arrow

स्थानीयले गरे कालीगण्डकी डाइभर्सनको बिरोध तीजको गीत मार्फत

logo
सीता डोटेल,
प्रकाशित २०७६ भदौ ४ बुधबार
kaligandaki1.jpg

पाल्पा । दिन्नौ हाम्ले कालीगंगा लान कुनै नेताहरुलाई ।
झुटा प्रचार नगरेनी हुन्थ्यो बरिलै ।।
उठ्छौँ हामी महिला पुरुष सबै एकजुट भएर। डराउँदैनौ हिड्छौ हामी नारा लाएर ।।

कालीगण्डकी नदी डाइभर्सनको बिरोध नदी आसपासका स्थानीयले तीजगीत मार्फत पनि गर्न थालेका छन् । रामपुर ५ मा रहेका महिलाले सामुहिक दर कार्यक्रमको आयोजना गरि गितका माध्यमबाट कालीगण्डकी नदी डाइभर्सन बिरुद्ध गीत प्रस्तुत गरे।

 प्रदेश नम्बर ५ र गण्डकी प्रदेशको साझा नदी कालीगण्डकीलाई पाल्पा र स्याङ्गजाको राम्दी भन्दा केही तलबाट डाईभर्सन गरेर तिनाउमा लैजाने सरकारी योजनाको उनीहरुले खुलेर बिरोध गरे । केन्द्र संसदमा समेत चर्चामा आएको कालिगण्डकी नदी डाइभर्सनको बिषयले अहिले ५ नम्बर प्रदेश र गण्डकी प्रदेश मात्र होइन समग्र देशमा नै माहोल तातेको छ ।

 बुटवलबाट निर्वाचन जितेका नेकपाका नेता बिष्णु पौडेल र गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्को दोहोरी कालीगण्डकी नदी डाइभर्सन गर्नुपर्छ र गर्न हुन्न भन्नेमा जमेको छ । उनिहरु कुनै कार्यक्रममा सहभागी हुदा यही तर्कहरुलाई लिएर बोल्दै आएका छन् । केन्द्र सम्म माहोल बढेपछी यहाँका स्थानीयहरु कालीगण्डकी नदीको बचाउमा लागेका छन् । नदी डाइभर्सनले तल्लो क्षेत्र सुख्खा हुने भन्दै अस्तित्व बचाएको काली नदीको महिमा, सम्पदा जोगाउन र स्थानीयको अधिकारलाई पहिलो प्राथमिकता दिन आह्वान गरेका छन् ।

जन्मेपछि मर्नैपर्छ संसारमा आएर ।
मर्नै परे मर्छौ बरु गोली खाएर ।।
छुनै दिन्नम कालीगंगा एकता छ जनताको।
कत्ति डर मानिदैन त्यस्ता नेताको ।।

बटौलीका विष्णु पौडेल चुनावमा जितेको ।
कालीगंगा ल्याउँछु भन्दै छाती पिटेको ।।

समाज सुधार आमा समुहका महिलाहरु एकताबद्ध भई यस्तै गितबाट कालीगण्डकी नदी डाइभर्सनको कडा बिरोधको अभिव्यक्ति दिएका छन् ।
सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेलले पछिल्लो समय डाइभर्सनको काम गराएर नै छाड्ने बताउदै आएका छन् ।  उनी लगायत रुपन्देहीका केही नेता नदी डाइभर्सन गर्न ५ बर्ष देखि लागेका छन् । यो पानीबाट रुपन्देही, कपिलवस्तु र नवलपरासीका केही भाग सिंचाई गर्ने र केही विद्युत निकाले बताउदै आएका छन् । राम्दी माथी पनि विद्युत निकाल्ने योजना पनि भनिएको छ ।

यति खबर पुर्‍याइदिनुस् प्रधानमन्त्री ओलीलाई,
अंग्रेजलाई नि जितेका हुन् जनता बरिलै ।
मुक्तिनाथ मुस्ताङ्गदेखी देवघाट सम्म बगेको, पुजा गर्ने शालिकरामको जन्म भएको ।।
हेर्न हाम्ले सकिदैन कालीगंगा थुनेको । आजभोली व्यापकै छ हल्ला सुनेको ।।
आजभोली नेताभन्दा जनता बाठा तगडा । कालीगंगा लैजाने त कुरै नगर ।।
दिन्नौ हाम्ले कालीगंगा कुनै नेताहरुलाई ।
झुटा प्रचार नगरेनी हुन्थ्यो बरिलै ।।
उठ्छौँ हामी महिला पुरुष सबै एकजुट भएर। डराउँदैनौ हिड्छौ हामी नारा लाएर ।।

गण्डकी प्रदेशले यो योजनाको खुलेर बिरोध गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले बरु शिर छेदन गर्न तयार छौँ तर नदी डाइभर्सन गर्न नदिने बताउदै आएका छ्न् । राम्दीबाट नदीको पानी डाइभर्सन गरेर तिनाउमा लगेको खण्डमा तल्लो क्षेत्रका नागरिकको शिर काटे सरह नै हुनेछ, त्यसैले बरु शिर छेदन होस् तर नदीलाई कुनै पनि हालतमा डाइभर्सन गर्न नदिने उद्घोष गर्दै आएका छन् ।

डाइभर्सनले कालीगण्डकी क्षेत्रको धार्मिक, सांस्कृतिक, वातावरण, जलचर, पशुपन्छी र स्थानीयको जीवनलाई सीधै असर पु¥याउने जस्तै  पानीका मुल सुक्ने, बोटविरुवा नहुर्किने,गर्मी बढ्ने र रोगब्याधी लाग्ने हुदा यसलाई रोक्न गीतबाट छेड हानिएको हो । गाउघरमा जम्मा भएर गाइने तीज गीत होस् या तीजगीत प्रतियोगिता सबैका तिजगीतले नदी डाइभर्सनको बिरोधको गुन्जायमान छ । दामोदर कुण्डबाट बहेको नदी झण्डै दर्जन बढी धार्मिक तिर्थस्थल, मन्दिर, घाट हुँदै देवघाटमा मिसिएकोमा यसको अस्तित्व संग जोडिएकोले कालीगण्डकीलाई बचाउन स्थानीय तीजगीत मार्फत पनि जुरमुराएका हुन् ।

नेता पौडेलले यस वर्ष विस्तृत परियोजना प्रतिवेदनको काम सक्ने बताए लगत्तै स्थानीय प्रदेश बिचको विषयमा केन्द्र सरकारले हस्तक्षेप नगर्न उनीहरुले सुझाएका छन्। सरकारको नीति तथा कार्यक्रममा डाइभर्सन गरेर विद्युत् निकाल्ने र रुपन्देही, नवलपरासी र कपिलवस्तुका केही भागमा सिंचाई गर्ने उल्लेख छ। कालीगण्डकीको राम्दीतलदेखि ३० किमि सुरुङ खनेर  झुम्सा र  तिनाहु दुई ड्याम बाधेर पानी लैजाने योजनामा छ।

यो योजनाका बिरुद्द ५ नम्बर प्रदेशको पाल्पाका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउपालिका, गण्डकी प्रदेशको स्याङ्गजाका गल्याङ्ग नगरपालिका, चापाकोट नगरपालिका, तनहुँको घिरिङ्ग, रिसिङ्ग  गाउँपालिका, नवलपुरको बौदिकाली गाउँपालिका बुलिङ्गटार गाउपालिका लगायत १० स्थानीय तहका स्थानीयवासी एकजुट भएर लागेका छन् । प्रभावित ४ जिल्लाका जनप्रतिनिधि तथा स्थानीयहरु मिलेर संघर्ष समितिको रुपमा विकास गरेका छन्।

रामपुर नगरपालिका सहित प्रभावित अन्य स्थानीय तहले धेरै थोरै बजेट बिनियोजन गरि कालीगण्डकी बचाउ अभियानलाई तिब्र पारेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । पटक - पटक स्थानीय संग अन्तरक्रिया र काठमाडौंमा समेत बहस चलाएको बताउदै थापाले अब हस्ताक्षर संकलन देखि सांसद, मन्त्री, मन्त्रालय, योजना आयोग सहितका निकायमा डेलिगेसन जाने बताए ।

नदि बहेको पानी मात्र नभएर यसको अस्तित्व मानव जीवन संग जोडिएको कालीगण्डकी नदीका बिषयमा अध्ययन गर्नु भएका नदि बिद् डा. कुलराज चालिसेले बताए । बिश्वमा शालिग्रामको ईतिहास बोकेको कालीगण्डकीबाट फाइदा झन लिन सकिन्छ चालिसेले भने- तल्लो क्षेत्रको धार्मिक, सामाजिक र साँंस्कृतिक अबस्था खल्बलिन नदिउ।

 चालिसेकै  नेतृत्वमा यो योजनाको शुरूवाती चरणमा डाइभर्सनको बिरोध स्वरुप२०७१ साल साउनमा सवा करोड वेलपत्रको शिवलिङ्ग बनाई सतरुद्री गरेर बेलपत्र राम्दीदेखी नदीमा बगाइएको थियो । सोही समयमा पनि डा. चालिसेले झण्डै एक दर्जन बढी तिजका गीत यही नदी डाइभर्सनका बिरुद्दमा रचना गरेका थिए भने स्थानीय समुह संघ सस्थाले पनि नदी डाइभर्सनका बिषयमा गीत बनाएर गाउदै र स्थानीयलाई सचेत र सम्बन्धित निकायलाई झकझक्याउदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ