arrow

प्रभावशाली कर्मचारी नै गम्भीर प्रकृतिका मानसिक रोगी र कडाखाले बिरामी

काठमाडौंमै रहन गरियो बिरामीको बहाना 

logo
प्रकाशित २०७६ साउन २६ आइतबार

काठमाडौं । समायोजन भई प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीले काठमाडौं फर्कन एकै पटक एक सय ५० जनाले गम्भीर प्रकृतिको मानसिक रोगी तथा कडा रोग लागेको बहाना देखाएका छन् । 

त्यस्ता कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुल दरबन्दीमा ल्याउन निर्णय गरेको छ । मानसिक विरामी भएको बाहना देखाउने कर्मचारी पहुँच वाला छन् । तीमध्ये धेरैजसो सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग निकट छन् । 

पुल दरबन्दीमा राखिएका कर्मचारी पुन समायोजन भई स्थानीय तथा प्रदेशमा जानु पर्दैन । उनीहरुले मन्त्रालय मातहतमा हुने आयोजना–परियोजनामा जाने अवसर पाउँछन् । 

त्यसैले पुल दरबन्दीमा आउन कर्मचारीले पहुँच प्रयोग गर्ने गर्छन् । मानसिक विरामी भई पुल दरबन्दीमा आउने कर्मचारीमा स्वास्थ्य सेवाका रमेश पोखरेल, जीवनकुमार श्रेष्ठ, ज्ञानेश्वर भण्डारी, लक्ष्मी भुषाल लगायतका कर्मचारी छन् । 

यसैगरी देवकुमार खत्री, कृष्णबहादुर खत्री, सीता न्यौपाने गैरे, कमल खड्का, बिन्दु पण्डित, हेमा कार्की, कृष्णबहादुर डाँगी लगायतका कर्मचारीले कडा रोग तथा मानसिक बिरामी भएको कारण देखाएर पुल दरबन्दीमा आएका छन्।


सत्तारुढ पार्टी नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा र नेकपाबाट आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले पनि पुल दरबन्दीमा आउन कडा रोग लागेको कारण देखाएका छन् । 

देवकोटा र पोखरेल दुवै राम्रोसँग हिँडडुल गर्छन् । उनीहरुलाई कुनै रोग लागेको छैन । तर मेडिकल बोर्डले उनीहरुलाई कडा रोग लागेको सिफारिस गरेको छ । 

स्वस्थ्य नागरिकलाई कडा रोग लागेको सिफारिस गर्ने डाक्टरलाई कारबाही गर्ने कि नगर्ने ? गम्भीर प्रश्न उठेको छ । मन्त्रालय स्रोत भन्छ –केही दिनमै अर्को चरणमा देवकोटा र पोखरेललाई पुल दरबन्दीमा ल्याइँदै छ । 

यसअघि समायोजनमा देवकोटालाई सिन्धुपाल्चोक र पोखरेललाई खोटाङको स्थानीय तहमा समायोजन गरिएको थियो । तर उनीहरु एक पटक पनि समायोजन गरिएको ठाउँमा गएनन् । समायोजन गरिएको ठाउँमा नगएका अन्य कर्मचारीलाई भने सरकारले कारबाही गरेको छ ।   

यसैगरी अर्घाखाँचीको सितगंगा नगरपालिकामा समायोजन गरिएकी महिला विकास निरिक्षक मनकामना सिंह मानसिक स्वास्थ्यको समस्या देखाउँदै मन्त्रालयको पल दरबन्दीमा आएकी छिन् । 


कर्णाली प्रदेशमा समायोजन गरिएका लेखा उपसचिव रुमाकान्त पौडेल पनि मानसिक स्वास्थ्यको कारण देखाउँदै पुल दरबन्दीमा आएका छन् । 

यसैगरी लेखा अधिकृत सुष्मा गौतमले पनि मानसिक स्वास्थ्यको कारण देखाउदै पुल दरबन्दीमा आएकी छिन् । तामाकोशी गाउँपालिकामा समायोजन गरिएकी तारा केसी तथा सप्तरी कंकालिनी हनुमान नगरपालिकामा समायोजन गरिएकी उपसचिव कमला ज्ञवालीलाई पनि पुल दरबन्दीमा ल्याइएको छ । 

केही कर्मचारीलाई भने कडा रोग भएको कारण देखाएर पुल दरबन्दीमा ल्याइएको छ । विन्दू पण्डित, इञ्जियिनर गोपाल शर्मा लगायतका कर्मचारीलाई कडा रोग लागेको कारण देखाएर पुल दरबन्दीमा ल्याइएको मन्त्रालय स्रोतको भनाइ छ । 

संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिपोर्टमा करिब २ हजार संख्यामा पुल दरबन्दी राखिएको छ । पुल दरबन्दीमा राखिएका कर्मचारी सुरुमा सम्बन्धित मन्त्रालयमा गइ हाजिरी गरे पुग्छ । 

त्यसपछि पछि उसलाई  मन्त्रालय मातहतका योजनामा पठाइने गरिन्छ । ‘मानसिक बिरामी भएको भनी काठमाडौंमा ल्याउने । उसलाई  फेरि महत्वपूर्ण काममा पठाउने, यस्तो पनि हुन्छ ?  एक प्रशासनविद् भन्छन् ।

पुल दरबन्दीमा कर्मचारीको अभाव कहिले हुँदैन । पुल दरबन्दीको व्यवस्था कर्मचारी समायोजन ऐन २०७५मा पनि गरिएको छ । समायोजनको मस्यौदा बनाउँदा नै पुल दरबन्दीको व्यवस्था गरिएको थियो । यो व्यवस्थालाई पछि पनि हटाइएन ।  

मन्त्रालयका अनुसार कर्मचारी समायोजन पछि करिब १६ हजार कर्मचारीले समायोजन परिमार्जन गर्न मन्त्रालयमा निवेदन दिएका थिए । 

त्यसमध्ये करिब १० हजार कर्मचारी स्वास्थ्य सेवाका थिए । समायोजन परिमार्जन गर्न निबेदन दिएका कर्मचारीमध्ये करिब १४ हजार कर्मचारीको गुनासो सम्बोधन गरिएको मन्त्रालयको भनाइ छ। गुनासो सम्बोधन गर्ने क्रममा मन्त्रालयले केही कर्मचारीलाई पुल दरबन्दीमा राखेको हो । 

यो समाचार पनि पढ्नुस्–

मानसिक रोगीको बहाना बनाउदै काठमाडौं फर्कदै कर्मचारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ