स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय दूतावासद्वारा ३० वटा एम्बुलेन्स हस्तान्तरण
प्रकाशित २०७६ साउन ३० बिहिबार
372
Shares
काठमाडौं। नेपाल स्थित भारतीय राजदूतावासले आफ्नो ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपालका विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ। बिहीबार काठमाडौं स्थित भारतीय राजदूतावासमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले ती सहयोग सामग्रीहरु वितरण गरेका हुन्।
राजदूत पुरीले भारतका राष्ट्रपतिले पठाएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरुको बारेको सन्देश पढेर सुनाएका थिए। सोही क्रममा राजदूत पुरीले ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई नेपाली मुद्रा ५ करोड ३१ लाख नगद तथा कम्मल वितरण गरी सम्मान गरेको छ।
राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुप प्रदान पनि गरेको छ। राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध पनि गराएको छ। यसले भारत सरकारको नेपालको सामाजिक–सांस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको भारतीय दूतावासको दाबी छ।
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको पनि दूतावासको बताएको छ।