arrow

शिव माहाआरती स्याङ्जाको छाङ्छाङ्दीमा

भक्तजनको घुईचो, अब केहीदिन बाँकी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ साउन २४ शुक्रबार
aaratis.jpg

स्याङ्जा । तपाईहरु श्रावण महिनामा कुनै धार्मिक तिर्थ स्थल दर्शन गर्न स्याङ्जाको सिद्धार्थ राजमार्ग प्रयोग गरेर जादै हुनुहुन्छ भने नविसिर्नु होला । राजमार्गबाट नजिकै रहेको छाँयाक्षेत्र शिव मन्दिर(छाङ्छाङ्दी) मा शिव माहाआरती चलिरहेको छ । सके सम्म साझ पारेर सो मन्दिर पुग्नु होला । किन भने शिव माहाआरती साझपख मात्रै चल्ने गर्दछ । हरेक दिनको साझ मन्दिरको प्रङ्गणमा विश माहाआरती प्रज्वलन हुदै आएको छ । त्यो पनि फेरी श्रावण ३२ गते सम्मका लागि हो ।

त्यसैले ३२ गते भित्र जसरी भएपनि छाङ्छाङ्दी मन्दिर पुगेर शिव माहाआरती दर्शन गर्न नछुटाउनु होला । पशुपतिनाथ क्षेत्र भन्दा बाहिर निकै कममात्रमा प्रज्वलन गरिने शिव माहाआरती स्याङ्जाको छाङ्छाङ्दी मन्दिरमा पहिलो पटक हो । त्यसैले धार्मिक आस्था राख्ने जो पनि महाआरतीको दर्शन लिन पाईने व्यवस्था आयोजकले मिलाएको छ । आफै माहाआरती प्रज्वलन गर्छुै भन्ने व्याक्तिले भने ५ हजार रुपैया खर्च गर्नुपर्ने हुन्छ । निकै खर्चिलो मानिने माहाआरती जहिले पनि जो सुकैले आयोजना गर्न कठिन हुन्छ । यो मौका कुनै पनि धर्मालम्वीहरुले नछुटाउनु होला महाआरती दर्शन गर्न ।

के हो माहाआरती
धार्मिक शास्त्रमा मा भन्ने ठुलो मानिन्छ । भगवान शिवलाई देवताको पनि देवता मान्ने भएकाले भगवान शिवलाई खुशी बनाउन माहाआरती लगाउने प्रचलन रहिआएको छ । माहाआरती लगाउनाले घरमा भएको अशान्ति, व्यापार व्यवासाय, रोजगार, राजनीति लगायत समाजमा भएको बिकृति विसंगति जस्ता विकारहरु बाट सफलता मिल्ने धार्मिक विश्वास रहिआएको छ । अन्धकारबाट हटाएर उज्यालो प्राप्त गर्ने शक्ति माहाआरतीमा मात्रै छ भन्ने शास्त्रमा लेखिएको पंण्डित प्रकाश तिवारी बताउछन् । १२ महिना लगाउन सकिने भएपनि यो श्रावण महिनामा लगाउदा अति उत्तम हुने धार्मिक विश्वास छ । श्रावण महिना शिवको महिना भएकाले माहाआरती श्रावण महिनामा बढी लगाउने प्रचलन रहदै आएको तिवारीले बताए ।

 कसरी बालिन्छ माहाआरती
सुर्य अस्त, झम्के साझमा प्राय जसो माहाआरती लगाउदा पुण्य मिल्ने विश्वास छ । एउटा आरतीमा ६४ काँसका पाला रहेका हुन्छन् । कुनै कुनैमा १०८ पनि हुन्छन् । ६४ पाला रहेको तिन ओटा आरतीलाई कम्तिमा २० मिनेट विशेष मन्त्रोचारण गरेर पुजापाठ गरिन्छ । मन्त्रोचरण सकिएपछि आरतीमा रहेको ज्योतिलाई दिप प्रज्वलन गरी एक हातको साहाराले सम्पूर्ण भक्तजनहरुलाई दर्शन गराईन्छ । कम्तिमा २५ मिनेट जति लाग्ने गर्दछ । सालको टपरीमा भन्दा काँसको पालामा लगाएको आरती पितृ र देवता खुशी हुने धार्मिक विश्वास रहेको पण्डित सागर भण्डारी बताउछन् । दिप प्रज्वलन गरेपछिको आरती निकै कठिन देखिएपनि सजिलो गरी घुमाउने गर्दछन् पण्डितहरुले । माहाआरती बालेर घुमाउदा कठिन भन्दा पनि निकै आनन्द आउने भण्डारीले बताए ।

के छ छाङ्छाङ्दीको महत्व
स्याङ्जाको मध्यभागमा रहेको छाङ्छाङ्दी सिद्धार्थ राजमार्ग नजिकै रहेको छ । मन्दिरको महिमाका विषयमा श्रीस्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिसूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाडबाट झरेकाले यस स्थानको नाम नै छाङ्छाङ्दी रहेको किम्वदन्ति छ । १२ महिना पहराबाट पानी झरिरहेको हुन्छ । यो पानीले स्नान गरे रोगव्याधी आदीको नास हुने विश्वास रहेको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रावण संक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघेसंक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहणमा नुहाउने, मेलालगायत विभिन्न पर्वहरुमा झक्तजानहरुको भिड लाग्ने गर्दछ । साथै यहाँ गौमुखे धाराहरु, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता राधाकृष्ण र गणेश मन्दिर निर्माण भएका छन् भने एकसय ८ पिपलका बोटहरुबाट साउन महिनाभरी जलधारा गरिदै आएको छ । यहाँको प्राकृतिक स्वरुप हेर्दा गौथुनहरु, गणेशका मुर्ति, नाग, शिवका विभिन्न स्वारुप देख्न सकिन्छ । सिद्धार्थ राजमार्गसंगै जोडिएको छाङछाङदी छाँयाक्षेत्र मन्दिरको महिमा मुलुकभर प्रचारप्रसार गर्ने उद्देश्यले शिवमहाआरती आयोजना गरिएको छायाँक्षेत्र शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताए । भगवान शिवसंग प्रत्यक्ष जोडिएको छाङछाङदी मन्दिरको आफैमा ऐतिहासिक महत्व बोकेका कारणले पनि श्रावण महिनामा विशेष भक्तजनहरुको भिड लाग्दै आएको थियो ।

दैनिक बिहान पुजापाठ, दिउँसो संगीतमय शिवमहिमा वाचन साझामा महाआरती गरिदै आएको छ । टाढा टाढाबाट आउने भक्तजनहरुका लागी आवाजसहितको व्यवस्था गरिएकोले पनि भक्तजनहरु आउने क्रम बढ्दो रहेको अध्यक्ष श्रेष्ठले बताए । अहिले सम्म शिवमहाआरतीमा ४० लाख रकम संकलन भईसकेको मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । सचिव श्रेष्ठका अनुसार आजिबन सदस्यबाट २८ लाख, महाआरतीबाट ५ लाख र अन्य भेटी सहयोगबाट ७ लाख रकम संकलन भईसकेको छ । आयोजकले ७० लाख संकलन, २० लाख खर्च गरी ५० लाख बचत गर्ने लक्ष्य लिएको छ । बचत रकमलाई निर्माणधिन भवन सम्पन्न, पुष्प बाटिका तथा पार्क निर्माण, राधाकृष्ण मन्दिर निर्माण, १०८ शिवलिङ्ग तथा १०८ जलधारा निर्माणमा खर्च गर्ने आयोजकले जनाएको छ । अब केही दिनमात्रै बाँकी रहेकाले ज्ञानमहायज्ञ तथा शिव महाआरतीमा सहभागी हुन विभिन्न आमा समुह, धार्मिक संघसंस्था, सनातन हिन्दुधर्मालम्वी लगायत सरोकारवाला सबैलाई उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ । हाल सम्म ३३ वटा समुहले महाआरतीमा भाग लिइसको छन् । जसमध्ये १७ समुह वालिङ नगरपालिकाबाट र १६ समुह भीरकोट नगरपालिकाबाट सहभागी भएको अध्यक्ष श्रेष्ठले बताए ।  सिद्धार्थ राजमार्गसंग जोडिएको प्रवेशद्धार चट्टानबाट निस्किएको जलबाट स्नान गर्नका लागी स्याङ्जा, पर्वत, कास्की, पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, बाग्लुङलगायत विभिन्न जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ