arrow

पुडासैनीकी श्रीमतीले दिइन् लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरी

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
rabi-lamichhane.jpg

काठमाडौं ।  पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा न्युज २४ टेलिभिजनको जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोत  रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार प्रहरीमा किटानी जाहेरी परेको छ ।

उनकी श्रीमती सम्झनाले पक्राउ परेकाविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमार्फत चितवन प्रहरीमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । उनका अनुसार आज परेको पूरक जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइसकिएको छ ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रहरी हिरासतमा रहेका तीनै जनाको नाममा जाहेरी परेको जानकारी दिए । यसअघि घटनाको अनुसन्धानका लागि भनेर परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।

घटना हुनुअघि उनले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको श्रव्यदृश्य सामग्री फेला परेको थियो ।

पुडासैनीको मृत्यु हुनुअघि रेकर्ड गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । सो भिडियोमा पुडासैनीले आफूलाई रवि लामिछानेसहित तीन जनाले मार्न बाध्य बनाएको आरोप लगाएका थिए। भर्खरै आफूसँग टाढिएकी प्रेमिकालाई अघि सारेर रवि र युवराज कँडेलले आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले भिडियोमा आरोप लगाएका छन् ।

युवराजले अस्ट्रेलिया लैजाने युवती मिलाइदिने भन्दै ती युवतीसँग  भेट गराएको र त्यसपछि ती युवतीसँग सबै खालको सम्बन्ध भएको पुडासैनीले भिडियोमा सुनाएका छन् । ‘तर मैले न्युज ट्वेन्टी फोर छाडेपछि साथीहरुले तँलाई रवि र युवराज मिलेर फसाँउदैछन् भन्ने सुनेँ। वास्तवमा मलाई प्रेमिका, रवि र युवराज मिलेर मर्न बाध्य बनाएका हुन्’, भिडियोमा पुडासैनीले भनेका छन्।

भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन् 'रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।'

पुडासैनीले मर्नुअघि मोबाइलमा रेकर्ड गरेको उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलार्ई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । शुक्रबार आत्महत्या दुरुत्साहन अन्तर्गतको मुद्दामा चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ