arrow

बालुवाटार जग्गा प्रकरणमा विवादित बिष्णु पौडेल बुटवलको सरकारी जग्गा हडप्नेसँग मिलेपछि

logo
प्रकाशित २०७६ साउन १७ शुक्रबार
bishnu-balwatar.jpg

बुटवल। बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरी अनियमितता गरेको आरोपबाट नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल मुक्त भइनसक्दै पौडेल फेरि आफ्नै गृहजिल्ला रुपन्देहीको आफ्नै निर्वाचन क्षेत्रमा रहेको टाइगर प्यालेस रिसोर्टको कर्तुतमा सहयोगी बनेका छन्।

विदेशी लगानीको पहिलो ५ तारे होटल भनिएको टाइगर प्यालेस रिसोर्टले सरकारी स्वामित्वको जग्गा हडपेर संरचना बनाएको छ। त्यसवापत हुनुपर्ने दण्डबाट जोगिन रिसोर्ट व्यवस्थापनले विष्णु पौडेलको सहायता लिएको पाइएको छ। सरकारी जग्गामा रिसोर्ट बनाउनेलाई जोगाउन नेकपा महासचिव पौडेल कम्मर कसेर लागेका छन्।

टाइगर प्यालेस रिसोर्टले भैरहवा–लुम्बिनी सिचाई आयोजनाको ९ कठ्ठा जग्गा अतिक्रमण गरिसकेको छ। आयोजनाले रिसोर्टविरुद्ध हालेको मुद्धामा जिल्ला अदालत रुपन्देहीले रिसोर्टको चलअचल सम्पत्ति तत्काल विक्री वितरण नगर्न आदेश दिइसकेको छ। अदालतको आदेशको वेवास्ता गर्दै अहिले रिसोर्ट बिक्रीको तयारी पनि भइरहेको छ। सरकारी जग्गा हडप्दै जिल्ला अदालतको आदेश समेत पालना नगर्ने रिसोर्टको योजनामा नेकपा महासचिव विष्णु पौडेलले सघाएका हुन्। केही महिना अगाडि महासचिव पौडेलले रिसोर्ट सञ्चालन गर्ने सिल्भर हेरिटेजका प्रमुख कार्यकारी अधिकृत माइक बोलसोभर प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गराएका थिए।

सो भेटकै क्रममा प्रधानमन्त्री र नेकपा महासचिवबाट सहयोगको वाचा पाएपछि रिसोर्ट बिक्रीको तयारी भएको हो। नेपाली कानून विपरीत सरकारी जग्गा हडपेर रिसोर्ट बनाउनेलाई कारवाही गर्नुको साटो सत्तारुढ दलका महासचिव र प्रधानमन्त्री नै रक्षाकवच बनेपछि सिल्भर हेरिटेजको दादागिरी अझ बढ्ने देखिएको छ। ५ अर्ब लगानीको सम्झौता भएपनि नेपालकै बैंकहरुबाट ३ अर्ब ऋण लिएर रिसोर्ट खोलेको सिल्भर हेरिटेजले रिसोर्ट बेचेर नेपाल छाड्न चाहेको छ। सरकारको संरक्षण जारी रहे सरकारी स्रोत दोहन गरेर आर्जेको सम्पत्ति बिक्री गरेर सिल्भर हेरिटेजले नाफा विदेश लैजाने निश्चित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ