सुर्खेत। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन पदाधिकारी एवं कार्यकर्ता अनुशासित हुनुपर्ने बताएका छन्।
काङ्ग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि ‘कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम’ को समापनमा नेता देउवाले विगतमा एउटा पार्टीले दुई पार्टीसँग लड्दा काङ्ग्रेस पराजित हुनुपरेको बताउँदै पार्टी बलियो बनाउन काङ्गे्रेसका नेता तथा कार्यकताले जनताको घरमा गएर तीनपटक भेट्नुपर्ने बताए।
एक फरक प्रसङ्गमा सभापति देउवाले कर्णाली सभ्यता, भाषा, कला, साहित्य, जल, जङ्गल, जडिबुटीमा धनी भएकोले यो प्रदेशलाई माथि उठाउन काङ्ग्रेसले अहंम् भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका थिए।
काङ्ग्रेस उपसभापति विमेलेन्द्र निधिले पार्टीलाई कसरी मुलुकको पहिलो पार्टी बनाउन सकिन्छ भन्नेतर्फ सोच्न काङ्ग्रेसी नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक नबनाएसम्म विश्राम नलिने संकल्प गरे । पार्टी भित्रको विकृति चिरेरै छोड्ने उजले दाबी गरे। अर्का महामन्त्री पूर्णबहादुर खड्काले मुलुकभर रहेका काङ्ग्रेसका चार लाख ७० हजार क्रियाशील सदस्यहरु एक भएर जानुपर्छ भने।
उक्त प्रशिक्षण कार्यक्रममा नेता मिनेन्द्र रिजाल, हृदयराम थानी, दीपक गिरी, रामकृष्ण यादव, नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही, सङ्घीय सांसद रङ्गमती शाहीलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।