अन्तर्राष्ट्रिय युवा दिवस : युवाका मुद्दा सम्बोधनका क्रममा

शरद शर्मा, प्रकाशित मिति : २०७६ श्रावण २६ आइतबार

काठमाडौं। नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ। सोमबार विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण : उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवाले दिवस मनाइरहेका छन्।

नेपालमा युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले सरकारले आफैँले दिवस मनाउन थालेपछि युवाका मुद्दा केही न केही सम्बोधन गर्न तिर लागेको देखिन्छ।

दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता विद्यमान समस्या रहे पनि युवाका क्षेत्रमा नेपालमा सकारात्मक परिवर्तन देखा पर्न थालेको छ।

युवाका मुद्दालाई सम्बोधन गर्नका लागि नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ। यसैगरी सरकारले विसं २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ।

यसैगरी नेपाल सरकारको १३औँ योजनाको आधारपत्रमा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार तथा आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तिकरण गर्ने रणनीति तय गरिएको छ। युवासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, श्रम तथा रोजगार, खेलकूद लगायतका क्षेत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालयले क्षेत्रगत नीति तर्जुमा गरी कार्यक्रम कार्यान्वयन गर्दै आएका छन्।

नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित दश वर्षे रणनीतिक योजना’ ल्याएको छ। यसैगरी युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार बोर्ड गठन गरिएको छ।

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवाका मुद्दालाई सम्बोधन गर्नका लागि सरकार सकारात्मक दिशातर्फ बढेको बताए। “अहिले मुलुकमा युवाका क्षेत्रमा काम गर्ने धेरै नीति नियम आइसकेका छन्”, उनले भने, “आजैको आजै परिवर्तन गर्न सम्भव छैन, युवाका मुद्दालाई सम्बोधन गर्नका लागि सकारात्मक यात्रामा मुलुक बढेको छ।”

उनले परिषद् गठन पश्चात युवाका क्षेत्रमा धेरै काम गर्न सकिएको बताए। परिषद्ले सङ्घ र प्रदेशमा नमूना युवा संसद् गठन गरी अभ्याससमेत गरी सकेको छ। यसैगरी परिषद्ले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लबसमेत गठन गरेको छ। विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन्।

युथ एक्सन नेपालका अध्यक्ष मदन पोखरेलले राज्यले युवाका मुद्दा सम्बोधन गर्ने खालका कार्यक्रम ल्याए पनि व्यवहारमा उत्तार्न नसकेको बताए। “पहिलेको तुलनामा युवाका मुद्दा सम्बोधन गर्न खालका कार्यक्रम राज्यले ल्याएको छ”, उनल भने, “तर ति कार्यक्रम राजनीतिक प्रभावले गर्दा ओझेलमा परेका छन्।” उनले राज्यले युवालाई उद्यमशिलताका रुपमा प्रयोग गर्नुपर्ने बताए। 

नयाँ युवा परिषद् ऐनमा प्रदेशमा प्रदेश युवा परिषद् र स्थानीय तहमा नगर युवा समितिको गठनको प्रस्ताव ल्याइएको छ। यसैगरी सरकारले युवालाई स्वरोजगार बनाउनका लागि ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि’ ल्याई सात प्रकारका विनाधितो कर्जाको व्यवस्था गरेको छ।

उपाध्यक्ष ढुङ्गेलले युवा क्षेत्रमा क्रियाशिल रहेका संस्थाका कारणले मुलुकमा नै युवा स्वरोजगार बनिरहेका बताए। अहिले युवाको विदेश जाने सङ्ख्या पनि घटेको छ। श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्याङ्कबाट वार्षिक  पाँच लाख ३८ हजार विदेश जानेमा युवा अहिले तीन लाख २३ हजारमा झरेको छ। 

यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल दुई प्रतिशत मात्र दक्ष जनशक्तिका रुपमा रहेका छन्। “अहिले युवा विदेश जाने क्रम घटेको छ। युवा स्वदेशमा नै स्वरोजगार हुन थालेका छन्”, उनले भने, “युवाका क्षेत्रमा केही परिवर्तन आए पनि बेरोजगार प्रमुख समस्याका रुपमा रहेको छ।” यस्तै सरकारले युवालाई स्वरोगार बनाउनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम र राष्ट्रपति महिला कार्यक्रमसमेत सञ्चालन गरेको छ। 
यसैगरी युवालाई मुलुकको आर्थिक विकासमा परिचालन गर्न सरकारले यस वर्षलाई युवा परिचालन वर्ष घोषणा गरेको छ।

युवाका क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७औँ नम्बरमा रहेको छ। १९.२ प्रतिशत युवा पूर्ण बेरोजगार रहेका, कृषिमा युवाको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था विद्यमान छ। युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन्। 

    राष्ट्रिय युवा सङ्गठनका संयोजक रामप्रसाद सापकोटाले दिवस औपचारिकतामा मात्र सिमित भएकाले युवाका समस्या समाधान गर्नका लागि युवा केन्द्रित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । “हामीले हरेक वर्ष दिवस मनाउछाँै, तर युवाका मुद्दा अझै जस्ताका त्यस्तै रहेका छन्”, उहाँले भन्नुभयो, “युवालाई उद्यमशिलता बनाउने खालका कार्यक्रम ल्याउनु पर्दछ ।”

नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले सरकारले युवाका कार्यक्रम ल्याए पनि वास्तविक युवालाई समेट्न नसकेको बताए। “युवाका मुद्दा जहिको तहि रहेका छन्”, उनले भने, “युवा रोजगार सशक्तिकण गर्नका लागि सरकारले ध्यान दिन सकेको छैन।” नेपाल युवा संस्था (आयोन) का अध्यक्ष जगदीश ऐरले युवाको क्षेत्रमा अहिले धेरै क्रियाशिल सरकारी निकाय गठन गरेर सरकारले युवालाई प्राथमिकतामा राखेको बताए। 

समन्वयको अभाव
सरकारले सञ्चालन गरेका युवा लक्षित कार्यक्रममा एक रुपता हुन सकेको छैन। प्रायजसो मन्त्रालयले युवाका क्षेत्रमा काम गरे पनि समन्वय अभावका कारणले वास्तविक युवा लक्षित कार्यक्रम पुग्न सकेका छैनन्। युवाका क्षेत्रमा काम गर्ने युवा तथा खेलकूद मन्त्रालय भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि विकास मन्त्रालय, गृहलगायत मन्त्रालयले युवाका क्षेत्रमा काम गरिरहेका छन्।

नयाँ