arrow

पशुपतिको दर्शनपछि जयशंकर राजनीतिक भेटघाटमा व्यस्त

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
jayshankar-bhandari.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्कर पशुपतिनाथको चन्दन लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । बिहिबार पशुपतिनाथको दर्शन गरेपछि उनलाई मुल भट्टले चन्दन लगाइदिए । नेपालमा जस्तै भारतमा समेत पशुपतिनाथलाई आराध्यदेवको रुपमा पुजिन्छ । दक्षिण भारतको खासगरि तामिलनाडुमा अझ पशुपतिनाथ प्रति विशेष श्रद्धा पाइन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो नेपाल भ्रमणको बेलामा पशुपतिनाथमा बिशेष पुजा गर्ने गरेका थिए ।

पशुपतिनाथकै आस्थाले डोराइएका तामिलनाडुकै जयशङ्करले बिहिबार बिहानै पशुपतिनाथको दर्शन गरे । पशुपतिनाथको दर्शन गरेर नेपाल भ्रमणको दोस्रो दिनको सुरुवात गरेका उनले बिहीबार बिहान राष्ट्रपति निवास पुगेर राष्ट्रपतिसमक्ष शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

बिहिबारै उनले नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन, विपक्षी दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा, राजपाका नेताहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिवसीय भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्करले बुधबार अपराह्न प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओली र मन्त्री जयशङ्करबीच विनासहयोगीको उपस्थितिमा एक घण्टाभन्दा बढी छलफल भएको थियो ।

बुधबारै एस जयशङ्कर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाल–भारत संयुक्त आयोगको पाँचौं  बैठकका क्रममा भएका द्विपक्षीय सहमतिका लिखित व्यहोरामा हस्ताक्षर गरेर संयुक्त आयोगको पाँचौँ भेटवार्ता सम्पन्न गरेका छन् । मन्त्री ज्ञवालीले १३ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा आएका मन्त्री जयशङ्करको सम्मानमा रात्रिभोजको आयोजना गरे ।

जयशंकर बिहिबारै स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ