प्रलोभन देखाई बालिका करणी गर्ने ५८ वर्षीय सूर्यबहादुर पक्राउ
प्रकाशित २०७६ साउन २४ शुक्रबार
457
Shares
सर्लाही। सर्लाहीको ईश्वरपुरमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–५, सखुबनीमा १६ वर्षकी बालिकालाई विभिन्न प्रलोभन देखाई शारीरिक सम्वन्ध राख्दै आएको आरोपमा स्थानीय ५८ वर्षीय सूर्यबहादुर स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको जाहेरीका आधारमा स्याङ्बोलाई गाउँबाटै पक्राउ गरी अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए। पीडित बालिकाको पाँच महिनाको गर्भ रहेको प्रहरीले जनाएको छ ।
यस्तै ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करमा बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । गाउँकै १५ वर्षीया बालिकालाई उखु बारीमा लगि बलात्कारको प्रयास गरेको आरोपमा स्थानीय २० वर्षीय कृष्ण महतो पक्राउ परेका हुन् ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रहरी हिरासतमा रहेका स्याङ्बोविरुद्ध जबरजस्ती करणी र महतोविरुद्ध जबरजस्ती करणी उद्योगमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।