इन्डोनेसियाको स्वतन्त्रता दिवस काठमाडौँमा पनि मनाइयो
प्रकाशित २०७६ साउन ३२ शनिबार
320
Shares
काठमाडौं। गणतन्त्र इण्डोनेशियाको ७४ औं स्वतन्त्रता दिवस शनिबार नेपालका लागि इण्डोनेशियाको अवैतनिक महावाणिज्यदुतावासको पहलमा काठमाडौँमा पनि मनाइएको छ।
नेपालका लागि इण्डोनेशियाका अवैतनिक महावाणिज्यदूत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँमा रहेको इण्डोनेशियाको महावाणिज्यदूताबासको कार्यालय आइएमइ कम्प्लेक्स, पानी पोखरीमा झण्डोत्तलन गरेका थिए। कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियाली नागरिकहरु, वाणिज्यदूताबास कार्यालयका कर्मचारीलगायतको उल्लेख्य उपस्थिति थियो।
इण्डोनेसियको शान्ति र समृद्विको कामना गर्दै अवैतनिक महाबाणिज्यदूत ढकालले सन् २००८ देखि नै बिभिन्न उद्देश्यले नेपालमा बसोबास गरिरहेका इण्डोनेसियाली नागरिकसँग सँगै बसेर इण्डोनेसियाको स्वतन्त्रता दिवस मनाउन पाउँदा खुशी लागेको बताए।
नेपाल र गणतन्त्र इण्डोनेशियाबीच सन् १९६० मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। गणतन्त्र इण्डोनेशियाले आइएमई ग्रुपका अध्यक्ष ढकाललाई नेपालका लागि अवैतनिक महावाणिज्यदुतमा नियुक्त गरे यता यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै द्धिपक्षीय हित एवम् सांस्कृतिक तथा व्यापारिक साझेदारीका कार्यक्रमहरु विस्तारित हुदै आएका छन्।
नेपालका लागि इण्डोनेशियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ। इण्डोनेशिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र हो। नेपाल र इण्डोनेशियाबीचको व्यापारको परिमाण पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन्।