२४ घण्टादेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति : २०७६ भदौ २ सोमबार

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा २४ घण्टादेखि राजमार्ग अवरुद्ध रहेको छ । अरुणखोला पुल भाँचिएपछि यातायात सञ्चालनका लागि बनाइएको ‘डाइभर्शन’ आइतबार साँझ बाढीले  बगाएकाले राजमार्ग अवरुद्ध भएको हो । अहिले पनि खोलामा पानीको मात्र बढिरहेकाले ‘डाइभर्शन’ मर्मतको काम प्रभावित भएको छ ।

यातायात अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको लामो लाइन भएको छ । चौबिस घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । डाइभर्शन निर्माण गरी यातायात सहज हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । पानीका कारण मर्मतमा समस्या हुँदा यातायात सञ्चालन कतिबेला हुने हो अनिश्चित जस्तै बनेको उनको भनाइ छ ।

डाइभर्शन निर्माण भए पनि रोकिएका यातायात वारपार गराउन घण्टौँ समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए । उनले नारायणगढ–बुटवल खण्ड भएर यात्रा गर्ने यातायातलाई वैकल्पिक बाटो भएर यात्रा गर्नका लागि अनुरोध गर्नुभएको छ । उहाँका अनुसार काठमाडौँबाट छुटेका यातायातलाई मुग्लिङ्ग–पोखरा–स्याङ्जा हँुदै बुटवलतर्फ जान र बुटवलबाट पूर्वका लागि छुट्ने सवारीलाई समेत पोखरा हुँदै जानका लागि सम्बन्धित जिल्लाका प्रहरीमार्फत समेत खबर गरिएको छ ।

यस्तै २४ घण्टादेखि राजमार्ग अवरुद्ध हुँदा झण्डै १० किलोमिटर दुवैतर्फ सवारीको लाम लागेको छ । प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको धेरै लाम लाग्ने हँुदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।

डाइभर्शन मर्मत गरी आजै सवारी सञ्चालन गर्न सक्ने सम्भावना कम रहेको छ । पानीको सतह कम हुँदा केही हलुका सवारी खोलाबाटै आवतजावत गर्ने गरेका छन् । गत साउन २९ गते बुधबार पुलमा ट्रक ठोक्किएर भाँचिदा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ