arrow

सत्ताको आडमा वीर अस्पतालका एक दर्जन कर्मचारी नक्कली ‘कडा रोगी’

logo
राजु रिमाल,
प्रकाशित २०७६ भदौ १ आइतबार
bir-hospital.jpg.jpeg

काठमाडौं । पढ्दै अचम्म लाग्छ होला सर्वसाधारण नागरिक उपचार गर्न पुग्ने वीर अस्पतालका करिब एक दर्जन स्वास्थ्य सेवाका कर्मचारी (अहेव) ‘कडा रोगी’ छन् भन्ने जानकारी पाउँदा । 

तर ती कडा रोगी कर्मचारी सक्कली रोेगी भने होइनन् । नक्कली रोगी हुन् ।  स्थानीय तहमा समायोजन भएका ती कर्मचारी संघमा आउन कडा रोग लागेको बहाना पारेका हुन् । 

अस्पताल स्रोतका अनुसार हाल वीर अस्पतालमा कार्यरत तर समायोजनमा स्थानीय तहमा खटाइएका  करिब एक दर्जन कर्मचारीले कडा रोग लागेको बहाना बनाएका हुन् । 

  

ती कर्मचारीहरुलाई मेडिकल बोर्डले नै कडा रोग लागेको सिफारिस गरेको छ । कर्मचारी समायोजन ऐन २०७५ मा मानसिक विरामी तथा कडा रोग लागेको भनी मेडिकल बोर्डबाट सिफारिस ल्याएका कर्मचारीलाई पुल दरबन्दीमा ल्याइने व्यवस्था गरिएको छ । 

उक्त व्यवस्था अनुसार पुल दरबन्दीमा आउन ती कर्मचारीहरुले कडा रोग लागेको बहाना बनाएका हुन । वीर अस्पतालका निर्देशक मेडिकल बोर्डको अध्यक्ष हुने व्यवस्था छ । आफ्नै संंस्थाका निर्देशक मेडिकल बोर्डको अध्यक्ष भएपछि उनीहरुलाई कडा रोग लागेको सिफारिस बनाउन सजिलो भएको हो ।


समायोजन ऐन अनुसार पुल दरबन्दीमा आए पछि स्थानीय तहमा जानु पर्दैन । पुल दरबन्दीमा आउन कर्मचारी संघ मातहतमा रहने व्यवस्था कानुनमा छ । वीर अस्पतालका अहेव युवराज सुबेदी, दिवाकर पनेरु, सविता जोशी, अरुणकुमार महतो, टिकाराम पनेरु, विष्णु  पोखरेल लगायतका कर्मचारीले कडा रोग लागेको सिफारिस बनाउन सफल भएका हुन् । 

रोचक कुरा के छ भने कडा रोग लागेको भनिएका विरामीहरुले राम्रोसँग हिडडुल गर्छन् । एक डेढ घण्टाको बाटो हिँडेरै अस्पताल आउने जाने गर्छन् ।  

यहाँसम्म कि अस्पतालमा लिफ्ट नचढी ४ तलासम्म सिंढी चढ्छन् । ‘सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट स्वास्थ्य कर्मचारी संघ, संगठनसँग आवद्ध कर्मचारीहरुले यस्तो हर्कत गरेका हुन्’ ,स्रोतले भन्यो । 

कडा रोग लागेको भनी पत्र बनाएका कर्मचारीहरुले समायोजनको फाराम भर्दासम्म यस्तो पत्र बनाएनन् । समायोजनमा स्थानीय तहमा परेपछि मात्र उनीहरुले कडा रोग लागेको पत्र बनाएका हुन् । 

स्रोतका अनुसार उनीहरुमध्ये केहीलाई पुल दरबन्दीमा ल्याउने निर्णय भइसकेको छ भने केहीलाई पुल दरबन्दीमा ल्याउन प्रयास थालिएको छ । तर यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि थप प्रक्रिया अघि बढ्न नसकेको स्रोतको भनाइ छ । 

मेडिकल बोर्ड स्रोत भन्छ, ‘सत्तारुढ दल नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकाटोले पनि मेडिकल बोर्डबाट कडा रोग लागेको सिफारिस  बनाएका छन् ।’

स्रोत भन्छ, ‘मेडिकल बोर्डबाट कडा रोग लागेको भनी पत्र बनाएका कही कर्मचारीको पत्र सार्वजनिक भए लगत्तै मेडिकल बोर्डका अध्यक्ष केदार सेञ्चुरीले मेडिकल बोर्डमा कार्यरत कर्मचारीहरुको टिम नै फेरेका छन् । 

पुराना कर्मचारीलाई अन्य ठाउँमा सरुवा गरी नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी बोर्डमा राखेका छन् । 

यता अख्यियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबार फर्कन मानसिक विरामी तथा कडा रोग लागेको बहाना बनाएका त्यस्ता मानसिक तथा कडा रोगी कर्मचारीहरुको काजजातमाथि छानविन प्रक्रिया अघि बढाएको छ । 

हालसम्म करिब १ सय ५० जना स्वस्थ्य कर्मचारीहरु मानसिक तथा कडा रोगी भएको बहाना देखाउदै संघमा आउन सफल भएका छन् । उनीहरुको रोग  नक्कली भएको आशंकामा अख्तियारले छानविन प्रक्रिया अघि बढाएको हो ।  

कडा रोग लागेको भनी मेडिकल बोर्डले सिफारिस गरेका कर्मचारीलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पुल दरबन्दीमा ल्याउने निर्णय गरेको छ । मानसिक विरामी भएको बहाना देखाउने कर्मचारी पहुँचवाला छन् ।

तीमध्ये केही सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टीसँग निकट छन् । पुल दरबन्दीमा राखिएका कर्मचारी पुन समायोजन भइ स्थानीय तथा प्रदेशमा जानु पर्दैन । 

उनीहरुले मन्त्रालय मातहतमा हुने आयोजना–परियोजनामा जाने अवसर पाउँछन् । त्यसैले पुल दरबन्दीमा आउन कर्मचारीले पहुँच प्रयोग गर्ने गर्छन् । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिपोर्टमा करिब २ हजार संख्यामा पुल दरबन्दी राखिएको छ ।

पुल दरबन्दीमा राखिएका कर्मचारी सुरुमा सम्बन्धित मन्त्रालयमा गइ हाजिरी गरे पुग्छ । त्यसपछि पछि उनीहरुलाई मन्त्रालय मातहतका योजनामा पठाइने गरिन्छ । ‘मानसिक विरामी भएको भनी काठमाडौंमा ल्याउने । उसलाई  फेरि महत्वपूर्ण काममा पठाउने, यस्तो पनि हुन्छ ’?  एक प्रशासनविद् भन्छन् । 

उनी भन्छन् ,‘कडा रोग तथा मानसिक विरामी भएका कर्मचारीलाई सरकारले थप केही सेवा सुविधा दिइ विदा दिनुपर्छ । सेवामा पुनः लगाउन मिल्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ