्त्री ज्यू छिटो निको हुनुस् !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ