arrow

कांग्रेसको अमुर्त विज्ञप्तीः नाम उल्लेख नगरि रविलाई समर्थन, पत्रकार निस्कासनप्रति देखिएन कठोर

logo
प्रकाशित २०७६ भदौ ७ शनिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले संचारकर्मी रवि लामिछानेप्रति अप्रत्यक्ष रुपमा समर्थन जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकाशित गरेको विज्ञप्तीमा कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ । 

“निर्दोषलाई फसाउने र दोषीलाई उन्मुक्ति दिने कार्य नेपाली जनतालाई सह्य हुदैन, नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावनाप्रति सदैव समर्पित रही आएको छ,” विज्ञप्तीमा लेखिएको छ ।

संचारकर्मी लामिछाने र उनका समर्थकहरुले उनलाई फसाउन खोजिएको आरोप लगाइएरहेका बेला कांग्रेसले कसैलाई फसाउने कार्य सह्य नहुने उल्लेख गरेर विज्ञप्ती निकालेको हो । 

कांग्रेसको विज्ञप्तीमा लामिछानेको नाम उल्लेख नगरेपनि सन्दर्भ र आसय उनकै विषयमा हो भन्ने बुझिनेगरी भने लेखिएको छ। 

विज्ञप्तीमा सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई निस्कासन गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। 

सरकारले पत्रकारीताको माध्यमबाट जनताका विचारलाई सम्प्रेषण गर्ने पत्रकारहरुलाई तर्साउने एवं आतंकित बनाउने कार्य गरेको भन्दै कांग्रेसले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । अमुर्त वाक्यांशहरु लेखिएको विज्ञप्तीमा निस्कासीत पत्रकारहरुको नाम उल्लेख गरिएको छैन भने पुनर्वहालीको माग पनि स्पष्टसँग गरिएको छैन । 

रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्षदेखि कार्यरत सुनिता रावल, ३ वर्षदेखि कार्यरत प्रकाश बम र चक्र कुँवरलाई बर्खास्त गरिएको थियो । 

रेडियो प्रसार समितिको साउन ३१ गतेको निर्णय अनुसार भन्दै उनीहरुलाई निस्कासन गरी उनीहरुको ठाउँमा नवराज जोशी, लोकेश अधिकारी र दीर्घ खत्रीलाई दैनिक ज्यालादारीमा नियुक्त गरिएपछि त्यसको सर्वत्र विरोध भएको छ । 

पत्रकार महासंघ, प्रेस युनियनलगायतका संघसंस्थाहरुले पुनर्वहालीको माग गर्दै आन्दोलन नै सुरु गरेका छन् भने संसदमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

पत्रकारहरुलाई राजनीतिक पुर्वाग्रह राखेर निस्कासन गरिएको उनीहरुको दावी छ । खुला प्रतिस्पर्धाबाट १० वर्ष अघि नियुक्त भएका रावलले आफूहरूलाई हटाउनुको कारण पनि नदिएको तथा रेडियो नेपालभित्र प्रवेशमा समेत रोक लगाएको बताइन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ