arrow

सम्झौता कार्यान्वयन नहुँदा पोखरीमाथि यातायात

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
budharoad1.jpeg

काठमाडौं ।  जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी कालोपत्र गर्न आयोजना र जनप्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नहुँदा यात्रुहरु सडकमा बनेका पोखरी छिचोल्दै यात्रा गर्न बाध्य छन् ।

सडक विस्तार गर्न ठेक्का गरेको समय सकिएर थपिएको म्याद पनि सकिन लाग्दासमेत काम शुरु हुन सकेको छैन । यात्रु भने पानी परेका बेला पोखरी र घाम लागेका बेला धुलोको कुहिरी मण्डल पार गर्न बाध्य छन् । सडकको दूरावस्था भएपछि गत साउन ७ गते काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाको कार्यालयमा त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने तीनै तहका जनप्रतिनिधि डाकेर बैठक गरिएको थियो ।

छलफलमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानालगायतका जनप्रतिनिधिको सहभागिता थियो ।

मर्मत शुरु गरेको भन्दै जनप्रतिनिधिले ग्राभेल भनी हालेको माटो भारी वर्षासँगै भेलले बगाएपछि सडकमा ठूल्ठूला पोखरी बनेको छ । पोखरी बनेको सडकमा यातायात सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ । सडकमा बनेको पोखरीकै कारण सडक जाम हुने गरेको छ । सडकको दूरावस्थाका कारण घण्टौ जाममा बस्नुपर्दा पनि सरोकार भएका निकायको ध्यान जान नसकेको यात्रु बलराम पाठकले गुनासो गरे ।

नगरपालिकाले सार्वजनिक प्रति जग्गा खाली गर्न गराउन पहल गर्दै सार्वजनिक सूचना जारी गर्ने र जीर्ण सडकमा तत्काल मर्मतसम्भार शुरु गर्ने सहमति जनप्रतिनिधिसँगको बैठकमा भएको थियो । सडक विस्तार हुन नसकेपछि पाँच पटकसम्म मर्मत भइसकेको आयोजनाले जनाएको छ । सडकमा नाली खोल्न नदिएपछि जतिपटक मर्मत गरे पनि दिगो हुन नसकेको आयोजना प्रमुख अर्जुन अर्याल बताउछन् ।

 भदौ ४ गते बुधबारदेखि नै मर्मतका लागि आयोजनाबाट इञ्जिनीयर पठाउने पनि उनले जानकारी दिए । भदौ ६ गते गोकर्णमा बाबुको मुख हेर्ने अवसर पारेर लाखौँ भक्तजन मेला भर्न आउने भएकाले सडक मर्मत गर्न लागिएको आयोजनाले जनाएको छ । दशैँ अघि अर्कोपटक सडक मर्मत गर्ने कार्यक्रम छ ।

आयोजनाले जोरपाटीबाट भगवतीस्थानसम्म रु २६ लाख ४३ हजार ८६४ र भगवतीस्थानबाट सुन्दरीजलसम्म रु तीन लाख एक हजार १८५ मर्मतमा मात्र खर्च गरेको छ । दुई खण्डमा ठेक्का भएपनि एउटै निर्माण व्यवसायीले काम पाएको छ । आशीष÷सिएम कन्स्ट्रक्सन जेभीले ठेक्का पाएको हो । निर्माण व्यवसायी शान्तराम श्रेष्ठ सात किमीको यो दुरीमा ९१२ घर रहेको र घर जग्गाको मुआब्जा मागी स्थानीयवासीले बनाएको सङ्घर्ष समितिले काम गर्न नदिएका कारण केही गर्न नपाइएको बताउछन् ।

करीब सात किमी सडक रु ६३ करोडको लागतमा विस्तार गरी कालोपत्र गर्न चार वर्ष अघि ठेक्का सम्झौता भएको थियो । दुईखण्डमा ठेक्का सम्झौता भएकामा दुवैतिरका काम अलपत्र छ । सार्वजनिक जग्गा भएको केही स्थानमा मात्र विस्तार हुन लागेजस्तो देखिन्छ । पहिलो पटकको अवधि सकिएर थपिएको म्याद पनि विसं २०७७ जेठमा सकिँदैछ । हालसम्म १५ प्रतिशत मात्र भौतिक प्रगति भएको निर्माण व्यवसायीको भनाइ छ ।

नगरपालिकाका प्रवक्ता ढुङ्गाना सडक विस्तार, निर्माण एवं मर्मतका लागि सूचना निकाली सकिएकाले यसै हप्तादेखि काम शुरु गर्ने बताउछन् । बाबुको मुख हेर्ने औँसीमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको तयारीका लागि भने आजैदेखि नगरपालिकाका प्राविधिक खटाएर काम शुरु गरिएको जानकारी पनि उनले दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ