arrow

भारतका विदेशमन्त्री काठमाडौंमा

logo
रासस,
प्रकाशित २०७६ भदौ ४ बुधबार
Jaishankar-meaindia-2019.jpg

काठमाडौं। भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन उनी आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन्। 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए। 

संयुक्त आयोगको बैठक आजै अपराह्नदेखि प्रारम्भ हुँदैछ। द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन मद्दत पुग्ने गरी गहन विचारविमर्श हुनेछ। 

तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनुका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ