arrow

चित्र बनाउने हतारो

logo
राजेन्द्रप्रसाद पनेरु,
प्रकाशित २०७६ भदौ ७ शनिबार
tharu-krishna-astami-art.gif

कञ्चनपुर। कञ्चनपुरका थारू समुदायका अधिकांश घरमा अष्टिम्की (जन्मअष्टमी) का अवसरमा चित्र बनाउने हतारो छ। कसैले परम्परागत तरिकाले तयार गरेको रङ र कसैले बजारबाट खरीद गरेर ल्याएको रङ प्रयोग गरी चित्र बनाउन व्यस्त छन्। विशेषगरी व्रतालु महिला चित्र बनाउँदैमा बेफुर्सदिला बनेका छन्।
 
थारू समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातिले जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलाप चित्रको माध्यमबाट देखाउने गरिन्छ। ब्रह्म मुहर्तमा दर खाएपछि घरमा रहेको बर्‍ही (बैठक) कोठमा व्रतालु थारू महिलाले आफ्नै हातले कान्हा अर्थात् भगवान् श्रीकृष्णको चित्रसहित अन्य लोक चित्रहरु बनाउने गर्दछन्।

चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रुखमा बसेका बाँदर, गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, ऊट, कुखुरा, मयुर, बिच्छी, बासुकी नागलगायतका जलचर र थलचर प्राणीका चित्र बनाइने गरिन्छ। चित्र बनाउने बीच भागमा दुलही अन्माउँदा दुलहीलाई लैजाने डोलेसहितको डोलीको समेत चित्रका माध्यमले देखाउने गरिन्छ।

अन्न राख्ने भाँडो र दिवालमा यी चित्रहरु बनाइने गरिएको विश्राम चौधरीले बताए। “पहिले महिलाले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने गर्दथे”, उनले भने, “हाल पुरुषले समेत चित्र बनाउने गरेका छन्।” सिलौटामा पिँधेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङमा डुबाइ चित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङहरुमा कुचीको प्रयोग गरी चित्र बनाइने गरिएको छ।

सृष्टीको रचनादेखि मानव जातिलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारू समुदायको लोक चित्रकलाको निकै महत्व छ। थारू समुदायका संस्कृतिका जानकार महेश चौधरी भन्छन्, “थारू समुदाय प्रकृति पूजारीका रूपमा रहेकाले पाँच हजार वर्षअघिदेखि चित्र बनाउने कलाको शुरुआत भएको मानिन्छ।”

थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे। उनका अनुसार चित्रमा लगाइने रङहरुको समेत आ–आफनै महत्व छ। कालो रङ शून्यताको प्रतीक, रातो रङ् जीवनको उमङ्गता, हरियो रङ धैर्यता, पहेँलो रङ बुद्धिमता, खैरो रङ शरीरको संवेगात्मक अवस्था र निलो रङलाई परम्परा र मूल्य मान्यताको प्रतीकका रुपमा लिइने गरिन्छ।

थारू संस्कृतिका जानकारहरुका अनुसार अष्टिम्कीको चित्रमा अत्यधिक मात्रामा ज्यामितीय रुवरुपको प्रयोग गरिन्छ। थारू लोक चित्रकारहरुले शिर र रोदनका लागि अण्डाकार, शरीरका लागि घनाकार वा त्रिभुजाकार हात र खुट्टाका लागि शङ्कु आकारको प्रयोग गर्दछन्। यी चित्रहरु सरल तरिका आकर्षकरूपमा बनाइने गरिन्छन्।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरिएपछि महिलाहरुले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको दानसिंह दहितले बताए। पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा हुने गर्दछन्। उनले भने, “व्रतालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन्।”

अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण) को परम्परागत लोक भाकामा गीत गाउने गर्दछन्। अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित चामलसहितको दियो बालेर नदी तलाउमा विसर्जन गरी स्नान गरेर सबै घर फर्कने गर्दछन्। घरमा बनाइएका पकवानको केही भाग भगवान्लाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ