arrow

'प्रचण्डको आत्मसमर्पणविरुद्ध जीवनमरणको सङ्घर्ष '

पार्टीले कारबाही गरेका र भगौडाहरूसंग सतर्क रहन अपिल

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
prakanda-biplab.jpg

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ। सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन। प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल समेत गरेका छन।

प्रवक्ता प्रकाण्डले आर्थिक सहयोग अभियानमा पार्टीबाट कारबाहीमा परेका र भगौडाहरुसँग सचेत रहन अपिल गरेका छन। उनले ने.क.पा.ले आगामि कार्तिकसम्म चल्ने अभियानलाई पार्टीले कारबाही गरेका र भगौडाहरू तथा अराजकतावादीहरूले दुरुपयोग गर्नसक्ने खतराप्रति सतर्क रहन अपिल समेत गरेका छन।

यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जनताको सहयोग र समर्थनबिना हाम्रो पार्टी क्रियाशील हुन सम्भव छैन। देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ। त्यसैका लागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ। यसलाई सदाझैँ सहयोग गरिदिनुहुन अनुरोध छ।

प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल यतिबेला जनक्रान्ति र प्रतिक्रान्तिको भीषण टक्करबाट गुज्रिरहेको छ। १० वर्षको महान् जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त जनअधिकार र उपलब्धिहरूलाई वली–बादल कम्पनीले ध्वस्त पार्दै गएको छ। राष्ट्रिय स्वाधीनतालाई उत्तरसाम्राज्यवादको गोटी बनेर धरापमा पारिरहेको छ। २००७ सालदेखिका सशस्त्र सङ्घर्ष, जनसङ्घर्ष र जनआन्दोलनका उपलब्धिहरूलाई तथाकथित कम्युनिष्ट आवरणमा हमला गरिरहेको छ। त्यसका विरुद्धको प्रतिरोधलाई सामाजिक दलाल फासिवादी हर्कतद्वारा निस्तेज पार्ने र कुल्चने भयानक जोखिम पैदा गर्दै गएको छ। जनताका राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरूलाई बन्दुकको बलमा दबाउन खोजेको छ। उनीहरूबाहेक अरू कोही राजनीतिक पार्टी र शक्ति होइनजस्तो गरी सबैको अस्तित्व नामेट पार्न खोजिएको छ। जसले संसारका सबै भ्रष्ट, तस्कर, कमिसनखोर तानाशाह र प्रतिक्रियावादी शासकहरूलाई उछिनेको छ। राजनीतिक असहमति राख्ने निशस्त्र र राजनीतिक कार्यकर्तालाई शान्ति र विकासविरोधी आरोपमा हत्या गरेको छ । हत्या, बलात्कार र लुटपाट गर्नेलाई मन्त्रीका नाता–गोता र वली सरकारको गृह प्रशासनले संरक्षण गरिरहेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपति वर्ग, भ्रष्ट मन्त्री र नेताहरूको निशानामा परेर मरणासन्न अवस्थामा पुगेका छन्। सामाजिक असुरक्षा भयावह छ। मूल्यवृद्धि २ सय प्रतिशत नाघेको छ। बेरोजगारी समस्याले युवाहरू आक्रान्त छन् र बिदेसिन बाध्य भएका छन् जसको कारण देश र जनताको जीवन इतिहासमै सर्वाधिक जोखिममा परेको छ। यी सबै अपराधकर्म दुई तिहाइ बहुमतको बकबासमा गरिरहेको छ। यसले कम्युनिष्ट क्रान्तिकारी र देशभक्त शक्तिहरूलाई मात्र होइन, संसदीय लोकतन्त्रवादी शक्तिहरूलाईसमेत आजित बनाएको छ। प्रतिपक्षी दलहरूले सदनमा गरेको सङ्घर्ष र सामाजिक अभियन्ताहरूले चलाइरहेको सडक आन्दोलन त्यसैको अनिवार्य परिणाम हो।’

विज्ञप्तिमा भनिएको छ, ‘२०६२–०६३ को आन्दोलनको प्रक्रियामा शान्ति वार्ताका नाममा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप र षड्यन्त्र, संसदीय यथास्थितिवाद र प्रचण्डको आत्मसमर्पण, विचलन पलायन र गद्दारीका विरुद्ध हामीले जीवनमरणको सङ्घर्ष गर्दै आयौँ। राष्ट्रिय राजनीति र प्रचण्डमा देखापरेको प्रतिक्रान्ति र गद्दारीकाविरुद्ध २०६९ असारमा हामीले सङ्गठित विद्रोह गर्‍यौँ। २०७१ मङ्सिर ८ गतेदेखि ५ वर्षयता हामीले एकीकृत जनक्रान्ति कार्यदिशामार्फत नयाँ क्रान्तिको नेतृत्व गरिरहेका छौँ।’

त्यसैगरी अगाडि भनिएको छ, ‘सन् १९५० देखि वली प्रवृत्तिले गरेका असमान र अपमानजनक सन्धि–सम्झौता खारेज गर्ने, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने, गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार सुनिश्चित गर्ने, शिक्षा, स्वास्थ्य, यातायातमा राज्यको नियन्त्रण कायम गर्ने, सामाजिक न्याय, सुरक्षा र समानता कायम गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने, श्रम, पुँजी र प्रविधिलाई एकीकृत गरी गाउँ र सहरलाई समान अवसरसहित विकास गर्नु एकीकृत जनक्रान्तिको उद्देश्य हो। त्यसका निम्ति कुनै पनि जोखिम मोल्न र बलिदान गर्न पार्टी तयार छ। जनक्रान्तिबिना देश र जनताका पक्षमा आमूल परिवर्तन सम्भव छैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ