arrow

गुट ध्वस्त पारौँ, कांग्रेस पहिलो पार्टी हुन्छ : महामन्त्री

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
sasank3.jpg

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सङ्गठन अहिले राम्रो ढङ्गले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए ।

आइतवार दिउँसो सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले आगामी दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सङ्गठनलाई सुधार गर्न जरुरी रहेको बताए ।

पार्टीको गढ मानिने प्रदेश २ मै अहिले कांग्रेसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले कांग्रेसलाई सबैतिर ध्वस्त गराएको तर्क गरे । प्रदेश २ कांग्रेसको गढ भनिन्थ्यो, आज यस्तो दुर्दशा छ, कारण कस्को ? हाम्रै कारण हो, कोइरालाले भने, 'यहाँ पनि गुट र उपगुटले पार्टीलाई ध्वस्त गराएको छ ।'

अब एउटाले अर्कालाई दोष लगाउने भन्दा पनि पार्टीलाई बलियो बनाउन सामूहिक रुपमा लाग्नुपर्नेमा कांग्रेस महामन्त्री कोइरालाको जोड छ । केन्द्रमा त प्रदेश २ उपसभापति विमलेन्द्र निधीलाई जिम्मा लगाइदिएको भन्छन्, यो कुरा सुन्दा तपाईहरुलाई पनि राम्रो लाग्दैन्, महामन्त्री कोइरालाले भने, 'कुनै एउटा व्यक्तिलाई जिम्मा लगाएर पार्टी चल्दैन । अब सामूहिक किसिमले अघि बढेर यो प्रदेशमा कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने  उनको भनाई छ ।

कोइरालाले आफू आगामी महाधिवेशनपछि पार्टी भित्रका सबै किसिमका गुटउपगुट अन्त्य गरी पहिलो पार्टी बनाउन लाग्ने उद्घोष गरे । अबको डेढदेखि दुई वर्षमा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै त्यसको एक वर्षपछि हुने स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सशक्त किसिमले अघि बढ्नुपर्ने कोइरालाको भनाई छ ।

कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वमन्त्री द्वोय सञ्जय गौतम र शम्भुलाल श्रेष्ठ, पार्टी जिल्ला सभापति नागेन्द्र राय, पूर्व जिल्ला सभापति लक्ष्मण रायलगायतको उपस्थिति थियो । महामन्त्री कोइरालाकै प्रमुख आतिथ्यतामा आइतवार बिहान सदरमुकाम मलङ्गवामा पनि अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ