'लिभिङ टुगेदर'मा रहेका प्रहरी जवानको रहस्यमय मृत्यु

प्रकाशित मिति : २०७६ भदौ १ आइतबार

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्‍याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशङ्का प्रहरीको छ ।

महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार उनीहरु विगत एक वर्षदेखि नै लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए ।

महिलाले प्रहरीमा दिएको बयान अनुसार शनिबार राति करीब १०:३० बजे उनी मदिरा पिएर कोठामा आएका थिए । प्रेमिकासँग झण्डै ४५ मिनेट भनाभन भएको थियो । एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए । त्यसो नगर्न भन्दाभन्दै आफूलाई हिर्काएर पछारेको र एकछिनपछि उठेर हेर्दा पासो लगाएको देखिएको प्रहरीसँग ती महिलाले भनेकी छिन् ।

“त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्को कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो ।” महिलाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सुवेदीले भने । अन्ततः ठगुन्ना बाँचेनन् ।

श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्दछिन् । घटनाबारे जानकारी प्राप्त भएपछि राति १ः१५ बजे प्रहरी घटनास्थल पुगेको थियो । ठगुन्ना स्वयम्भू वृत्तमा विसं २०७० देखि कार्यरत थिए । ती महिलालाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ