समाजवादी पार्टीसँग एकीकरण गर्न लाग्दा राजपामा विवाद
राजु रिमाल,
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
908
Shares
काठमाडौ। समाजवादी पार्टीसँग एकीकरण गर्न लाग्दा राष्ट्रिय जनता पार्टी नेपालभित्र चर्को विवाद उत्पन्न भएको छ। पार्टी एकीकरण नजिक पुगेको बेला राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झा र राजकिशोर यादव एकीकरणको विपक्षमा उभिएका छन्।
उनीहरुलाई अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले भित्रभित्रै साथ दिएको बताइन्छ। यद्यपी ठाकुरले खुलेर एकीकरणको विरोध गर्न सकेका छैनन्।
समाजवादी पार्टीसँग एकीकरण गर्न राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्र यादव सक्रिय भएर लागेका छन्। राजपाको आगामि महाधिवेशन अघि नै समाजवादी पार्टीसँग एकीकरण गर्ने उनीहरुको तयारी छ। सकेसम्म भदौ महिनाभित्रै एकीकरण गर्ने तयारी भएको स्रोतको भनाइ छ।
समाजवादी पार्टीसँग एकीकरण गर्न महतोले करिब करिब सबै टुंग्याएका छन्। स्रोतका अनुसार दुई पार्टीबीच भएको सहमतिमा एकीकृत पार्टीमा ४ जना अध्यक्ष राख्ने, पहिले अध्यक्ष ठाकुर, दोश्रो अध्यक्ष बाबुराम भट्टराइ, तेश्रो अध्यक्ष उपेन्द्र यादव र चौथो अध्यक्ष महतो हुने सहमति भएको छ।
यसैगरी एकीकृत पार्टीको संसदीय दलको नेता महेन्द्र यादव हुने सहमति भएको छ। भण्डारीलाई पनि कुनै महत्वपूर्ण जिम्मेवारी दिएर सहमति भएको छ। तर झा र राजकिशोरको हकमा भने केही सहमति भएको छैन। ‘त्यसैले उहाँहरु (अनिल झा र राजकिशोर) एकीकरणको विरोधमा हुनुहुन्छ। एकीकरण पछि उहाँहरुको राजनीतिक भविष्य संकटमा पर्छ ’अनिल–राजकिशोर निकट स्रोतले भन्यो।
राजपामा अहिले अनिल, राजकिशोर एकातीर छन भने महतो, भण्डारी र यादव अर्कोतीर छन्। ठाकुर दुवैतीर छन् तर उनको भित्री समर्थन अनिल र राजकिशोरतीर रहेको बताइन्छ।
समाजवादी र राजपाबीचको एकीकरण प्रयास तुहियो भने आगामि कात्तिकमा राजपाको महाधिवेशन हुने छ। महाधिवेशन पछि राजपा एकल नेतृत्वमा जाने छ। राजपा एकल नेतृत्वमा गयो भने महन्थ एकल अध्यक्ष हुने ठाकुर निकट नेताहरुको विश्लेषण छ। ‘त्यसैले ठाकुर महाधिवेशन अघि नै एकीकरणको पक्षमा खुलेेर उभिएका छैनन्। आफू पार्टीमा एकल अध्यक्ष भए पछि मात्र उनी समाजवादीसँग एकीकरण गर्न चाहन्छन्–ठाकुर निकट एक नेताले भने।
राजपाभित्रको विवाद गत सोमबार बोलाइएको राजपाको अध्यक्ष मण्डलको बैठकमा प्रष्ट देखियो। अध्यक्ष मण्डलका ६ सदस्यमध्ये महतो र भण्डारी काठमाडौमा हुँदा हुँदै पनि बैठकमा उपस्थिति भएनन्। प्रत्येक दुई-दुई महिनामा चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्ने विधानमा राखिएको व्यवस्था अनुसार एक महिना देखि अध्यक्ष मण्डलको संयोजक राजकिशोर छन्।
उनले सोमबार अध्यक्ष मण्डलको बैठक बोलाएका थिए। तर महतो र भण्डारी भने बैठकमा गएनन्। महतो र भण्डारी बैठकमा नजाने वित्तिकै अध्यक्ष मण्डलको बैठक बस्न सकेन। राजपाको विधानमा अध्यक्ष मण्डलको बैठक बस्नलाई ६ जना अध्यक्ष अनिवार्य उपस्थिति हुनु पर्ने व्यवस्था गरिएको छ। एक जना अध्यक्ष मात्र अनुपस्थित भएमा बैठक बस्न नसक्ने व्यवस्था विधानमा गरिएको छ।
अब एक महिना पछि राजपाको अध्यक्ष मण्डलको संयोजकमा पुन ठाकुर हुने छन्। यता, ठाकुर अध्यक्ष मण्डलको संयोजक हुनु अघि नै समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्ने तयारी महतो, भण्डारी र महेन्द्रको छ।समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न राजपाले महतोलाई वार्ता टोलीको संयोजक बनाएको छ। संयोजक भएको हैसियतले पनि महतोले बाबुराम र उपेन्द्रसँग पटक पटक वार्ता गरेका छन्।
महतोलाई वार्ता टोलीको संयोजक बनाइएकोमा अनिल र राजकिशोरलाई मन परेको छैन। अध्यक्ष मण्डलको बैठक बोलाएर महतोलाई वार्ता टोलीको संयोजकबाट हटाउने झा र राजकिशोरको तयारी छ। सोमबार बैठक भएको भए उक्त बैठकमा झा र राजकिशोरले यस्तो प्रस्ताव ल्याउने तयारी गरेका थिए। तर राजकिशोर संयोजक भएको बेला अध्यक्ष मण्डलको बैठक नै बस्न सक्ने स्थिति छैन।